Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

निकुञ्ज संरक्षणमा स्थानीयको सहभागिता बढ्दै

फुटसलको ट्रफी श्रीनाथ गणलाई

निकुञ्ज संरक्षणमा स्थानीयको सहभागिता बढ्दै
ज्ञानेन्द्र न्यौपाने
१३ घण्टा अगाडी

धुन्चे । हिमाली क्षेत्रको वनजङ्गल संरक्षणलाई थप प्रभावकारी बनाउन जनचेतनाका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु सप्ताह कार्यक्रम गत महिना सम्पन्न गरेको छ । ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु, समृद्धि जैविक विविधता सेतु’ भन्ने मूल नाराका साथ ३१औँ वन्यजन्तु संरक्षण सप्ताह कार्यक्रमअन्तर्गत जनचेतनामूलक र्‍याली तथा प्रवचन र जङ्गलको अवलोकनसमेतका विविध जनचेतनामूलक कार्यक्रम धुन्चेमा सम्पन्न भएको छ ।

वर्षभरि नै वनजङ्गलको संरक्षणमा निरन्तर ध्यान पुगोस् भन्ने उद्देश्यले नयाँ वर्ष २०८३ को बिहानीसँगै सुरु गरिएको सप्ताहव्यापी चेतनामूलक कार्यक्रम वन, वन्यजन्तु तथा समग्र जैविक विविधता संरक्षणको महत्त्व, वन, वनस्पति र मानवप्रति गरिने सम्बन्धलगायतका विषयमा जागरणसमेत गराइएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संरक्षण अभियन्ता, स्थानीय बासिन्दा, विभिन्न सङ्घ-संस्था, निकुञ्ज कर्मचारी तथा वन्यजन्तु सुरक्षामा अहोरात्र खटिने नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो । संरक्षण सन्देश प्रवाहलाई प्रभावकारी बनाउन फुटसल प्रतियोगिता, अन्तरक्रिया, जनचेतना कार्यक्रम तथा अवलोकनसमेतका कार्य सञ्चालन गरिएको थियो ।

कार्यक्रममार्फत जङ्गल क्षेत्रमा प्रवेश गर्दा निकुञ्जको अनुमति अनिवार्य लिनुपर्ने, वनस्पति काट्न वा नास्न नपाइने, वन-वनस्पति नासे-मासेमा त्यसबाट हुने असरको चेतना अभिवृद्धि गराउँदै समग्र जैविक विविधताको संरक्षण, वन्यजन्तुप्रति सकारात्मक व्यवहार अपनाउने तथा साथी लिएर मात्र जङ्गल प्रवेश गर्ने संस्कार विकासमा टेवा पुगेको निकुञ्ज प्रशासनले दाबी गरेको छ । वन पैदावार सङ्कलनका लागि अनुमति लिने र जङ्गल प्रवेश गर्दा एक्लै नजानसमेत जानकारी गराइएको छ । कार्यक्रम अवधिभर वनस्पति, जैविक विविधता संरक्षणमा जनसहभागिता र चुनौतीबारे समेत गहन छलफल गरिएको निकुञ्जले जनाएको छ ।

सप्ताहको अवसरमा निकुञ्ज कार्यालयको आयोजनामा भएको फुटसल प्रतियोगितामा जिल्लाको सुरक्षामा तैनाथ नेपाली सेना श्रीनाथ गण पहिलो भई ट्रफी जितेको छ । ३१औँँ वन्यजन्तु सप्ताह वैशाख १ गते मंगलबार सुरु भई आइतबार सम्पन्न भएको हो । वन्यजन्तु संरक्षण कप फुटसल खेल प्रतियोगितामा फुटसल अघिल्लो आइतबार र शनिबार भएको थियो । नौ टिमले भाग लिएको प्रतियोगितामा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय दोस्रो भएको थियो । बर्सेनि मनाउँदै आएको संरक्षण अभियानले जनचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई दिन भएको खेलमा सबैभन्दा धेरै २६ गोल गर्ने लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी सक्षम बुढा थापालाई उत्कृष्ट खेलाडी घोषणा गरी सम्मान गरिएको थियो । पहिलो र दोस्रो हुने टिमलाई प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले ट्रफीसहित प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले समुदायको सहभागिता बढ्दै जाँदा संरक्षण अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । निकुञ्ज स्थापनापश्चात् सुरक्षाका लागि प्रारम्भमा सबैभन्दा सानो टुकडी सैनिक टोलीबाट सुरु भएको सैनिक सुरक्षा व्यवस्था हाल प्रमुख सेनानीको कमान्डमा गुणस्तरीय सुरक्षा व्यवस्थामा विस्तार भएकाले निकुञ्ज संरक्षणलाई थप मजबुत बनाएको नागरिक समाज रसुवामा अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लासम्म फैलिएको निकुञ्ज क्षेत्रमा पछिल्लो समय सुरक्षा र संरक्षण गतिविधि प्रभावकारी बन्दै गएको गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।

नेपालमा निकुञ्ज संरक्षणको इतिहास
नेपालमा वन्यजन्तु संरक्षणको औपचारिक सुरुवात सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापनाबाट भएको हो । दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ संरक्षणका लागि स्थापना गरिएको उक्त निकुञ्जले नेपाललाई विश्व संरक्षण नक्सामा स्थापित गराउन सफल भएको लाङटाङ राष्ट्रिय निकुञ्जका रेञ्जर केशव ढोडारीले जानकारी दिनुभयो । संरक्षणलाई बलियो र दिगो बनाउन क्रमशः सगरमाथा क्षेत्रको हिमाली भेगको जैविक विविधता संरक्षणका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिम नेपालको तराई पारिस्थितिक प्रणाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यपहाडी जैविक विविधता संरक्षणका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागू गरेपछि संरक्षित क्षेत्र व्यवस्थापन व्यवस्थित हुँदै गएको छ । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र तथा दुई वन्यजन्तु सिकार आरक्षसमेतका संरचना तयार गरी विस्तारित संरक्षित क्षेत्र प्रणाली सञ्चालनमा रहेको छ ।

समुदायकेन्द्रित संरक्षणमा जोड
धुन्चेमा सम्पन्न संरक्षण सप्ताहले संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई समुदायको सहभागिताविना सम्भव नहुने सन्देश दिएको सहभागीले बताएका छन् । लाङटाङ निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका जिल्ला अध्यक्ष उत्तम थापाले भन्नुभयो, ‘संरक्षणबारे प्रचारप्रसारमा जोड दिई जनसहभागितामूलक तवरले अगाडि बढिरहेका छौँ ।’ स्थानीयस्तरमा बढ्दो जनसहभागिताले वन्यजन्तु संरक्षण, पर्यटन प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत उहाँले गर्नुभयो । संरक्षण सप्ताहले नागरिक चेतनामा सकारात्मक परिवर्तन ल्याउँदै संरक्षणमैत्री व्यवहार विकासतर्फ महत्त्वपूर्ण काम गरेको निकुञ्जका संरक्षण अधिकृत (कार्यालय प्रमुख) साहले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने