- पूर्वराष्ट्रपतिले दलमा फर्कन कानुनी प्रतिबन्ध नभए पनि उहाँको कदमले संस्थागत निष्पक्षता र नैतिकताको प्रश्न उठाएको छ ।
- पुटिन, ट्रम्प, राजपाक्षेजस्तै पदत्यागपछि पुनः सक्रिय राजनीतिमा फर्कनु अस्वाभाविक होइन ।
- भण्डारीको पुनः सक्रियताले एमालेको आन्तरिक गुटगत राजनीतिमा असर पार्न सक्छ, सहकार्य सही भए दल सशक्त बन्ने, गलत भए विभाजन गहिरिने खतरा छ ।
- भण्डारीलाई ‘जबज’को आत्मा पुनस्र्थापनाको प्रतीक मानिँदै छ जसले वैचारिक स्पष्टता र सङ्गठन सुदृढीकरणमा योगदान पु¥याउने अपेक्षा छ ।
- ओली–भण्डारी सहकार्यले वाम राजनीति, राष्ट्रिय नीति निर्माण र लोकतान्त्रिक स्थायित्वमा सकारात्मक ऊर्जा दिन सक्ने सम्भावना छ ।
आफ्ना पति जननेता मदन भण्डारीको ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने बहुचर्चित भनाइलाई उनकै जन्मदिनको विशेष अवसर पारेर भावुक शैलीमा दोहो¥याउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किने घोषणा गर्नुभएको छ । दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी राष्ट्रपति पदबाट अवकाश लिनुभएकी भण्डारीको यस घोषणाले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । उहाँले आफ्नो लामो राजनीतिक यात्रालाई एमालेबाटै निरन्तरता दिने स्पष्ट पार्नुभएपछि अब उहाँ भावी राजनीतिमा सक्रिय भूमिकामा देखिने निश्चित भएको छ । उहाँको यस कदमले दलभित्र र बाहिर धेरै खालका प्रतिक्रिया जन्माएको छ । यसलाई समर्थक स्वाभाविक र स्वागतयोग्य कदम मानिरहेका छन् भने आलोचक लोकतान्त्रिक मूल्य र राष्ट्रपतिको संवैधानिक मर्यादासँग जोडेर प्रश्न गरिरहेका छन् । एमालेभित्रकै केही नेताले भने उहाँलाई भावी नेतृत्वका रूपमा समर्थन गरेका छन् भने अर्का केहीले दलको विधानअनुसार निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।
उहाँको यस निर्णयले एमालेबाहिर र भित्रको शक्ति सन्तुलन र नेतृत्व संरचनासम्बन्धी बहसलाई नयाँ गतिमा अघि बढाउने सङ्केत गरिरहेको छ । यस घोषणालगत्तै मुख्य राजनीतिक दलहरूको आ–आफ्नो प्रतिक्रिया पनि आइसकेको छ । उहाँको सक्रिय राजनीतिमा फिर्ता र त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उहाँ एकै मञ्चमा उपस्थित भएर एकता र सहकार्यको सन्देश दिएपछि नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति भइसकेपछि पनि दलीय राजनीतिमा फर्किन उहाँलाई कुनै अवरोध नरहेकाले स्वागतयोग्य भएको बताउँदै राष्ट्रपति भण्डारीको ‘लिगेसी’ र मदनको विरासतबिच भावनात्मक महत्त्व रहेकाले वाम एकताको सम्भावनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने जनाएको छ । नेपाली काङ्ग्रेसले उहाँले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेको छ । यदि भण्डारी एमालेको नेतृत्वको तहमा आउनुभयो भने वामपन्थी एकता पुनः स्थापित हुन सक्ने भएकाले त्यो आफ्ना लागि रणनीतिक चुनौतीका रूपमा रहने उसले बताइसकेको छ ।
पक्कै पनि पूर्वराष्ट्रपतिको सक्रियतालाई केवल पूर्वपदाधिकारीको ‘पब्लिक लाइफ’को निरन्तरता मात्र नभई एक वैचारिक र राजनीतिक पुनरागमनको सङ्केतका रूपमा हेर्न थालिएको छ । राष्ट्रपतिको कार्यकालपछि राजनीतिक नेतृत्वमा सक्रिय हुनु अस्वाभाविक होइन । नेपालमा भने राष्ट्रपतिलाई औपचारिक, गैरपक्षपाती र प्रतीकात्मक भूमिकामा राखिएको छ । तर, राष्ट्रपति पदबाट निवृत्तिपछि राजनीतिमा फर्कन कुनै कानुनी निषेध छैन । यद्यपि, पूर्वराष्ट्रपतिको राजनीतिक पुनः सक्रियता अधिकार वा विवाद के हो भन्ने विषय पनि सँगसँगै बहसमा छ । लोकतन्त्रमा व्यक्तिको राजनीतिक अभिव्यक्ति तथा सक्रियता उसको अधिकारको विषय हो । पूर्वराष्ट्रपतिको एमालेसँग सम्बन्ध रहनु र त्यही दलमा पुनः सक्रिय हुनु कानुनी रूपमा निषेधित होइन । तर, यसले जनमानसमा एउटा नैतिक र संवैधानिक प्रश्न भने अवश्य उठाएको छ – के राष्ट्रपतिको पदमा बसेको व्यक्ति त्यही दलमा फर्केर सक्रिय राजनीतिमा लाग्दा संस्थागत निष्पक्षता कायम रहन्छ ? त्यसो भनिए पनि यी सबै घटनाले के देखाउँछ भने राजनीति केवल पदको निरन्तरता होइन, दृष्टिकोण, वैचारिक स्पष्टता र नेतृत्वको प्रयोग हो । उहाँमा अवधारणात्मक दृढता, अनुभव र सङ्गठनमा प्रभाव पार्ने क्षमता छ र यो निर्णय, समयसापेक्ष, सन्दर्भअनुकूल र आवश्यकताप्रेरित निर्णय थियो भन्ने भविष्यले मात्र बताउनेछ ।
इतिहासमा यसअघि पनि धेरै नेताले पदबाट निवृत्त भएपछि राजनीतिक पुनः सक्रियता देखाएका छन् । रुसमा भ्लादिमिर पुटिन राष्ट्रपति भइसकेपछि संवैधानिक सीमाले रोक्दा प्रधानमन्त्री बने र फेरि राष्ट्रपति भएर फर्किए । श्रीलङ्काका महिन्दा राजपाक्षे, अर्जेन्टिनाकी क्रिस्टिना फर्नान्डेज राष्ट्रपति भइसकेपछि प्रधानमन्त्री बने । अमेरिकाको ताजै उदाहरण छ– जहाँ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पार्टीको नेतृत्वमा सक्रिय भए र पुनः राष्ट्रपति बने । यस घोषणापछि एमालेको वर्तमान अवस्था र भण्डारीको सम्भावित भूमिकाबारेमा पनि चर्चा र अड्कलबाजी सुरु भइसकेको छ । एमाले आज विचारमा होइन, व्यक्तिमा आधारित दल बन्दै गएको आरोप खेपिरहेको छ । अध्यक्ष ओलीले आज दललाई जुन उचाइमा पुयाउनुभएको छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थकाइ नमारी जुन नेतृत्व गर्नुभएको छ, त्यसको निरन्तरता कायम गर्न, अगुवाइ र अभिभावकत्वको वैकल्पिक आधारको खोजी र चर्चा पनि दलभित्र भइरहेकै हो । गएको एक दशकको राजनीतिमा ओलीले समकालीन नेताहरूका दाँजोमा आफूलाई अब्बल प्रमाणित गर्नुभएको छ । तर, अहिले भइरहेको विरोध र आलोचनालाई प्रतिवाद गर्न र कमजोर बनाउन हिजोको रणनीतिमा होइन, आज नयाँ नीति, नेतृत्व र रणनीति बनाएर अघि बढ्नु जरुरी छ । किनभने ‘राजनीतिमा नेताहरू नियतबाट होइन, नतिजाबाट प्रेरित हुन्छन् र महान् बन्छन् ।’
अब उहाँको दलभित्रको भूमिका र स्थान कस्तो रहने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय सिङ्गो पार्टी नेतृत्वको गहन जिम्मेवारी हो । यसमा आग्रह वा त्रुटि रहन गयो भनेचाहिँ भित्री गुटगत राजनीति थप बलियो हुने सम्भावना रहन्छ । वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेकाले उहाँका पक्षमा नयाँ समूह उभ्याउन सक्ने सम्भावना छ । यसले दलभित्र नयाँ समूह निर्माण र सत्ताका लागि गुटगत प्रतिस्पर्धा बढ्न सक्छ । दुवै नेतालाई धु्रवीकृत गरेर हेर्ने व्यवहार देखियो भने अन्य नेताहरू पनि शक्तिशाली बन्ने होडमा पक्ष–विपक्षमा उभिने र त्यसले आन्तरिक असन्तुलन निम्त्याउने खतरा बढ्न सक्छ । ओली–भण्डारीको नामको ध्रुवीकरणले अन्य नेताहरूलाई पन्छाउने काम भयो भने पनि दलभित्र विभाजन झन् गहिरो हुन सक्छ । यसबाट गुटबन्दीको पुनः जागरण हुनेछ र पार्टी २०५५ र २०७७ मा झैँ थप कमजोर बन्न सक्छ । यसैले उहाँको सक्रियता एमालेको आन्तरिक राजनीति, साङ्गठनिक संरचना, महिला सहभागिता र वैचारिक स्पष्टतामा बहुआयामिक प्रभाव