धुन्चे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको धुन्चेमा शनिबार सम्पन्न कार्यकर्ता तथा शुभेच्छुकको भेलाले तदर्थ समिति गठन गरेको छ । समितिको सभापतिमा वसन्त भट्ट सर्वसम्मत चयन हुनुभएको छ । भट्ट फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट रास्वपाको उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बन्नुभएका भट्टले पाँच हजार पाँच सय ७१ मत प्राप्त गर्नुभएको थियो । रसुवाबाट नेपाली काङ्ग्रेसका मोहन आचार्य १० हजार ६ सय ५६ मत प्राप्त गरेर विजय हुनुभएको थियो ।

समितिका उपसभापतिमा दावा लामा, सचिवमा रवीन्द्र लोप्चन, सहसचिवमा रवीन्द्र तामाङ र सदस्यमा निर्मल घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले, कृष्णबहादुर लो रहेका छन् । भेलाले निर्वाचन समिति संयोजकमा स्वस्तिका लामिछाने, सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी चयन भएका छन् । रास्वपाको गत वर्ष भएको भेलाले चयन गरेको तदर्थ समिति पूर्णता नपाउँदै भङ्ग भएको छ । तत्कालीन समितिका सभापति मानबहादुर तामाङ उज्यालो पार्टीमा प्रवेश गरेपछि तदर्थ समिति भङ्ग गरी नयाँ समिति चयन गरेको र छिट्टै जिल्ला अधिवेशन हुने बताइएको छ ।







प्रतिक्रिया