+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी-केरुङ जोड्ने बेलिब्रिज भदौभित्र निर्माण सक्ने लक्ष्य

रसुवागढी-केरुङ जोड्ने बेलिब्रिज भदौभित्र निर्माण सक्ने लक्ष्य
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औँ बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

धुन्चे । गत असार २४ को बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध भएको रसुवागढी-केरुङ नाका जोड्न ल्हेन्दे खोलामा आइतबारबाट बेलिब्रिज निर्माणको औपचारिक कार्य प्रारम्भ गरेको छ । तिब्बतदेखि आएको बाढीले भोटेकोशीको सहायक नदी ल्हेन्देको मितेरी (सीमापुल) बगाएको थियो ।

नेपाल सरकारले स्वीकृति दिएसँगै चीन पक्षले आइतबारबाट निर्माणको काम थाल्ने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । ‘तिब्बततर्फ यसअघि नै साइट क्लियरेन्सको काम भइरहेको थियो । आइतबारबाट औपचारिक रूपमा निर्माणको काम थालेको छ,’ पौडेलले भन्नुभयो, ‘१५ सेप्टेम्बर (३० भदौ) भित्र निर्माण सक्ने लक्ष्य छ ।’ बाढीले पुल बगाउँदा नाका अवरुद्ध भएपछि नेपाल सरकारले पुल निर्माण र नाका जोड्ने सडक पुनर्निर्माणका लागि चीनसँग आग्रह गरेको थियो । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएपछि नेपाल र चीनबिच बेलिब्रिज बनाउने समझदारी भएको थियो । चीनले हाललाई बेलिब्रिज बनाउन लागेको हो ।शनिबार मात्र रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबिच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको थियो । बैठकमा उद्धार, राहत एवम् पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको उहाँले बताउनुभयो । ‘बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्न स्थानीय प्रशासनबाट उपयुक्त कार्यवातावरण निर्माण गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ पौडेलले भन्नुभयो ।

बेलिब्रिज सञ्चालनमा आउँदासम्म स्याफ्रुबेँसी-रसुवागढी सडक पनि चौडा बनाइसक्ने गरी तयारी अघि बढेको छ । भोटोकोशी नदीको सहायक ल्हेन्दे खोलामा असार २४ मा आएको बाढीले मितेरी पुल बगाएको थियो । त्यसयता दुई देशबिचको आयात-निर्यात ठप्प छ । स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड पनि क्षतिग्रस्त छ । करिब दुई सातापछि एकतर्फी रूपमा साना सवारीसाधन मात्र चल्न सक्ने गरी सडक मर्मत सुधार गरिएको हो । चाडबाडकेन्द्रित व्यापारलाई दृष्टिगत गरी नेपाल सरकारले चीन सरकारलाई तत्काल अस्थायी बेलिब्रिज बनाइदिन आग्रह गरेको थियो । त्यहीअनुसार बेलिब्रिज निर्माणका लागि चीनले तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउनुहुन्छ । ‘दसैँअघिसम्म बेलिब्रिज बनिसक्नेछ,’ उहाँ भन्नुहुन्छ, ‘अहिले पुल निर्माण गर्ने ठाउँमा सफाइको काम सुरु गरिएको छ, जमिनको प्राविधिक अध्ययनपछि पहिलाको मितेरी पुलभन्दा केही वरपर बेलिब्रिज निर्माण हुनेछ ।’ बेलिब्रिज अस्थायी रूपमा मात्र रहने र पछि पक्की पुल पुरानै स्थानमा बनाइने शर्माको भनाइ छ । बेलिब्रिज राख्दै गर्दा पक्की पुल निर्माणका लागि पनि चिनियाँ पक्षले डिजाइनको काम अघि बढाउने सहमति भएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार उक्त नाका भएर दिनको सय हाराहारीमा मालवाहक सवारीसाधन ओहोरदोहोर गर्थे । बाढीपछि भने भन्सार कार्यालय सुनसान छ । टिमुरेमा रहेको भन्सार यार्ड बाढीले बगाएको छ । त्यहाँ रहेका ६८ वटा सवारीसाधन बाढीले बगाएको थियो । यस खण्डको सडक सुधारको काम चीनले गर्ने गरी सन् २०१९ मै ठेक्का भएको थियो । नेपाल र चीन दुवै पक्षबाट सडक निर्माणमा के-कति लागत लाग्छ भनेर मूल्याङ्कन गर्ने काम भइरहेको शर्माले बताउनुभयो । ‘पछि दुई लेनको सडक चीनले बनाउनेछ,’ उहाँले भन्नुभयो, ‘अहिले चाडबाडलाई लक्ष्य गरेर नेपाल-चीन मिलेर सडक बनाउँछौँ ।’ चाडबाडअगावै बेलिब्रिज निर्माण सकेर चीनबाट सामान ल्याउने वातावरण बनाउन सम्बन्धित मन्त्रालय र निकायबिच समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत बताउनुहुन्छ । भन्सार यार्डमा भएको डुबानलगायत विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिले क्षति मूल्याङ्कन गरी सरसफाइको काममा नेतृत्व गरिरहेको छ ।

बेलिब्रिज निर्माणका लागि चीनले काम अघि बढाइसकेको र सडक चौडा पार्ने काम पनि छिट्टै सुरु हुने सडक विभागका महानिर्देशक विजय जैसी बताउनुहुन्छ  । ‘चीन सरकारको अनुदानमा स्याफ्रुबेँसी-रसुवागढी खण्डको १६ किलोमिटर सडक दुईलेन बन्दै छ,’ उहाँ भन्नुहुन्छ, ‘बाढीपहिरोले क्षति गरेको खण्डमा चीनले काम गर्ने बताइसकेकाले त्यहीअनुसार अघि बढ्छौँ ।’ रसुवामा बाढीले क्षति पु¥याएको भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबिच गत हप्ता भेटवार्ता भइसकेको छ । उक्त भेटवार्ताका क्रममा सियाओदोङले भौतिक संरचना पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।

यो नाकाबाट नेपाल र चीनबिच वार्षिक सवा तीन खर्बको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ६३ करोड रुपैयाँको भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाल-चीनबिच सबैभन्दा बढी आयात-निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी-केरुङ हो । गत आर्थिक वर्ष ०८१/८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँको आयात भएको छ । जुन कुल आयातको ४.७२ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाख रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको ०.७४ प्रतिशत हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह