विदुर । नुवाकोट जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले पूर्णखोपयुक्त जिल्ला घोषणा गर्नुभएको थियो । उहाँले नुवाकोटमा पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभा कार्यक्रममा सबै बालबालिकाले पूर्णखोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्णखोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो । प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै डा.झाले यसमा सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।
जिल्ला खोप समन्वय समितिको संयोजक एवम् जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको सभापतित्वमा भएको सो घोषणा कार्यक्रममा जिल्लाका १२ पालिकाका स्वास्थ्य इकाइ प्रमुखको उपस्थिति रहेको थियो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार पूर्णखोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सातपटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताउनुभयो । जन्मनेबित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा-रुबेला तथा टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ । कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । आव २०८१/०८२ घरधुरी सर्वेक्षणबाट प्राप्त समायोजन प्रतिवेदनअनुसार शुन्यदेखि १५ महिनासम्मका बालबालिका सङ्ख्या २९ सय ८८, १६ देखि २३ महिनासम्मका बालबालिकाको पूर्णखोप लगाएका सङ्ख्या ४५ सय ७७ रहेको छ ।
प्रतिक्रिया