काहुले । बागमती प्रदेश सरकारको गृहिणी सशक्तीकरण कार्यक्रमअन्तर्गत किस्पाङ-३, काहुलेको गृहिणीलाई उद्यमशीलता विकास प्रशिक्षणपश्चात् आधारभूत मौरीपालनसम्बन्धी १५ दिने तालिम प्रदान गरिएको छ । प्रदेश सरकार र पालिकाको लागत साझेदारीको सो तालिममा काहुलेका १५ गृहिणी महिला सहभागी भएको कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा पालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले प्रविधि हस्तान्तरणअन्तर्गत तालिम सम्पन्न गरेका महिलालाई एक-एक मौरीको गोलासहित घार निःशुल्क प्रदान गर्नुभएको थियो । काहुले मौरीपालनका लागि सुहाउँदो हावापानी रहेको र नयाँ पर्यटकीय क्षेत्रसमेत हुन लागेकाले मौरीपालनलाई महिलाले आय-आर्जन, सिप र सोखको रूपमा प्रवद्र्धन गर्न सक्नेसमेत उहाँले बताउनुभयो । उद्यमशीलता विकास तालिमको प्रशिक्षण उद्यम विकास सहजकर्ता आकाश न्यौपाने र रामराजा बुलुनले तथा मौरीपालनसम्बन्धी आधारभूत तालिमको प्रशिक्षण नुवाकोटमा मौरी बाजेको नामले परिचित धु्रवप्रसाद सापकोटाले दिनुभएको कार्यक्रमका सम्पर्क व्यक्ति एवम् पालिकाका सूचना प्राविधिक अधिकृत मोतीमाया तामाङले बताउनुभयो । गाउँका गृहिणी महिलालाई साझेदारी र सामूहिक उत्पादनको माध्यमबाट स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्य कार्यक्रमको रहेकोसमेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया