पञ्चकन्या । नुवाकोट जिल्लाका प्रमुख देवस्थलमध्येको कपिलेश्वर महादेव मन्दिरको पुजारीको जिम्मेवारी कलाधार कट्टेलले पाउनुभएको छ । पुजारी खोपप्रसाद पण्डित शारीरिक रूपमा अशक्त भएपछि उहाँकै सहयोगीका रूपमा पूजा आराधना गर्दै आउनुभएका कट्टेललाई निरन्तरता दिइएको हो ।
कपिलेश्वर महादेवस्थान परिसर संरक्षण तथा उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र महतले तिन दशकअघिदेखि पूजा गर्दै आउनुभएका पण्डितले दैनिक पूजाआरती गर्न नसक्ने भएकाले स्थानीयवासीसँगको सरसल्लाहमा उहाँका सहयोगीलाई जिम्मा दिएको हो । साबिक कबिलास-३, हाल पञ्चकन्या-२ छापथोक स्थायी निवासी कट्टेललाई समितिले पुजारीमा निरन्तरता दिने निर्णय गरेको उपाध्यक्ष वासुदेव मिश्रले बताउनुभयो । गुठी संस्थानबाट मालपोत कार्यालयमार्पmत मन्दिरको पुजारीको खान्कीसमेत आव.२०८२/०८३ साउनदेखि समितिका सिफारिसमा कट्टेलले पाउनुहुनेछ ।
समुद्रमन्थनपछि कालकूट विष पिएका शङ्कर उत्तरापन्थ लागेको र ऋषिमुनिहरूले पछ्याउँदै गएकामा कपिलमुनि कविलासमा आएपछि अगाडि जान नसकी त्यहीँ बसे र शिवले ज्योतिर्लिङ्गमार्फत उनलाई दर्शन दिएको र मुनिले त्यहीँ तीर्थ स्थापना गरे । त्यसैले यसलाई कपिलेश्वर महादेव भन्न थालिएको बताइन्छ । योगी नरहरिनाथले पनि सो कुरा स्थानीयवासीलाई बताएका थिए । विसं २०४३ मा कपिलेश्वरमा रहेको मूर्ति चोरी भएकामा पछि पट्बारीमा फेला परेको र स्थानीय भक्तजनले २०४८ मा बाजागाजा गरी लगेको बताइन्छ ।
मन्दिरमा हालसम्म गोपीकान्त भेटवाल, तुलसीराम पण्डित, नवराज पण्डित र खोपप्रसाद पण्डित पुजारी रहिसक्नुभएको छ । मन्दिर परिसरमा नाट्येश्वरी, रक्षा विनायक, पातालदेवी, सिद्धि विनायक, सरस्वती, महालक्ष्मी, गलेश्वर बाबा, धर्मगुफालगायत मन्दिर छन् । यहाँ नियमित पूजाआरतीका साथसाथै नयाँ वर्ष, हरितालिका, विजयादशमी, बालाचतुर्दशी, श्रीपञ्चमी, महाशिवरात्रि, फागुपूर्णिमा र चैतेदसैँमा मा मेला लाग्ने गरेको छ । विसं २०६८ असार १ गते समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि मन्दिरको पूजापाठ, नगद तथा जिन्सी र भौतिक सम्पत्ति संरक्षण, प्रचारप्रसारका साथसाथै थप भौतिक पूर्वाधार निर्माणको काम भएको स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया