+
Search

ताजा अपडेट +

पपुलर +

शयनावस्थाका शिवको दर्शन सुरु

शयनावस्थाका शिवको दर्शन सुरु
सरस्वती न्यौपाने
२ हप्ता अगाडी
  •  जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा हजारौँ भक्तजन पुग्ने गर्छन्, जहाँ शैव परम्पराअनुसार शिवजी विष सेवनपछि त्रिशूल रोपेर त्यही कुण्डमा शयन गरेको धार्मिक विश्वास छ र आज पनि दहमा शङ्करको        शयनावस्था देख्न सकिन्छ भन्ने मान्यता छ ।
  • ऋषितर्पणीका दिन संसारभरका देवीदेवता गोसाइँथान आउने र स्नान तथा पूजा गरेमा सबैको दर्शन हुने धार्मिक मान्यता छ ।
  • गङ्गादशहरा र जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा १० हजार भक्तजनको भिड लाग्छ र अब तीर्थयात्रा मात्र नभई हिमशृङ्खला हेर्न तथा पदयात्राका रूपमा पनि धेरै पर्यटक आउने गरेका छन् ।
  • गोसाइँकुण्ड यात्राको परम्पराअनुसार घरका कुलदेवतासँग बिदा मागी, उत्तरगयाधाममा केश मुण्डन गरी गङ्गापूजा गरेर, ‘ॐ नमः शिवाय’ जप्दै लौरीविनायक पर्वत आरोहण गरी लौरी चढाउने धार्मिक अभ्यास रहिआएको छ ।
  • काठमाडौँदेखि धुन्चेसम्मको यातायात र त्यसपछि दुई दिनको पैदल यात्राबाट अहिले सहजै गोसाइँकुण्ड पुग्न सकिने भए पनि लौरीविनायकभन्दा माथि वनस्पति नभएको र लेक लाग्ने सम्भावना हुने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

धुन्चे । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड स्नान गर्ने हजारौँ भक्तजन नीलाद्री पर्वत पुग्ने अनुमान गरिएको छ । समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनैपूर्णिमामा मेला लाग्ने गरेको छ । यस वर्ष कुण्डमा लाग्ने जनैपूर्णिमाको मेला शनिबारदेखि सुरु भई साउन २४ गते जनैपूर्णिमासम्म हुनेछ । गोसाइँथानमा मेला भर्न मंगलबार नागपञ्चमीका दिनदेखि तीर्थयात्रीको आवतजावत बाक्लिएको छ ।

संसारका देवीदेवताले जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा बास लिने र सो दिन कुण्डमा स्नान गर्नाले सबै देवताको दर्शन पाइने धार्मिक मान्यता रहेको समाजसेवी दावाफिन्जो तामाङले बताउनुभयो । पुराणमा वर्णन भएअनुसार सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकुट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई शान्त बनाउन पत्नी पार्वतीको माइत हिमालयतर्फ लागेको तथा पहिले बेत्रावती र पछि नीलाद्री पर्वतमा त्रिशूल गाडी पानी पिएको भन्ने किंवदन्ती रहेको छ । त्यतिले पनि शान्त नभएपछि उनी त्रिशूल रोपिएको तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेको भन्ने उल्लेख छ । कुण्डमा अझै पनि शिव सुतिरहेको अवस्थामा देख्न सकिने विश्वास तीर्थयात्रीले गर्ने गरेका छन् । गोसाइँबाबाको दर्शनबाट मनोकाङ्क्षा पूरा हुने भएकाले जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड पुग्नैपर्ने बताइन्छ । नेपाल-अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धि नेपालको हितमा नभएको भन्दै छट्पटिन पुगेका अमरसिंह थापाले गोसाइँस्थानमा देह त्याग गरेकोसमेत इतिहासमा उल्लेख छ । कुण्डको दक्षिणतर्फ अप्ठ्यारो भिरमा अझै पनि सिंहले आश्रय लिएको गुफा रहेको धैबुङका पुरोहित टंकप्रसाद ढकालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो ।

वर्षको दुईपटक गंगादशहरा र जनैपूर्णिमामा कुण्डमा लाग्ने मेलामा भक्तजनको भिड हुने गरेको छ । यो मेलामा १० हजारभन्दा धेरै भक्तजन आउने गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । विगत केही वर्षदेखि कुण्डको अवलोकन गर्न धार्मिक लाभको लागि भन्दा पनि पदयात्रा र हिमशृङ्खलाको दृश्यावलोकन गर्न बाह्रै महिना पदयात्री आउने गरेको स्थानीय होटेल व्यवसायी सुब्बा लामाले बताउनुभयो । गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोगव्याधी हट्ने र घरपरिवारमा सुख, शान्ति बढ्ने विश्वासमा तीर्थयात्री आउने गरेको पण्डित टंकप्रसाद ढकालले बताउनुभयो । गोसाइँकुण्डमा स्नानपछि भगवान् शङ्करको पूजा र वरदान माग्न कुण्डबाट अलिकति माथि नीलाद्री पर्वत पुग्ने परम्परा रहेकोसमेत उहाँले बताउनुभयो । जनैपूर्णिमाका दिन संसारमा विराजमान हुँदै आउनुभएका विभिन्न स्थानका देवीदेवता गोसाइँथान पुग्ने र पूर्णिमाको दिन कुण्डमा पूजा गर्दा सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता छ ।

विगतमा गोसाइँथान पुगी घर फर्कन ६ महिनासम्म लाग्ने गरेकामा अहिले यातायातको सुविधाले गर्दा काठमाडौँदेखि धुन्चेसम्म बस र धुन्चेबाट दुई दिनको पैदल यात्रापछि गोसाइँकुण्डमा सहज रूपले पुग्न सकिने सुविधा रहेको छ । काठमाडौँ सुन्दरीजलको अर्काे बाटो तथा नुवाकोटकै समुद्रटार हुँदै घ्याङ्फेदीबाट गोसाइँकुण्ड जाने बाटो सञ्चालनमा रहेको छ । गोसाइँकुण्डको यात्रा गर्नुपूर्व घरका कुलदेवतासँग बिदा माग्ने र बेत्रावतीको उत्तरगयाधाममा केश मुण्डन गरी गंगापूजा गरेर साथीहरूका साथ ॐ नमो शिवायः जप्दै सुलाद्री पर्वत (लौरीबिना) आरोहण गरी लौरीसमेत चढाउनुपर्ने मान्यता रहेको पण्डित ढकालले बताउनुभयो । काठमाडौँबाट मोटरमा हिँडेपछि धैबुङको दहीचिउरा र धुन्चेको बासले सबै यात्रुमा उत्साह छाउने गर्छ । धुन्चेबाट हिँडेपछि मनोरम दृश्यले थप रमाइलो हुने चन्दनबारीका होटेल व्यवसायी पासाङघ्युर्मी तामाङले बताउनुभयो । लौरीविनायकभन्दा माथि वनस्पति नभएका कारण लेक लाग्ने भएकाले ग्लुकोज पानी प्रशस्त पिउने, चिकित्सकको परामर्शअनुसार औषधिलगायत अदुवा, लसुन, कागती सेवन गर्दै जाँदा सहज रूपले पुग्न सकिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने