+
Search

ताजा अपडेट +

पपुलर +

मनपाङले सल्यानटारेको तिर्खा मेट्दै

मनपाङले सल्यानटारेको तिर्खा मेट्दै
;Nofg6f/ wflbª sf7df8f}+ r}t & wflbªsf] ;Nofg6f/sf] x]nLjf6 s}b ul/Psf] tl:a/ . tl:a/ M k|bLk/fh jGt,/f;;
राजेन्द्र बस्नेत
२ हप्ता अगाडी

धादिङबेँसी । नेपालकै ठुलो टार सल्यानटारमा ‘एक घर एक धारा’मार्फत खानेपानी उपलब्ध गराउने काम अन्तिम चरणमा पुगेको छ । गत असारको पहिलो साता मनपाङ खोलाको पानी सल्यानटारमा आइपुगेपछि सल्यानटारवासी तिर्खा मेटिने आसमा खुसीले गद्‍गद भएका छन् ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको सहलगानी खानेपानी आयोजना कार्यालय चितवन र उपभोक्ताको लागत साझेदारीमा निर्माण सुरु भएको मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ आयोजनाको थप गरिएको म्याद वि.सं. २०८२ मङ्सिर १४ मा सकिँदै छ । आयोजना निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनलाई तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न निकै दबाब परिरहेको छ । थप गरिएको म्यादभित्र आयोजना हस्तान्तरण गर्ने योजना रहेको आयोजनाका इन्जिनियर हरिशरण ज्ञवालीले बताउनुभयो ।  मनपाङबाट ल्याइएको पानी पुरानो ट्याङ्कीमार्फत पुरानै पाइपबाट उपभोक्तालाई वितरण गरिएको मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष कृष्णकुमारी थापाको भनाइ छ । उहाँले आयोजनाले काममा ढिलासुस्ती गरेकाले तोकिएका समयमा पानी खान नपाएर अतालिएका उपभोक्तामा ढिलै भए पनि खुसी मिलेको बताउनुभयो । इन्जिनियर ज्ञवालीले वित्तीय प्रगति ७९ र भौतिक प्रगति ८७ प्रतिशत भएको जानकारी दिनुभयो । उपभोक्ता समितिको कार्यालय भवन निर्माण सम्पन्न भइसकेको र अब रंगरोगन गर्न मात्र बाँकी छ । मुहानबाट सल्यानटारमा पानी खसालिएको छ । मिटर जोड्नेसहितका बाँकी काम मङ्सिरसम्ममा पूरा हुने बताइएको छ ।

धादिङको साबिक त्रिपुरासुन्दरी-१ र सल्यानटार-२ मा खानेपानी ल्याउन असम्भव प्राय थियो । खाद्य अधिकारका क्षेत्रमा काम गर्ने संस्था फियान नेपालले समूह गठन गरी खाद्य अधिकार प्राप्त गर्न सिप तथा पैरवी गर्न क्षमता अभिवृद्धि गरेकाले खानेपानी योजना ल्याउन सफल भएको बताएको छ । त्रिपुरासुन्दरी-३ र गंगाजमुना-७ को सिमानामा रहेको मनपाङबाट पानी ल्याउन सुरुमा गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले पालिकाबाट रु. दुई करोड दिएकाले सहलगानी कोषसँग आयोजना सम्झौता निर्माण सुरु भएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष र मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबिच भएको ऋण लगानीसम्बन्धी सम्झौतामा जमानकर्ताका रूपमा गाउँपालिका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेल बस्नुभएको छ । नगर विकास कोषबाट २० प्रतिशत ऋण पाँच प्रतिशत ब्याजदरमा लिइएको छ । नगर विकास कोषबाट रु.चार करोड ७७ लाख नौ हजार आठ सय ७७ ऋण, उपभोक्ता समितिबाट रु.दुई करोड ३८ लाख ५४ हजार नौ सय ३८ र सहलगानी कोषबाट रु.१६ करोड ६९ लाख ८४ हजार पाँच सय ७० मा आयोजना सम्पन्न हुँदै छ । नगर विकास कोषबाट लिइएको ऋण १८ वर्षमा भुक्तानी गर्नुपर्ने सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष थापाले बताउनुभयो ।

आयोजनाले त्रिपुरासुन्दरी-१ र २ सल्यानटारका दुई हजार सात सय ३० परिवारका १३ हजार ६ सय ५० जनसङ्ख्यालाई लक्ष्य गरी गरिएको आयोजना २० वर्षपछि पाँच हजार दुई सय ३१ परिवारमा २६ हजार एक सय ५५ जनसङ्ख्या रहने अनुमान गरेर गरिएको छ । आयोजना सम्पन्न हुँदा आयोजनाले दुई हजार आठ सय ९७ परिवारका १४ हजार चार सय ८१ जनसङ्ख्यालाई शुद्ध पिउने पानी उपलब्ध गराउने अनुमान गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन एक सय लिटर पानी खपत गर्ने अनुमान गरी डिजाइन गरिएको आयोजनाले दैनिक ३३ लाख ३४ हजार सात सय ३८ लिटर खोलाको पानी शुद्धीकरण गरेर प्रत्येक घरमा मिटरसहितको धारा जडान गरिनेछ । उपभोक्ताको धारोमा २४ सै घण्टा निरन्तर पानी उपलब्ध गराउने गरी निर्माण भएको आयोजनाकोे लागत रु.२३ करोड ८५ लाख ४९ हजार तीन सय ८७ छ । आयोजना सम्पन्न हुने वर्षको प्रतिव्यक्ति लागत रु.१७ हजार चार सय ७६ पर्नेछ भने २० वर्षपछि सो लागत रु.नौ हजार एक सय २० मा आउनेछ । साढे १० किलोमिटर प्रसारण पाइप र साढे ५१ किलो किलोमिटर वितरण पाइपलाइन रहनेछ । तीनवटा ग्राउन्ड रिजर्भवायर मा दुईवटा प्रशोधन प्रणाली हुनेछ । ५० जना क्षमताको बैठक कक्षसहितको कार्यालय भवन र दुईवटा अग्नि नियन्त्रक रहनेछ ।

मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत सञ्चालित हुने सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको रु.३० करोड ४० लाख ४६ हजार आठ सय एक रहेकोमा रु.२३ करोड ८५ लाख ४९ हजार तीन सय ८७ सगुन कन्स्ट्रक्सन रूपन्देहीले सम्झौता गरेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनसँग वि.सं. २०८१ जेठ १२ काम सम्पन्न गर्ने गरी २०७९ साल जेठ १२ गते सम्झौता गरिएको थियो । कम्पनीले मुहानमा इन्टेक र मनपाङ खोलानजिक सङ्कलन ट्याङ्की एक-एक र निमार्ण गर्नुपर्नेछ । मुख्य पाइपलाइन १५ हजार आठ सय चार किलोमिटर, शाखा पाइपलाइन ५३ हजार ६० किलोमिटर रहनेछ । सल्यानटार सिक्टारमा पानी प्रशोधन केन्द्र एकवटा, पानी वितरण ट्याङ्की चार सय घनमिटरको दुईवटा, समितिको कार्यालय भवन, चौकीदार भवन एकवटा र निजी धारा दुई हजार आठ सय ९७ वटा जडान गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र बस्नेत