द्वन्द्वकालमा नष्ट ऐतिहासिक ज्यामरुङ दरबारको घोडातबेला पनि जलेरै समाप्त

द्वन्द्वकालमा नष्ट ऐतिहासिक ज्यामरुङ दरबारको घोडातबेला पनि जलेरै समाप्त
त्रिशूली प्रवाह
१ महिना अगाडी
  • ६ सय वर्ष पुरानो शाहवंशी ज्यामरुङ दरबारको अन्तिम बाँकी संरचना घोडा बाँध्ने तबेला आगलागीबाट जलेर नष्ट भएपछि दरबार अब पूर्ण रूपमा भग्नावशेषमा मात्र सीमित भएको छ । नीलकण्ठ-११ स्थित सो तबेलामा विद्युत् सर्ट भएर आगो लागेको हो । सशस्त्र सङ्घर्षका समयमा २०५९ साल असोजमा माओवादीले दरबारमा आगजनी गर्दा भित्रका गरगहना, हातहतियार, पूजा सामग्री र अन्य ऐतिहासिक वस्तु नष्ट भएका थिए ।
  • दरबार चौबिसे राज्यअन्तर्गतको ज्यामरुङ राज्यको केन्द्र थियो जहाँ राजा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्नुअघि केही समय बिताएका थिए ।
  • स्थानीयवासीले दरबार पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्ने माग गर्दै आए पनि अहिलेसम्म सरकार वा कुनै निकायले चासो नदेखाएको गुनासो गरेका छन् ।

धादिङबेँसी । धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका-११ मा रहेको ऐतिहासिक महत्त्व बोकेको ज्यामरुङ दरबारको नामनिसाना नै नामेट भएको छ । उक्त दरबारको पछिल्लो समयमा बाँकी रहेको घोडा बाँध्ने तबेला आगलागीबाट यही शनिबार जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई लागेको आगोले दरबारको बाँकी रहेको घोडा बाँध्ने तबेला पनि जलेर नष्ट भएको हो ।

ऐतिहासिक महत्त्व बोकेको शाहवंशी ज्यामरुङ दरबार २०५९ असोजमा जनयुद्धका क्रममा तत्कालीन माओवादीले आगजनी गरी जलाएका थिए । आगजनीमा दरबारभित्र रहेका गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्रीलगायतका सामान सबै जलेर नष्ट भएका थिए । वि.सं. २०५९ मा दरबारमा आगजनी गरिएपछि दरबारभित्र रहेका पुस्तैनी गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्री, कालीनाल, भरुवा बन्दुक, देवताका चाँदीका गरगहना, पानस, तानदान, डोली, छातालगायतका सामग्री सबै जलेका थिए । दरबारको भौतिक संरचनाको नाममा घोडा बाँध्ने तबेला मात्र बाँकी थियो । तर, त्यो पनि विद्युत् सर्ट भई लागेको आगोले नष्ट भएको छ । करिब ६ सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको ज्यामरुङ दरबार अहिले भग्नावशेषमा मात्रै सीमित बनेको छ । शाहवंशीय राजाका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रविन्दुको रूपमा लिइने यो दरबार पूर्ण रूपमा नष्ट भएको हो । घोडा बाँध्ने तबेलामा विद्युत् सर्ट भएर आगलागी भएको नीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले बताउनुभयो । ‘आगलागी भएको देखेपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो । तर, तबेलाको सम्पूर्ण भाग जलेर नष्ट भएको छ । पुराना केही काठ भए पनि अन्य सामान भने तबेलाभित्र थिएन । तर, अब दरबारको भौतिक संरचना केही रहेन,’ उहाँले भन्नुभयो ।

ज्यामरुङ दरबार झन्डै ६ सय वर्ष पुरानो रहेको स्थानीयवासीको जिकिर छ । यो दरबार विसं १५०० तिर निर्माण गरिएको अनुमान छ । त्यस वेला यो क्षेत्र चौबिसे राज्यमध्ये ज्यामरुङ राज्यअन्तर्गत पथ्र्यो । पछि राजा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्नुअघि यही ज्यामरुङमा केही समय बिताएका मानिन्छ । त्यसैले, यो दरबार गोरखाको ऐतिहासिक उत्पत्तिसँग समेत सम्बन्धित रहेको बताइँदै आएको छ । ऐतिहासिक महत्त्व बोकेको ज्यामरुङ दरबार पुनर्निर्माणमा कसैले चासो दिएको छैन । जलेर खरानी बनेको दरबार पुरानै बनोट र संरचनामा निर्माण गरिनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । भौतिक संरचनाको नाममा रहेको घोडा बाँध्ने तबेला पनि जलेर नष्ट भएपछि दरबारको नामनिशाना मेटिने स्थानीयवासीको चिन्ता छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह