- वि.सं. २०८१ को एसइईमा करिब ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भए भने ३८ प्रतिशत ननग्रेडेड (अनुत्तीर्ण) रहे । असफल विद्यार्थीको उच्च सङ्ख्या अभिभावक र विद्यार्थी दुवैैका लागि चिन्ताको विषय बनेको छ।
- एसइईपछिको निर्णयले विद्यार्थीको करिअर निर्धारण गर्ने भएकाले विषय चयन (विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, प्राविधिक) र उपयुक्त कलेज छान्न अत्यन्त सावधानी आवश्यक छ ।
- राजधानीमा उत्कृष्ट कलेज तथा अवसर पाइने भएकाले मोफसलका विद्यार्थी काठमाडौँतर्फ आकर्षित भए पनि बसोबास, खर्च र सङ्गतको डरले उनीहरू मानसिक तनावमा पर्ने गरेका छन् ।
- महँगो कलेजमा मात्र राम्रो भविष्य हुन्छ भन्ने भ्रम हटाउन जरुरी छ । सामुदायिक विद्यालय र संस्थागत कलेजले पनि कम खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने देखिएको छ ।
- विषय छनोट र कलेज छनोटमा अभिभावक र विद्यार्थीबिच आपसी बुझाइ, परामर्श र तालमेल अत्यावश्यक छ । विद्यार्थीको रुचि र अभिभावकको क्षमताअनुसार निर्णय लिनु उत्तम हुन्छ ।
गत वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा चैत ७ देखि १९ सम्म सञ्चालन भई नतिजा यही असार १३ गते सार्वजनिक भएको छ । यसमा देशभरबाट नियमित, ग्रेडवृद्धि र प्राविधिकतर्फ गरी झन्डै पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भए । नियमिततर्फ चार लाख ३८ हजार आठ सय ९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत उत्तीर्ण भए भने ३८.१९ प्रतिशत ननग्रेडेड (अनुत्तीर्ण) भए, जसको ग्रेडवृद्धि परीक्षा साउन २९ गतेदेखि हुने तय भएको छ ।
परीक्षापछिको यो समय विद्यार्थी र अभिभावक दुवैका लागि निर्णयात्मक मोड हो । भविष्य निर्माणको सुरुवात यहीँबाट हुने भएकाले उत्साहसँगै चिन्ता र अन्योल पनि उत्तिकै रहने देखिन्छ । कुन विषय छान्ने, कुन कलेज उपयुक्त हुने, साथीभाइको सुझाव लिने वा नलिने, अभिभावकको चाहना र आफ्नो लक्ष्य मिलाउनेजस्ता विषयले विद्यार्थीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ । खर्च जुटाउने समस्या, राजधानीमा पढ्न बस्ने समस्या, अपरिचित वातावरण, गलत सङ्गतको डरले मोफसलका विद्यार्थी अझ बढी अन्योलमा पर्ने गरेका छन् । हाल विद्यालय शिक्षा नीतिअनुसार कक्षा नौदेखि १२ सम्मलाई माध्यमिक तह मानिए पनि कक्षा ११ र १२ सञ्चालन गर्न नसक्ने विद्यालय अझै छन् । त्यसैले एसइई नै विद्यार्थी र अभिभावकका लागि ‘आइरन गेट’सरह रहेको बुझिन्छ । विषय छनोटको आधारले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले यस चरणमा सही निर्णय लिन जरुरी हुन्छ ।
विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायलगायतका धेरै विकल्प कक्षा ११ र १२ मा उपलब्ध छन् । विज्ञान सङ्कायले चिकित्सा, इन्जिनियरिङ, पाइलट, कम्प्युटर साइन्सलगायतका क्षेत्रका लागि बाटो खोलिदिन्छ । व्यवस्थापनमा हाल होटेल म्यानेजमेन्ट, ट्राभल एनड टुरिजम, हस्पिटालिटी, फाइनान्स, चार्टर्ड एकाउन्टेन्सीजस्ता विषय लोकप्रिय छन् । मानविकी सङ्कायमा पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, इतिहासलगायतका विषय छन् जसले लोकसेवा, गैरसरकारी संस्था, समाजसेवा र राजनीतिमा अवसर प्रदान गर्छ । शिक्षाको रुचि भएकाले शिक्षा सङ्काय उपयुक्त हुन्छ, जसले शिक्षक बन्ने आधार तयार पार्छ । पढाइको खर्च पनि विषय र कलेजअनुसार फरक हुन्छ । राजधानीका कलेजमा महँगो शुल्क लागे पनि सामुदायिक विद्यालयमा कम खर्चमा पनि उत्कृष्ट शिक्षा सम्भव छ । त्यस्ता सामुदायिक कलेजमा विद्यार्थीको चाप बढ्दो छ । कलेजमा प्रवेशको समयमा एसइईको ग्रेड र इन्ट्रान्स परीक्षाको परिणाम हेरेर छात्रवृत्तिको व्यवस्था पनि हुने गर्छ । हाल राजधानीतर्फ अध्ययन गर्न विद्यार्थीको आकर्षण उच्च छ । मोफसलका विद्यालयमा शिक्षण गुणस्तर, सुविधाजनक पूर्वाधारको अभाव, उपयुक्त विषय र प्रशिक्षित शिक्षकको कमीका कारण विद्यार्थी राजधानी तथा ठुला सहरतर्फ आकर्षित छन् । तथापि, हाल हेटौँडा, नारायणगढ, बुटवल, विराटनगर, पोखरालगायतका सहरमा पनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । नारायणगढ भविष्यमा शिक्षाको हब बन्ने सम्भावना देखिएको छ ।
विद्यार्थी एसइईपछि बढी संवेदनशील हुने भएकाले अभिभावकले उनीहरूलाई बुझेर, सही मार्गदर्शन दिन आवश्यक हुन्छ । विषय छनोट गर्दा विद्यार्थीको रुचि, अभिभावकको हैसियत र शिक्षित व्यक्तिको परामर्श आधार बनाइनुपर्छ । कलेज छान्दा कलेजको इतिहास, नतिजा, वातावरण, व्यवस्थापन र दीर्घकालीन अवसरसमेत ध्यानमा राख्नुपर्छ । अन्ततः विद्यार्थी र अभिभावकबिच तालमेल अनिवार्य हुन्छ । अभिभावकले छोराछोरीको चाहना बुझ्न सक्नुपर्छ भने विद्यार्थीले पनि परिवारको अवस्था र सीमालाई बुझेर निर्णय लिन सक्नुपर्छ । यस चरणमा गरिएको निर्णयले जीवनको दिशा तय गर्ने भएकाले अत्यन्त सजग र जानकारीपूर्वक अघि बढ्न जरुरी हुन्छ ।
विदुर–१०, नुवाकोट
प्रतिक्रिया