- कक्षा ११ सञ्चालन सुरु : अर्किड एकेडमीले २०८१ शैक्षिक वर्षदेखि व्यवस्थापन सङ्कायअन्तर्गत होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा कक्षा ११ सञ्चालन थालेको छ ।
- नुवाकोट र रसुवा जिल्लामा कक्षा ११ सञ्चालन गर्ने यो पहिलो संस्थागत विद्यालय हो ।
- सुविधा र पूर्वाधार : छात्रावास, परिवहन, कम्प्युटर प्रयोगशाला, होटेल म्यानेजमेन्टका लागि भान्सालगायत पूर्वाधार तयार गरिएको छ ।
- छात्रवृत्ति योजना : एसइई जिपिएका आधारमा २५ देखि १०० प्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।
- स्थानीयस्तरमै उच्चशिक्षा : अब विद्यार्थीलाई काठमाडौँ जानु नपर्ने र जिल्लामै गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ।
बट्टार । विदुर-४ बट्टारमा २२ वर्ष अगाडिदेखि सञ्चालित अर्किड एकेडेमीले यसै शैक्षिक वर्षदेखि कक्षा ११ सञ्चालन गरेको छ । नुवाकोट र रसुवा जिल्लामा रहेका संस्थागत विद्यालयमध्ये कक्षा ११ सञ्चालन गर्ने अर्किड पहिलो विद्यालय बनेको छ ।
व्यवस्थापन सङ्कायअन्तर्गत होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा यसै वर्षदेखि कक्षा ११ सञ्चालनको तयारी गरिएको प्रिन्सिपल रामहरि रिमालले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । वि.सं. २०६० मा स्थापित नुवाकोटको अर्किडले वि.सं. २०६५ देखि एसइईमा सहभागी भई निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । यसपटकको एसइईमा अर्किडबाट ६५ जना सहभागी थिए र जिल्लाभरबाट चार जिपिए ल्याउनेमध्ये अर्किडका रोहित श्रेष्ठ एक हुन् । अभिभावकको मागअनुसार अङ्ग्रेजी माध्यममा होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ । होटेल म्यानेजमेन्ट कोर्स दुई वर्षको हुनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को डिप्लोमा कोर्सजस्तो तीन वर्ष कुर्न नपर्ने भएकाले विद्यार्थीका लागि एक वर्ष किफायती हुनेसमेत प्रिन्सिपल रिमालले बताउनुभयो ।
छात्रहरूका लागि छात्रावासको सुविधा दिएको अर्किडले विद्यार्थीको गुणस्तरीय शिक्षालाई ध्यानमा राखी समय-समयमा विषयविज्ञलाई विद्यालयमा आमन्त्रण गरी परामर्श लिने र विद्यार्थीलाई त्यसैअनुसार परामर्श दिनेसमेत योजना बनाएको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि त्रिशूलीबजार र देवीघाटबाट छुट्टै यातायात साधनको व्यवस्था गरेको, कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण तथा होटेल म्यानेजमेन्टका लागि भान्साको व्यवस्था गरेको छ । कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य गरेर पहिलो चरण र दोस्रो चरणको प्रवेश परीक्षा तालिका सार्वजनिक गरिसकेको अर्किडले जिल्लाबाट बाहिरिने विद्यार्थी यहीँ रहने गरी आगामी वर्ष थप विषय थप्ने योजनासमेत सार्वजनिक गरेको छ । ‘यसरी ११ र १२ कक्षा पढ्न राजधानी जानैपर्ने बाध्यता अब नरहेको र विद्यार्थीले आफ्नै घरको रुखोसुखो खाएर उच्च शिक्षा पाउने वातावरण मिलेको छ जुन जिल्लाको शैक्षिक इतिहासमा एक ठुलो कोसेढुङ्गा हो,’ रिमालले भन्नुभयो ।
संविधानमा माध्यमिक तह भन्नाले कक्षा १२ सम्मको शिक्षा भन्ने उल्लेख भएकाले कक्षा ११ सञ्चालनका लागि स्थानीय तह विदुर नगरपालिकाबाट अनुमति लिइसकिएको अर्किड आगामी साउनदेखि कक्षा सञ्चालन गर्ने गरी तयारीमा जुटेको छ । यस वर्ष दुई विषयका दुई कक्षा र दुई सेक्सन सञ्चालन गरिनेसमेत जनाइएको छ । एसइई उत्तीर्ण विद्यार्थी बाहिरिने क्रमलाई केही हदसम्म घटाउँदै जिल्लामा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा देशका सबै विद्यालयसँग प्रतिस्पर्धी बन्ने अर्किडले लक्ष्य बनाएको छ । काठमाडौँबाट प्राप्त गर्ने शैक्षिक गुणस्तर र सोही प्रकारको अन्य शैक्षिक वातावरण तथा पूर्वाधारसहित न्यूनतम शुल्कमा विद्यार्थीले रोजगारी पाउने विषय पढ्न सक्ने व्यवस्था मिलाइएको सहायक प्रिन्सिपल नजरमान श्रेष्ठले बताउनुभयो । विद्यालयले एसइईमा ३.८ भन्दा माथि जिपिए ल्याउनेलाई शतप्रतिशत, ३.६५ देखि ३.८ जिपिए ल्याउनेलाई ७५ प्रतिशत, तीनदेखि ३.६ जिपिए ल्याउनेलाई ५० प्रतिशत र २.८ देखि तीन जिपिए ल्याउनेलाई २५ प्रतिशत शुल्क छुट गर्ने योजनासमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया