वागबगैँचा । बागमती प्रदेश सरकारमातहतमा रहेको त्रिशूली अस्पतालबाट एक वर्षमा रु.एक लाख ५४ हजार तीन सय ५१ बिरामीले उपचार पाएका छन् । अस्पतालले ६१औँ वार्षिकोत्सवका अवसरमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी गराइएको थियो । अस्पतालमा नुवाकोटसहित रसुवा र धादिङ उत्तरी क्षेत्रका बिरामीले सहज सेवा पाइरहेका छन् ।
अस्पतालको वार्षिकोत्सव समारोहका प्रमुख विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक संरचना, प्राविधिक जनशक्ति, उपकरण थप गर्न सहजीकरण तथा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पताल डेढ वर्षदेखि सय शय्यामा स्तरोन्नति भएसँगै थप सेवा र सुविधा विस्तार भइरहेको जानकारी दिनुभयो । अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले वार्षिक प्रगति प्रस्तुत गर्दै आव २०८१/०८२ मा आकस्मिक कक्षमा १६ हजार पाँच सय र अरू एक लाख ३७ हजार आठ सय ५१ जनाले सेवा पाएको बताउनुभयो । त्रिशूली जलविद्युत् केन्द्रका कर्मचारीका लागि विसं २०२२ मा स्थापित अस्पताल २०३२ सालमा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । अस्पताल १३ रोपनी दुई पैसा क्षेत्रफलमा पैmलिएको छ । सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणका नाममा अस्पतालसँगै रहेको २६ रोपनी १५ आना एक पैसा दुई दाम जग्गा जिल्लाबाट आवश्यक प्रक्रिया पूरा गरी ल्याउनका लागि पहल भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी ९९ रहे पनि अस्पताल स्तरोन्नतिसँगै बिरामीको चाप बढेअनुसार जनशक्ति कमी भएकाले आन्तरिक स्रोत र विभिन्न सङ्घसंस्थाका कार्यक्रमबाट पूर्ति गरिएको अस्पताल व्यवस्थापक रिकेश रानाले बताउनुभयो । अस्पतालमा २४ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृत कार्यरत छन् । प्रदेशस्तरीय अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसार क्रमशः आव २०७०/०७१ मा ८८ प्रतिशत, आव २०७८/०७९ मा ९६ प्रतिशत र आव २०८१/०८२ मा (सय शय्या भएपछि) ८१ प्रतिशत अङ्क प्राप्त गरी प्रादेशिकस्तरको उत्कृष्ट अस्पतालका रूपमा छनोट भई गुणस्तरीय, सर्वसुलभ र सर्वसाधारण सेवाग्राहीको पहुँचमा स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
अस्पतालले प्राविधिक शिक्षा तथा तालिम परिषद्अन्तर्गतका विभिन्न विधा र हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब, प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीलाई अनुसन्धान निरन्तर अध्ययन तथा प्रयोगात्मक अभ्यासका लागि सहमति दिएको छ । गत आवमा अस्पतालले शैक्षिक अध्ययन-अध्यापनका लागि स्वीकृति लिएर सिटिइभिटीअन्तर्गत स्टाफ नर्स अध्यापन गराउने योजना अगाडि बढाएको थियो । चालू आवमा पनि सो योजना कार्यान्वयन गर्ने गरी तयारी भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । वार्षिकोत्सवका अवसरमा यस वर्षको उत्कृष्ट कर्मचारीमा मेडिकल अधिकृत डा. कैलाश विश्वकर्मा छनोट भई सम्मानित र पुरस्कृत हुनुभएको छ । सो अवसरमा भएको फुटसल, दौड, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल प्रतियोगिताका विजयीलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको थियो । आव २०८१/०८२ मा अस्पतालको वार्षिक बजेटमा रु. १५ करोड ५६ लाख ९४ हजारमध्ये रु. १३ करोड ८० लाख ५० हजार तीन सय ९४ खर्च भएको लेखाप्रमुख खडानन्द घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया