विकासको प्रगति : स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी, सञ्चार र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भएको छ ।
शिक्षा र मानव संसाधन : सिपमूलक र व्यावसायिक शिक्षाको विकास गरी जनशक्ति उत्पादनमा जोड दिनु आवश्यक छ ।
कृषि र भू-उपयोग : कृषि उत्पादनमा आत्मनिर्भरता र जमिनको सदुपयोगमार्फत ग्रामीण विकासमा जोड ।
राजनीतिक स्थायित्व र सुशासन : स्थायी सरकार, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी नेतृत्व अपरिहार्य छन् ।
आर्थिक विकास र पर्यटन : औद्योगीकरण, जलविद्युत् र पर्यटन क्षेत्रको विकासमार्फत समृद्धिको बाटो खोल्न सकिन्छ ।
नेपाल प्राचीनकालदेखि नै ज्ञानभूमिको रूपमा चिनिएको देश हो । दक्षिण एसियामै अग्रणी मानिने यो देश शान्ति, विश्वबन्धुत्व र सदाचारको उच्च उदाहरण थियो । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यस देशका नदी, झरना, पहाड, फाँट, हावा, माटो र पानीले जीवन धान्न उपयुक्त वातावरण सिर्जना गरेको छ । नेपाली नागरिक सधैँ आफ्नो मातृभूमिमा पसिना बगाउन र आवश्यक पर्दा रगतसमेत बगाउन तयार देखिएका छन् । विश्वप्रसिद्ध हिमालय, लुम्बिनी, पशुपतिनाथजस्ता धार्मिक र ऐतिहासिक स्थलले नेपाललाई विश्वमा विशेष स्थान दिलाएका छन् ।
देश समृद्ध बन्नका लागि सक्षम र इमानदार नेतृत्व अपरिहार्य हुन्छ । नेपालले पछिल्लो समय केही क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ, जसले समृद्धिको यात्रा प्रारम्भ भएको सङ्केत दिन्छ । उदाहरणका लागि, नेपालीको औसत आयु वि.सं. २०१७ मा २८ वर्ष रहेकोमा वि.सं. २०८० मा ७१ वर्ष पुगेको छ । गरिबीको दर वि.सं. २०४८ मा ४५ प्रतिशत रहेकोमा हाल १२ प्रतिशतमा झरेको छ । विश्व बैंकका अनुसार प्रतिव्यक्ति आय वि.सं. २०१७ मा ५७ अमेरिकी डलर मात्र रहेकोमा अहिले १,३९९ अमेरिकी डलर पुगेको छ । पिउने पानीको पहुँच ९४.९ प्रतिशत जनतामा पुगेको छ भने बिजुली उत्पादन ३५०० मेगावाटसम्म पुगेको छ र ९६ प्रतिशत जनतामा यसको पहुँच छ । सूचना प्रविधिमा पनि नेपालले ठुलो फड्को मारेको देखिन्छ । वि.सं. २०१७/१८ मा १,१२० टेलिफोन लाइन मात्र थिए भने हाल तीन करोड ५९ लाख मोबाइल प्रयोगकर्ता रहेका छन् । ३६ प्रतिशत जनताले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन् । सडक पूर्वाधारमा पनि उल्लेखनीय विकास भएको छ, वि.सं. २०४६/०४७ मा ७,३३० किलोमिटर सडक रहेकोमा अहिले यो सङ्ख्या ६८,००० किलोमिटरमा पुगेको छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रले पनि उत्साहजनक उपलब्धि हासिल गरेका छन् । हाल देशमा २१५ सार्वजनिक अस्पताल र ३,७८९ स्वास्थ्यचौकी छन् । साक्षरता दर वि.सं. २०२८ मा १४ प्रतिशत रहेकोमा २०७८ मा ७६.३ प्रतिशत पुगेको छ । महिला साक्षरता भने अझै कम छ – मात्र ६९.४ प्रतिशत । प्राथमिक विद्यालयमा भर्नादर ९७ प्रतिशत पुगेको छ । तर, गाउँमा जनसङ्ख्या घट्दो अवस्थामा छ, विद्यालय तथा कलेजमा विद्यार्थीको सङ्ख्यामा ह्रास आएको छ । जसले जनशक्ति व्यवस्थापन र शिक्षा नीतिमा पुनः समीक्षा आवश्यक रहेको देखाउँछ । देशको जनशक्ति, विशेषगरी युवा शक्ति विदेश पलायन भइरहेको अवस्था चिन्ताजनक छ । मुलुक वृद्धवृद्धाको मात्र देश बन्ने खतरा देखिएको छ । उर्वर जमिन बाँझो छ । सिपयुक्त जनशक्तिको अभाव छ, प्राविधिक शिक्षालय थला परेका छन् । शिक्षा नीतिमा स्पष्टता ल्याई, व्यावसायिक शिक्षा, सिप र संस्कारमा जोड दिनु अत्यावश्यक भएको छ ।
नेपालको जनसङ्ख्या वितरण विषम रहेको छ । करिब ८० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ भने औसतमा एक परिवारलाई ०.५५ हेक्टर जमिन मात्र परेको छ । ६६ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा र ३४ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । गाउँमा पूर्वाधार पुगे पनि जनघनत्व घट्दै जानु चिन्ताको विषय हो । ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर सहरी क्षेत्रसरह हुनुपर्ने आवश्यकता छ, जसले न्यायोचित जनसङ्ख्या वितरणलाई प्रवद्र्धन गर्छ । कृषिमा आत्मनिर्भर बन्न विदेशी वस्तुको आयात घटाउन आवश्यक छ । फलफूलखेती, नगदेबाली, जडीबुटीखेतीको प्रवद्र्धन, मल-बिउको समयमै उपलब्धता, जलवायुअनुसार खेतीको व्यवस्था र सिँचाइको भरपर्दो प्रणाली अबको कृषि रणनीति हुनुपर्छ । वन क्षेत्रमा फलफूलखेती गरेर बाँदरआतङ्क नियन्त्रण तथा वातावरणीय संरक्षणमा पनि योगदान दिन सकिन्छ ।
राजनीतिक स्थायित्व र सुशासनविना समृद्धिको यात्रा सम्भव हुँदैन । वि.सं. २०४६ पछि देशको राजनीति अस्थिर रहँदै आएको छ । नेतामा पदलोलुपता, दलीय स्वार्थ, सार्वजनिक सम्पत्तिको दुरुपयोग र सुशासनको कमीले जनता निराश बनेका छन् । अन्तर्राष्ट्रिय सूचकाङ्कअनुसार नेपाल विश्वका विभिन्न सूचकमा निकै पछि परेको छ । उदाहरणका लागि, मानव विकास सूचकाङ्कमा १४६औँ, भ्रष्टाचार बोध सूचकाङ्कमा ११०औँ, विश्व भोकमरी सूचकाङ्कमा ६९औँ स्थानमा रहेको छ । यी सूचकले सरकार र राजनीतिक दलहरूका कामको आकलन गर्छन् । आवधिक योजना बनाउने, तर कार्यान्वयनमा कमजोरी हुनु, वाचाविपरीत व्यवहार हुनु र नेताहरूको जवाफदेहीको अभाव देशको प्रमुख कमजोरी हो । अब नेतृत्व आपूmले बनाएको नीति तथा योजनामा इमानदार हुनुपर्छ । नागरिकले पनि आफ्नो कर्तव्यप्रति सचेत र उत्तरदायी बन्नुपर्छ । शान्ति र सुरक्षाको प्रत्याभूति समृद्धिको आधार हो । नागरिकले मौलिक हक स्वतन्त्र र सुरक्षित रूपमा प्रयोग गर्न पाउनुपर्छ । सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई प्रोत्साहन गर्नु आवश्यक छ, जसले द्वन्द्वको सम्भावना हटाउँछ ।
आर्थिक समृद्धि नभई समृद्धिको कल्पना गर्न सकिन्न । नेपालमा सार्वजनिक ऋण वि.सं. २०८२ वशाखसम्म रु. २६ खर्ब नाघिसकेको छ । विलासी वस्तुको आयात बढ्दो छ । ऋण आफैँमा खराब होइन, तर यसको प्रयोग लक्षित क्षेत्रमै हुनुपर्छ । आज ऋण लिएर विलासिताका वस्तु किन्ने, विदेश भ्रमण गर्ने, व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने प्रवृत्तिले आर्थिक अवस्था कमजोर बनाएको छ । ऋणको सदुपयोग, उत्पादनमुखी क्षेत्रमा लगानी, पारदर्शिता र जवाफदेहिता जरुरी छ । देशमा उद्योगधन्दाको विकास अत्यन्त आवश्यक छ । कृषि, औषधि, सवारी, विद्युत् सामग्री निर्माण, घरेलु उद्योग, जलविद्युत् तथा पर्यटन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ । सहकारी प्रणालीलाई व्यवस्थित बनाएर वित्तीय पुँजी निर्माण र उद्योग प्रवद्धन गर्न सकिन्छ । राष्ट्रिय पुँजीको विकास भएमा वैदेशिक निर्भरता घटेर आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन सक्छ ।
नेपालमा पर्या–पर्यटनको अपार सम्भावना छ । सगरमाथादेखि तराईको समथर भूमि, विविध जलवायु, जैविक र सांस्कृतिक सम्पदाले नेपाललाई विश्वमै अनौठो देश बनाएको छ । ४० प्रतिशतभन्दा बढी वन क्षेत्र, ८० प्रतिशत कृषक, हरियो र सफा भूगोलले यसलाई ‘हरित पर्यटन’का लागि उपयुक्त बनाएको छ । कृषि, वातावरण र पर्यटनलाई एकसाथ जोडेर देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ । समृद्धि सपना देखेर मात्र सम्भव हुँदैन । त्यसका लागि तीनै तहका सरकार, नागरिक, राजनीतिक दलहरू, सामाजिक संस्था र सम्पूर्ण जनसमुदाय इमानदारी, मिहिनेत र निष्ठापूर्वक लाग्नुपर्छ । राजनीतिक बेथिति, सामाजिक विकृति र भ्रष्टाचार अन्त्य नगरी समृद्ध नेपालको सपना साकार पार्न सकिँदैन ।
निष्कर्षः नेपाल समृद्धिको दिशातर्फ लम्किरहेको छ, तर यो यात्रा कहाँ पुग्छ र कहिलेसम्म पुग्छ भन्ने कुरा नेतृत्वको इच्छाशक्ति, जनताको साथ र योजना कार्यान्वयनको सफलतामा निर्भर रहन्छ । अब हामी सबै मिलेर, एकजुट भएर, आफ्नो स्थानबाट योगदान दिँदै नेपाललाई सुन्दर, शान्त, सुरक्षित र समृद्ध राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ । ‘खुशी रहौँ, सुखी बनौँ, खुसी बाँडौँ, सुख साटौँ’ भन्ने भावना सबैमा फैलिनुपर्छ । यही नै समृद्ध नेपालको यात्राको सार हो । (लेखक श्यामेवाङ्फेल मावि स्याफ्रुबेँसी रसुवाका पूर्वप्रधानाध्यापक हुनुहुन्छ ।)
प्रतिक्रिया