प्रदेशको शासन र प्रशासन चलाइरहेका मान्यज्यूलाई अहिले मुख्यमन्तरी पद जोगाउन धौ-धौ परिरहेको जिल्लावासी कमैलाई पो थाहा होला । शक्तिमा हुँदा सानो घेरामै रमाउने, जात र समुदाय मात्र देख्ने स्वभावका कारण सङ्कटको घडीमा समेत जिल्लावासीको साथ र सहयोग नपाउनु उहाँको कहाँसम्मको दुर्भाग्य हँ ? ठेकेदारसमेत रहेर न्वाँकोटबाट प्रतिनिधित्व गर्ने उहाँ प्रदेशको प्रधानमन्त्री रहँदा र नरहँदा जिल्लावासीलाई खासै फरक परेन । गृहजिल्लाको सदरमुकाममा रहेर पनि यस वर्ष वैशाख १ गतेको सिन्दुरेजात्रामा न्वाँकोटसम्म उक्लिन पनि नमानेका यिनलाई अहिले दुई शब्द सामाजिक सञ्जालमा पोख्न हिच्किचाइरहेकाहरू मनमनै खुच्चिङ पो भनिरहेको त्रिनेत्रले थाहा नपाउने कुरै भएन । अझ गत आइतबार त्रिशूली अस्पतालको ६१औँ वार्षिकोत्सव मनाउन उनलाई नै प्रमुख अतिथि बनाएर छापिएको कार्ड खेर पो गयो र मेयरले पो बाजी मारे । छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी-कठैबरा ! अब बन्ने नयाँ प्रदेश सरकारमा न्वाँकोटले अर्थ मन्त्रालय पाउने गाइँगुइँ चलेनि छु मतलब, पहिले पनि सङ्घ र प्रदेशमा गरी चारजना पाएकै हो । उहाँलाई जिल्लाका प्रदेश सभासद्कै असहयोग भएको पिरलो केही थान कार्जेकर्ताले विदुरको लोकतान्त्रिक चोकमा चियागफमा सुनाएको पनि तीनआँखेले प्रत्यक्ष देख्यो नै ।
प्रतिक्रिया