आर्थिक विकास भन्नाले केवल आय वृद्धिलाई मात्र होइन, जीवनस्तर, अवसर र स्वतन्त्रताको विस्तारलाई पनि जनाउँछ । जीवनका हरेक पक्षमा नागरिक सक्षम हुने, उत्पादनशीलता बढ्ने र स्थानीय स्रोतको दिगो प्रयोगमार्फत रोजगारी तथा आम्दानी सिर्जना हुने प्रक्रिया नै समग्र आर्थिक विकास हो । नुवाकोट जिल्ला, राजधानी काठमाडौँसँग नजिक, चीनको केरुङ नाका जाने मुख्य राजमार्गमा अवस्थित, भूगोल, जनसङ्ख्या, जलवायु, संस्कृति र प्राकृतिक स्रोतको दृष्टिले नेपालकै एक प्रमुख सम्भावनायुक्त जिल्ला भएर पनि आर्थिक विकासमा फाइदा लिन सकेको छैन ।
सम्भावनालाई व्यवहारमा उतार्न रणनीतिक योजना र सशक्त नेतृत्व आवश्यक छ । नुवाकोटको अधिकांश जनसङ्ख्या कृषि पेसामा आधारित छ । यहाँ धान, मकै, कोदो, तोरी, गहुँ, आलु, तरकारी, फलफूलजस्ता बालीको उत्पादन उच्च छ । उच्च भेगमा सुन्तला, कफी, अदुवा, अलैँची, अम्रिसो र चियाजस्ता नगदे बाली फस्टाउँदै छन् । सिँचाइ सुविधा सीमित, बजार व्यवस्थापन कमजोर, उत्पादनमा एकरूपता र गुणस्तरको अभाव, नवप्रवर्तन र प्रविधि प्रयोग न्यून, किसानको संस्थागत एकता कमजोर छ । कृषकलाई आफ्नो जग्गाअनुसार सेयरधनी बनाई सामूहिक कृषि फार्म सञ्चालन गर्न सके रोजगारी सिर्जना भएर जिल्लालाई समृद्ध बनाउन सकिन्छ । बिउ, मल, प्रविधि, वित्त र बजार सुनिश्चित गर्ने एकीकृत कृषि सहकारी संयन्त्र बनाउन जरुरी छ । फलफूल र तरकारी प्रशोधन गरी मूल्य अभिवृद्धि गर्दै निर्यात प्रवद्र्धनको सम्भावना भएकाले प्रशोधन केन्द्र आवश्यकताअनुसार स्थापनामा सरोकार निकायले ध्यान दिनुपर्छ । कृषि उद्यमी र किसानबिच आपसी विश्वासमा आधारित उत्पादन साझेदारीमा करार खेतीको सुरुवात गरेर उत्पादकत्व बढाउन सकिन्छ । मल्लकालीन राजधानी नुवाकोटका दरबार, मन्दिर, जात्रा, पर्व अद्वितीय छन् । साततले दरबार, सेरा दरबार, देवीघाट, दुप्चेश्वर मन्दिर, भैरवी क्षेत्र, बेत्रावती, पञ्चकन्या मन्दिर, चिम्टेश्वर, नाट्यश्वरी, कपिलेश्वर, ककनी, सुइरेचौर, घ्याङस्वारा, सूर्यगढी, भैरमकोट, नौ कोट तथा तामाङ-नेवार-मगर संस्कृतिको समृद्ध उपस्थिति आर्थिक सम्भावनाका ठुला स्रोत हुन् । स्रोत मात्र भएर पुग्दैन, त्यसको उपयोग गर्न योजनाबद्ध ढङ्गले लाग्नुपर्छ । त्यसका लागि ‘घुम्नैपर्छ नुवाकोट’ राष्ट्रिय अभियान, नौ कोट हेरिटेज सर्किट : ट्राभल प्याकेज र गाइडलाइनसहित प्रवद्र्धन, सांस्कृतिक महोत्सव वार्षिक क्यालेन्डर बनाएर गर्नु जरुरी छ । तीन तहका सरकारले समन्वय गरेर यस्ता आर्थिक उपार्जनका गतिविधि गर्न सकिन्छ । सार्वजनिक–निजी–सामुदायिक साझेदारी ढाँचामा पर्यटकीय पूर्वाधार विकास गर्न सकिने भएकाले त्यसतर्पm पालिकाको ध्यान जानैपर्छ ।
नुवाकोट राजधानीको ३०-४० किलोमिटरनजिकै रहेकाले सस्तो, पहुँचयोग्य, विविध र सन्तुलित पर्यटन गन्तव्य बन्न सक्ने ठुलो सम्भावना बोकेको छ । सप्ताहान्त इको र कृषि पर्यटन केन्द्र सञ्चालन गरेर यसलाई काठमाडौँवासीको छोटो गन्तव्य बनाउन सकिन्छ । जिल्लामा रहेका थुम्का, झरना, खोल्सी, डाँडा, हरिया फाँट, फराकिला टार तथा मौसमी दृश्यले फोटो-टुरिजमको विकास र विस्तार गर्न सकिन्छ । ‘फार्म हाउस’को ढाँचाप्रति अहिले पर्यटकको आकर्षण भएकाले त्यसलाई स्थानीय कृषि अनुभव प्रदान गर्ने घरवास पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । जिल्लाको विशेष क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरेर आवश्यक पूर्वाधारसहित प्रचारप्रसार गर्न सके पर्यटकको कमी हुँदैन । कृषि उत्पादनसँग जोडिएको कृषि पर्यटन करिडोर निर्माण गर्न सकिने क्षेत्र जिल्लामा प्रशस्त रहेका छन् । स्थानीय उद्यमशीलता विकास गरी पथप्रदर्शक, घरवास र हस्तकला प्रशिक्षणका लागि तालिम दिनु जरुरी छ । त्यसका लागि स्थानीय पालिकाले सम्बन्धित निकायसँग समन्वय गर्न सक्छन् ।
भविष्यको हरित अर्थतन्त्र तादी, त्रिशूली, लिखु, सलाखु, फलाखु, सामरी र दोर्खु खोलालाई उपभोग गरी जलस्रोतले ऊर्जा उत्पादन, सिँचाइ र एक्वा-फार्मिङका लागि भरपर्दो आधार तयार गर्न सकिन्छ । मिनी जलविद्युत् आयोजना, औषधीय जडीबुटी खेती र प्रशोधन उद्योग स्थापना अन्य उपाय हुन् । छिमेकी दुई विशाल राष्ट्र चीन र भारत एक सय किलोमिटर पक्की सडकको दूरीमा रहेकोले जिल्लालाई उत्पादनको केन्द्र बनाउन जरुरी छ । नुवाकोट केवल राजधानी नजिकको जिल्ला होइन, यो सम्भावनाको समुद्र हो । समृद्ध नुवाकोटको आधारशिला कृषि, पर्यटन, इतिहास-संस्कृति र जल-जडीबुटी क्षेत्र हुन् । यी चारै क्षेत्रलाई समन्वयात्मक योजनामार्फत अघि बढाउँदै, स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझा लगानी र रणनीतिक सोच आवश्यक छ । अबको प्राथमिकता उत्पादनमुखी सोच, स्थानीय उद्यमशीलता, समावेशी सहभागिता, वैज्ञानिक योजना र राजनीतिक प्रतिबद्धता हो । नुवाकोटले आगामी दशकमा ‘पुँजी निकटता वृद्धि’को सफल उदाहरण बन्ने सम्भावनालाई अब कार्यान्वयनमै रूपान्तरण गर्नु जरुरी छ ।
प्रतिक्रिया