पार्ने सम्भावनाको कसीमा राखेर हेर्नुपर्छ, । यो अवसर पनि हुन सक्छ र चुनौती पनि– पार्टी नेतृत्व र सदस्यले कसरी सामञ्जस्य गर्छन् भन्ने कुरामा अन्ततः परिणाम निर्भर रहनेछ । दलका अध्यक्ष ओली र भण्डारीबिचको सहकार्य एमालेको साङ्गठनिक बल, वैचारिक स्पष्टता र राजनीतिक प्रभाव विस्तारको दिशामा सहायक हुन सक्छ जुन सावधानीपूर्वक र सन्तुलनमा आधारित हुनु आवश्यक छ । भण्डारीले विचार र सल्लाहमार्फत पार्टीलाई समर्थन दिने, तर अहिल्यै कार्यकारी भूमिकामा नजाने रणनीति अवलम्बन गर्ने हो भने उहाँको गरिमा र दल दुवै लाभान्वित हुन सक्छन् । यसरी एमालेको सुदृढीकरणका लागि उहाँ एक सशक्त संरक्षक र वैचारिक मार्गदर्शकका रूपमा उदाउने सम्भावना रहन्छ ।
भण्डारीको आगमनले सन्तुलन ल्याउने, वैचारिक शुद्धीकरण गर्ने र सङ्गठनलाई फेरि जनतामुखी बनाउने सम्भावना जन्माएको छ । उहाँको दलमा फर्कने निर्णय ‘जबज’को मूल आत्मा फेरि दलको केन्द्रमा फर्कने विश्वास गर्नेहरू पनि छन् । उहाँको पुनः सक्रियता, एमालेको वर्तमान असन्तुष्टि र असन्तुलन, ‘जबज’को कार्यान्वयन र पुनस्र्थापनाबिच गहिरो सम्बन्ध छ । उहाँ मदनको स्मृति मात्र होइन, वैचारिक निरन्तरताको प्रतीक पनि हुनुहुन्छ । आजको खुम्चिएको राजनीतिक परिवेशमा, जहाँ सत्ता र स्वार्थ हाबी हुँदै गइरहेका छन्, त्यहाँ जबजको नवीकरण र संस्थागत अनुशासनको पुनस्र्थापनामा पनि उहाँको भूमिका त्यत्तिकै आवश्यक छ । उहाँको सक्रियता सङ्गठनात्मक दृष्टिले कार्यकर्तामा उत्साह, विश्वास र एकताको बलियो सन्देश दिने अवसर पनि हो । यदि नेतृत्वले यस क्षणलाई सन्तुलित, दूरदर्शी र समावेशी ढङ्गले प्रयोग ग¥यो भने एमालेले आगामी चुनावी यात्रा र साङ्गठनिक विस्तारमा अवश्य पनि नयाँ ऊर्जा प्राप्त गर्नेछ । वर्तमान अवस्थामा पार्टी सशक्तीकरण र राजनीतिक स्थायित्वका निम्ति दुवैबिचको सहकार्य अपरिहार्य छ । विवेक, पारदर्शिता र सामूहिकताका आधारमा अगाडि बढाइयो भने यस सहकार्यले एमालेको भविष्यलाई निर्णायक दिशातर्फ लैजान सक्छ । भण्डारीको राष्ट्रव्यापी छवि, वैचारिक स्पष्टता र साङ्गठनिक अनुभवले एमालेलाई पुनः राजनीतिक मूल धारमा स्थापित गर्ने सम्भावना छ जुन नेपालको लोकतान्त्रिक विकास, स्थायित्व र वैचारिक राजनीतिप्रतिको विश्वास पुनस्र्थापित गर्न सशक्त आधार बन्न सक्छ ।
राजनीति केवल सत्ताप्राप्तिको साधन होइन, विचार र नेतृत्वद्वारा समाजलाई दिशा दिने माध्यमसमेत हो । नेपालका दुई महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व ओली र भण्डारीले विचार, इतिहास र नेतृत्वको सिद्धान्तलाई समेटेर अघि बढ्ने हो भने दललाई पुनः सशक्त बनाउन सक्ने सम्भावना छ । एमाले भावी नेतृत्वको बहसलाई लिएर गम्भीर चुनौतीका बिच उभिएको अवस्थामा भण्डारीको सक्रियता नेपाली राजनीतिमा वैचारिक स्पष्टता, राष्ट्रहितको प्रतिबद्धता र वैकल्पिक नेतृत्वको पुनः जागरणको सङ्केत पनि हो जसले लोकतन्त्र त बलियो बनाउने नै छ, दलभित्र पनि वैचारिक पुनस्र्थापनाको मार्ग खोल्नेछ । दुवै नेता, नेतृबिचको सहकार्य, सावधानीपूर्वक समन्वय गरिएका खण्डमा एमालेलाई मात्र नभई समग्र वाम राजनीति र राष्ट्रिय नीति निर्माण प्रक्रियामा नयाँ ऊर्जा भर्न सक्छ । त्यसपछि आशा गरौँ – एमालेलगायत नेपाली राजनीतिले कहिल्यै थकाइ मार्नुपर्ने छैन । (लेखक एमाले, केन्द्रीय पार्टी स्कुल विभागका सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया