Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

छहरे-टोखा सुरूङमार्ग निर्माण र गाँजाखेतीलाई वैधानिक गर्न सांसद डा.लामिछानेको माग

छहरे-टोखा सुरूङमार्ग निर्माण र गाँजाखेतीलाई वैधानिक गर्न सांसद डा.लामिछानेको माग
त्रिशूली प्रवाह
६ घण्टा अगाडी

विदुर । झन्डै डेढ दशकदेखि बहुचर्चित र बहुप्रतीक्षित छहरे-टोखा सुरुङमार्गको निर्माण कार्य तत्कालै सुरू गर्न र गाजाखेतीलाई विना कुनै रोकतोक वैधानिक रूपमा खुला गर्नुपर्ने माग नुवाकोट-२ बाट निर्वाचित सांसद डा.अचुत्तम लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसमक्षम राख्नुभएको छ ।

देशको आर्थिक विकास र परिवर्तनमा महत्त्वपूर्ण रहेको छहरे–टोखा सुरूङमार्ग तत्काल सुरु गर्न प्रधानमन्त्रीसँगको भेटका अवसरमा अघिल्लो हप्ता सो माग उहाँले राख्नुभएको थियो । भेटको क्रममा डा.लामिछानेले नुवाकोटसहित आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अघिल्लो सोमबार बागमती प्रदेशका प्रतिनिधिसभा सदस्यसँग भएको अन्तरक्रियाका क्रममा सांसद डा.लामिछानेले पूर्वाधार विकाससहित १२ प्रकारका योजना प्रस्तुत गर्दै यसबाटै देश परिवर्तन हुने बताउनुभएको छ । नुवाकोटको मात्रै नभई रसुवा र समग्र देशकै परिवर्तनमा टोखा-छहरे सुरूङमार्ग महत्त्वपूर्ण हुने भएकाले यसै वर्षबाट निर्माण सुरु गरिनुपर्ने माग उहाँले राख्नुभएको थियो । एक दशकदेखि जीर्ण रहेको नुवाकोटको पर्यटकीय तथा ट्राउट हाइवेको रूपमा परिचित पासाङल्हामु सडकमार्गअन्तर्गत रानीपौवादेखि पिपलटारसम्मको बाँकी खण्ड तुरुन्त पुनर्निर्माण तथा मर्मत कार्य सुरु गर्नुपर्नेलगायतका मागसमेत राख्नुभएको थियो ।

सांसद लामिछानेले गाँजाखेतीलाई विना कुनै रोकतोक वैधानिक रूपमा खुला गर्नुपर्ने माग राख्नुभएको छ । उहाँले प्रधानमन्त्रीसँग भन्नुभयो, ‘जुनसुकै खालको नीति-नियम बनाएर होस् गाँजाखेतीलाई जति सक्दो छिटो कानुनी वैधता दिँदै उत्पादन र आयस्रोतमूलक बनाई अगाडि बढ्नुपर्छ । विदुर-म्यागङ-किस्पाङ-खनियाँबास हुँदै धादिङ जोड्ने सडकको कृषि उत्पादन र बजारीकरणमा प्रमुख भूमिका रहेको हुँदा यसलाई तुरुन्त बजेटको विनियोजन गरी काम सुरु गर्न, तीनपिप्ले-कोल्पुटार सडक तत्कालीन अवस्थामा काठमाडौँ महानगरको मेयर रहँदामै प्रधानमन्त्री शाहले गर्नुभएको वाचानुरूप त्यसलाई अविलम्ब सुरु गरिनुपर्नेसमेत उहाँको माग छ । नुवाकोटको देवीघाट जलविद्युत् केन्द्र जाने त्रिशूली नदीको सिँचाइ पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेकोले यसलाई अविलम्ब बजेट विनियोजन गरी ममृत तथा पुनर्निर्माण गरिनुपर्ने, अबको बजेट देशैभरि आवश्यकता उपलब्धि र जनताले भोग्नुपरेको पिरमर्काको आधारमा समन्वायिक वितरण गरिनुपर्ने मागसमेत राख्नुभएको छ । उहाँले नुवाकोटमा वर्षौँदेखि थाँती रहेका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपत् व्यवस्थापनसँग सम्बन्धित कार्य सञ्चालन गर्नसमेत माग गर्नुभयो । जनताको आवश्यकताअनुसारका सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्न उहाँले जोड दिनुभएको छ ।

शिक्षातर्फ प्राविधिक शिक्षालाई पनि हाल चलिरहेको औपचारिक शिक्षा बराबर समकक्षता प्राप्त गरिनुपर्ने र प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने र आइटी फ्रेन्ड्ली हुनुपर्ने, स्वास्थ्यमा भइरहेको औषधिको व्यापारमा बिचौलियाको रजगजलाई नियन्त्रण गर्नुपर्ने, बिमालाई चुस्त बनाउनुपर्ने र सर्वसाधारण जनताले अहिले पनि सरकारी अस्पतालमा अप्रेसनमा भनसुन र बेड पाउनसमेत भनसुन गर्नुपर्ने अवस्थाको तुरुन्त समाधान हुनुपर्ने माग राख्नुभएको छ । प्रशासनिकतर्फ राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलाई व्यवस्थित रूपमा सहज र सर्वसुलभ बनाएर वितरण गर्नुपर्ने र हरेक जिल्लामा सवारीचालक अनुमतिपत्र जिल्लामै दिने व्यवस्था मिलाइदिनसमेत उहाँले माग गर्नुभएको छ ।

शिक्षा क्षेत्रमा अहिले थप गरिएको बिदालाई प्रभावकारी तरिकाले सहभागितामूलक र प्राविधिक रूपमा विद्यार्थीलाई घरमा बसेर बिदा मनाउने बानी नगरी समग्र अलग/अलग स्थानमा वृक्षारोपण होस् अथवा अन्य सहभागितामूलक क्रियाकलापमा अगाडि बढाउन ध्यान दिइनुपर्ने सुझाव दिनुभयो । उहाँले आमनागरिकलाई सुरक्षाको अनुभूति हुने गरी तुरुन्त प्रशासनिक सेवालाई चुस्त-दुरुस्त बनाएर आमजनतामा विश्वास भर्नुपर्ने र काठमाडौँको नयाँ बसपार्क गोंगबु-बालाजुजस्ता क्षेत्रमा भइरहेका विभिन्न अवान्छित गतिविधिलाई तुरुन्त रोक्नुपर्ने माग राख्नुभएको छ । प्रकृति प्रकोपतर्फ वर्षायाम भित्रिएकोले सडक दुर्घटना बाढी-पहिरोबाट हुने क्षति र यातायातलाई चुस्तदुरुस्त बनाउन समयमै डिजास्टर म्यानेजमेन्टमा ध्यान दिई तयारी अवस्थामा रहनुपर्ने, कृषितर्फ बर्खायाम नजिक आइसकेकोले कृषकले पाउनुपर्ने रासायनिक मल, उन्नत बिउबिजन सुव्यवस्थित र समयमै पाउने गरी तत्काल तयारी अवस्थामा रहनुपर्ने र शीत भण्डारको व्यवस्था गर्नुपर्ने मागसमेत राख्नुभयो । विदेशबाट आयात गरिराखिएको कृषिजन्य उत्पादन तरकारीमा कडा निगरानी र गुणस्तरको परिक्षण गर्नुपर्ने र यसबाट नेपालमै उत्पादित तरकारीजन्य विभिन्न वस्तुको बजारीकरणमा र मूल्यमा सहजता हुने उहाँले बताउनुभयो ।

सांसद लामिछानेले प्रधानमन्त्रीसँग भन्नुभयो, ‘उद्योगतर्फ पुराना जीर्ण उद्योग कति सकिन्छ दुई-तीनवटा यसै वर्षबाट सञ्चालन गरिनुपर्ने चाहे त्यो गोरखकाली टायर उद्योग होस्, चाहे त्यो हेटांँडा कपडा उद्योग होस्, चाहे त्यो हेटौँडा सिमेन्ट उद्योग होस् सम्भाव्यताको आधारमा तुरुन्त सञ्चालन गरिनुपर्ने निजी क्षेत्रलाई दिएर हुन्छ कि राज्यले जिम्मा लिएर हुन्छ ।’ उहाँले साना तथा मझौला उद्योगमा सहज लगानी र दर्ता सञ्चालनमा सहजता हुनुपर्ने र लगानीमैत्री बनाउनुपर्ने, खेलकुद मन्त्रालयलाई अलग गरी यसको मर्मअनुसार चलाइनुपर्ने र नेपालमै खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्ने माग राख्नुभयो । आफैँ विदेशको आफ्नो अध्ययन पूरा गरेर नेपाल आउनुको एउटा कारण नेपालमै राष्ट्रिय खेलकुद विश्वविद्यालय स्थापना गर्नु नै प्रमुख लक्ष्य हो भनेर जानकारी गराउनुभयो । उहाँले हेटौँडामा रहेको गौरीटार अथवा ललितपुरको सातदोबाटोमा रहेको खेलकुद परिसरलाई राष्ट्रिय खेलकुद विश्वविद्यालयको रूपमा अगाडि बढाउन सकिनेसमेत धारणा राख्नुभयो ।

नुवाकोटमा अझै कतिपय स्थानमा मोबाइलको नेटवर्क राम्रो नटिप्ने भएका कारण सेवाग्राही जनताका लागि सेवाको गुणस्तरीयताको वृद्धि गरिनुपर्नेसमेत बताउनुभयो । उहाँले दूरसञ्चार पहुँच विस्तारतर्फ ध्यान दिँदै सदरमुकामभन्दा टाढाको स्थानमा मोबाइल नेटवर्क विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुद विश्वविद्यालयका लागि आवश्यक जग्गा भवनको मापदण्ड अन्य कुनै ठाउँमा अथवा गौरीटार र सातदोबाटो परिसरलाई संयुक्त रूपमा जोडेर भए पनि एउटै गर्न सकिनेसमेत सुझाव दिनुभयो । सरकारी क्षेत्रबाट अब खेलकुदलाई कालो चस्मा लगाएर आफ्नो व्यक्तिगत प्रचारप्रसार गर्न रंगशालामा गएर थपडी बजाउने मात्र होइन कि कालो चस्मा खोलेर खुला आँखाले हेर्नुपर्नेसमेत जोड दिनुभयो । आफूले राखेको मागलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिँदै यसमा छुटेका र प्रस्तुत गरेका मागलाई दस्ताबेजको रूपमा लिखित गरेर स्वकीय सचिवमार्फत र निजी सचिवालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा बुझाउन निर्देशनसमेत दिनुभएको ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग कुराकानीको क्रममा उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह