+
Search

ताजा अपडेट +

पपुलर +

विपत् व्यवस्थापनको पूर्वतयारीमा धादिङ

विपत् व्यवस्थापनको पूर्वतयारीमा धादिङ
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेँसी । मनसुनजन्य विपत् व्यवस्थापनका लागि धादिङ जिल्लामा उच्च सतर्कताका साथ तयारी सुरु भएको छ । जोखिमयुक्त स्थानको पहिचान गरी सम्भावित विपत्को पहिचान गरी सतर्कता तथा व्यवस्थापनको तयारी थालेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

शनिबार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले समस्याको विश्लेषण गर्दै महत्त्वपूर्ण निर्णय गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उहाँका अनुसार बैठकले सशस्त्र प्रहरी बल, बिओपी तिप्लिङका लागि रुबीभ्याली–१, सिक्रेखर्कमा रहेको करिब १६ रोपनी जग्गा आपत्कालीन प्रयोग गर्न सिफारिस गरेको छ । उक्त क्षेत्रमा वैकल्पिक खुला क्षेत्रका लागि पर्याप्त जग्गा, जमिन रहेकाले अस्थायी शिविर, हेलिप्याडलगायतको व्यवस्थापन सहज हुने समितिले जानकारी दिएको छ । त्रिशूली नदीले गल्छी–१ मा कटान गरिरहेको खेतीयोग्य जमिनको अवस्थाबारे स्थलगत निरीक्षण गर्न टोली खटाउने निर्णय गर्दै जोखिम न्यूनीकरणका लागि तत्काल तारजालीको व्यवस्था गरेको छ । नीलकण्ठ–८ र ज्वालामुखी–४ जोड्ने धौखोलाको पुल तत्काल पुनर्निर्माण गरी यातायात सञ्चालन गर्नका लागि तयारी थालिएको छ । नेत्रावती–डबजोङको बोराङ–रातमाटे सबस्टेसन क्षेत्रमा बाढीपहिरोबाट जमिन, सिँचाइ कुलो, खानेपानी पाइप र सडकमा क्षति पुगेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरणसँग समन्वयमा रही तत्काल जोखिम न्यूनीकरण गर्न प्राथमिकता दिन निर्देशन दिएको छ । नीलकण्ठ–१३ मा आएको प्राकृतिक विपत्का कारण मनरूपी माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको र पठनपाठनमा कठिनाइ भएकोले वैकल्पिक व्यवस्था र मर्मतसम्भारका लागि बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ । प्रजिअ घिमिरेले भन्नुभयोे, ‘मनसुनको सक्रियतासँगै विभिन्न स्थानमा बाढीपहिरो र कटानका घटना देखा पर्न थालेका छन् । यस्ता विपत् जोखिमबाट जनधनको क्षति न्यूनीकरण गर्न सबै स्थानीय तह, सुरक्षा निकाय, प्राविधिक संस्था र समुदायको सहकार्य आवश्यक छ । जिल्ला प्रशासन कार्यालय समन्वयकारी भूमिकामा रहँदै आवश्यक सबै कार्यमा अग्रसर हुनेछ ।’ उहाँले विपत् न्यूनीकरणका लागि तय भएका निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह