+
Search

ताजा अपडेट +

पपुलर +

गाउँमा कामदार अभाव, सहरमा कामविना हैरान

गाउँमा कामदार अभाव, सहरमा कामविना हैरान
अनुसा थापा
१ हप्ता अगाडी

– गाउँमा खेतालालाई राम्रो पारिश्रमिक दिइए पनि कामदार भेटिँदैनन्, गाउँलेहरू खेतबारी, पशुपालन र घरेलु उत्पादनबाट सस्तो, स्वावलम्बी र स्वस्थकर जीवन जिउँछन् ।
– सहरमा न्यून तलबमा काम गरेर पनि कोठाभाडा, यातायात, शिक्षा र पानीजस्ता आधारभूत आवश्यकतामा धेरै खर्च हुन्छ, ऋणका भरमा जीवन धानिएको छ ।
– गाउँमा पाहुनालाई आदर, खान र बास दिने संस्कृति अझै बाँकी छ; सहरमा आफन्तसँग पनि औपचारिकता बढी छ ।
– सहरमा कामदारले महिनौँ काम गरेपछि पनि तलब नपाउने समस्या छ, जबकि गाउँमा काम सुरू गर्नुअघि नै पैसा दिइन्छ, कानुनी समानता व्यवहारमा कार्यान्वयन नभएको देखिन्छ ।
– भूमाफियाले खेतीयोग्य जमिन प्लटिङ गरी बिक्री गरेका छन् । देशमा श्रम गर्न लाज मानिने, तर विदेशमा जुनसुकै काम गर्न तयार हुने प्रवृत्तिले गम्भीर सामाजिक असन्तुलन ल्याएको छ ।

गाउँमा श्रमिकको अभाव छ, यद्यपि कामको पारिश्रमिक बढेको छ । महिलाले दिनको रु.१,०००-१,२०० र पुरुषले रु.१,५०० पाउँछन् । खेतालाले न यात्रा खर्च तिर्नुपर्छ, न कोठाभाडा । अन्न, तरकारी आफ्नै बारीमा उत्पादन हुन्छ । उनीहरूको जीवन मिहिनेतमा आधारित छ, जसले स्वास्थ्य राम्रो बनाउँछ । गाउँले जीवन सरल, सस्तो र आत्मनिर्भर देखिन्छ ।

सहरमा चाहिँ काम पाउन मुस्किल छ र पाएको काममा पनि तलब थोरै, खर्च बढी छ । कमाइले खान त पुग्दैन, बचाउने कुरै नगरौँ । घरभाडा, स्कुल शुल्क, यातायात, औषधि-उपचार र खानेपानी किन्नुपर्ने बाध्यता हुन्छ । सहरका धेरैले बैंकबाट ऋण लिएर गाडी, घर खरिद गरेका छन्, तर वास्तविक जीवन सङ्घर्षपूर्ण छ । कोठाभाडा तिर्न नसक्ने, तलब समयमा नपाउने समस्याले सहरिया श्रमिकको जीवन कष्टकर बनाएको छ । गाउँमा अझै मानवीयता बाँकी छ, जहाँ नचिनेका पाहुनालाई पनि बास र खाना दिइन्छ । तर, सहरमा आफ्ना आफन्तलाई समेत सत्कार नदिने प्रवृत्ति हाबी छ । सहरमा सामाजिक सम्बन्ध कमजोर भएका छन् । शिक्षा र कानुनमा समानता भए पनि व्यावहारिक रूपमा विभेद देखिन्छ । कानुनले सबैलाई समान अधिकार दिएको भए पनि सहरमा श्रमशोषण अधिक छ । गाउँमा काम सुरु गर्नुअघि पारिश्रमिक दिइन्छ, तर सहरमा महिना मरेपछि पनि तलब पाउन गाह्रो छ ।

भूमिको व्यापार र वैदेशिक पलायन समाजको समस्या बनेको छ । जमिन टुक्राएर प्लटिङ गर्नाले खेतीयोग्य भूमि नष्ट हुँदै गएको छ । खेती गर्न लाज लाग्नेहरूले विदेशमा कठोर श्रम गर्न लाज मान्दैनन् । सरकार ऋणमा निर्भर छ, र जनता विदेश जान बाध्य छन् । निष्कर्षमा गाउँ आत्मनिर्भर, स्वस्थप्रद र श्रम सम्मानित जीवन जिउँछ भने सहरमा कृत्रिम जीवनशैली, ऋणको भार, सामाजिक टुटफुट र श्रमशोषण व्याप्त छ । गाउँ फर्कने सोचको आवश्यकता लेखमार्फत स्पष्ट पार्न खोजेको छु ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अनुसा थापा