+
Search

ताजा अपडेट +

पपुलर +

पुर्ख्यौलीदेखिको ह्युमपूजा सम्पन्न

पुर्ख्यौलीदेखिको ह्युमपूजा सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्ला, गोसाइँकुण्ड–६ धुन्चेका बासिन्दाले पुर्खादेखि गरिँदै आएको ह्युमपूजा सम्पन्न गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

मानेकोर समूह नम्बर–२ गोसाइँकुण्ड–६ को आयोजनामा टुल्कु छ्योलिङको नयाँ गुम्बामा ह्युम (बज्रयान ब्रिजमन्त्र) पूजा यही असार २२ गते एकादशीदेखि सुरु भई आज गुरुपूर्णिमाको दिन सम्पन्न भएको लामा गुरु दावासिदार घलेले जानकारी दिनुभयो । यस पूजामा स्थानीयवासीले चार समूह बनाई पालैपालो वार्षिक तीनपटक पूजा गर्छन् । त्यसमध्ये पहिलो पूजा त्रिपिटक ग्रन्थ ह्युम पाठ गर्ने र बुद्ध धर्मअनुसार गन्ती गरिनेछ । यसको विशेषता हिउँदपछि बर्खा समयमा रुख, बिरुवा पलाउने, जाडो महिनामा खुम्चिएर जमिनभित्र रहेका किरा–फटयाङ्ग्रा गर्मीको महसुस गरी बाहिर निस्कने गर्दछन् । राष्ट्रिय चिह्नअङ्कित लालीगुराँस फूल फुल्ने, वनजङ्गल हरियाली हुने एवम् स्वदेशी तथा विदेशीको आगमन हुने समयमा यो पूजा पर्छ । पहिलो दिन लामाहरू आफ्नै पोसाक, गरगहनासहितमा माने गाउने, गीत गाउने, पुस्तक र नाङ्लामा विभिन्न सजाएको फलफूल र अन्य सरसामानको प्रसाद बोकी बजार परिक्रमा गर्ने गर्छन् । साथै, लामा लाखेनाचसमेत गरिन्छ । त्रिपिटक ग्रन्थमा भएका विभिन्न शब्दले मानव जाति र किरा–फट्याङ्गा र वन्य जीवजन्तु, पशुपन्छीमा लाग्ने रोगव्याधि हटेर सुख, शान्ति, दीर्घायु होस् भन्ने कामना गरेर विशेष पूजा गरिन्छ । पूजा अवधिभर लाखबत्ती बालिनुका साथै विभिन्न मोलम पाठ गरिन्छ । साथै, सो अवधिभर लामा धर्म गुरूहरूले माछा र मासु, लसुनबाहेक सात्विक भोजन मात्रै खान्छन् । अन्तिम दिनमा उपस्थित सम्पूर्णलाई आयोजकबाट साधारण भोजन वितरण र लामा गुरुबाट आशीर्वाद छोग (प्रसाद) वितरण गर्दै कार्यक्रम समापन गरिन्छ ।

खासगरी बुद्ध धर्मअनुसार कात्तिक महिना (दावा ग्येपा) को त्रयोदशीदेखि अष्टमी चार दिनसम्म न्युङने पूजापाठ गरी व्रत बस्ने गरिन्छ । यो पूजाको विशेषता हिन्दु धर्मअनुसार दसैँ पर्व पर्ने भएकाले अधिकतम सङ्ख्यामा पशुपन्छी काटमार हुने भएकोले पशुपक्षीले जन्म लिन पाऊन्, मानव जातिले पनि पुनर्जन्म पाऊँ भन्ने धर्म संस्कारअनुसार व्रत बस्ने गरिन्छ । पूजामा लामा, धर्म गुरुहरू र माने आमाहरू उपस्थित भई नमो अवलोकेश्वर (चेङरिसी) को माने जप गर्दा एक–अर्कासँग नबोल्ने चलन रहेको छ । २४ घण्टासम्म व्रत बस्नेले पानीसमेत पिउँदैनन् । तामाङ संस्कार, संस्कृतिलाई जगेर्ना गरी आफ्नो रीतिरिवाजलाई संरक्षण गरी भावी पुस्ताले पनि यसलाई निरन्तरता दिएर अगाडि बढून् भनेर नै यस्तो पाठपूजालाई निरन्तरता दिइरहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । यो पूजा गर्नाले सबै मानवलोक, पृथ्वीलोक, सम्पूर्ण सास भएका जीवजन्तुको रक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह