+
Search

ताजा अपडेट +

पपुलर +

हाम्रो असल अभ्यास विदेशी राजदूत, दातृ निकाय र मन्त्रालयले समेत अनुगमन गरेका छन् :

हाम्रो असल अभ्यास विदेशी राजदूत, दातृ निकाय र मन्त्रालयले समेत अनुगमन गरेका छन् :
त्रिशूली प्रवाह
२ दिन अगाडी

कुमार पाठक
प्रधानाध्यापक
इन्द्रायणी माध्यमिक विद्यालय
पञ्चकन्या-१, बानियाँटार, नुवाकोट

इन्द्रायणी स्कुलको विगत कस्तो थियो ?
नुवाकोट जिल्ला, तत्कालीन चौघडा-९ बानियाँटारका बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमीबाट शिक्षाको महत्त्व बुझी अस्थायी रूपमा विसं २०३४/०३५ तिर स्थापना गरी शिक्षाबाट वञ्चित गाउँका ससाना बालबालिकालाई शिक्षा प्रदान गर्न इन्द्रायणी विद्यालयको सुरुवात भएको पाइन्छ । अगाडि बढ्ने क्रममा २०४५ साल असोज-कात्तिकदेखि विधिवत् रूपमा स्वीकृत कोटा प्राप्त गरी सम्मडाँडा भन्ने ठाउँबाट तत्कालीन संस्थापकका नेतृत्वमा सुरु भएको र त्यसपछि त्यसै वडाको सिम्ले भन्ने ठाउँमा देउसीभैलोबाट रकम जम्मा गरी चार आना जग्गासहितको घर खरिद गरी सोही घरमा कक्षा सञ्चालन हुँदै आएकामा २०५१ सालमा बानियाँटारमाझमा जग्गा सट्टापट्टा एवम् रकमसमेत थपी आफ्नै स्वामित्वमा एक रोपनी सात आना जग्गाको व्यवस्थापन गरी २०४५ सालमा कक्षा १, २०४७ मा २, २०४९ मा ३, २०५२ मा ४, २०५५ मा ५, २०६६ मा ६, २०६७ मा ७, २०६८ मा कक्षा ८ सञ्चालन हुँदै शैक्षिक वर्ष २०७७ देखि स्थानीय अभिभावकका पहलमा आर्थिक सहयोग समिति, जनप्रतिनिधि, अभिभावक तथा विव्यसलगायतको पहल तथा अनवरत सहयोग तथा स्थानीय सरकारको माया पाएको यस विद्यालयले कृषि प्राविधिकधारअन्तर्गत बाली विज्ञान विषयमा कक्षा ९ सञ्चालन अनुमति पाई शैक्षिक वर्ष २०७८ देखि थप विस्तार गरेर १० र २०७९ देखि कक्षा ११ सञ्चालन भएको र २०७८ देखि शिक्षा मन्त्रालयबाट स्थानीय जनप्रतिनिधिलगायत सबैका पहलमा प्राविधिक धारतर्फ स्वीकृत भई आएको छ ।

हाल विद्यालयको अवस्था के-कस्तो छ ?
कुल भवन पाँच छन् जसमा कोठा १८ र शौचालय तीनवटा छन् । कृषि टनेल लगभग चार रोपनी छ । पुस्तकालय, आइसिटी ल्याब, कृषि ल्याब र विज्ञान प्रयोगशाला एक-एक छन् । भान्सा घर एउटा छ । विपन्नलक्षित छात्रवृत्ति, नियमित छात्रवृत्ति र अक्षयकोष छात्रवृत्तिको व्यवस्थापन गरिएको छ । विद्यालयले आफ्नै प्रयासमा दिवाखाजालाई घरमै र विद्यालयको आफ्नै टनेलमा उत्पादन भएको सामग्रीसँग जोडेका हुनाले दिवाखाजा रकम बचत भएको छ जुन स्वस्थबद्र्धक पनि छ । विद्यार्थीमा आयआर्जन तथा केही गरौँ भन्ने भावना विकास भएको छ । तोकिएको कक्षाकोठाअन्तर्गत हरेक विषयको छुट्टै कक्षाकोठाको शुभारम्भ भएको छ जसमा कक्षा ७ देखि १० सम्मका कक्षा लाभान्वित भएका छन् । कक्षागत र विषयगत सिकाइ उपलब्धि अङ्कन गरी सबै परीक्षामा पुरस्कारको व्यवस्था छ । महिनाको अन्तिम हप्ता मासिक परीक्षा तथा प्रश्नपत्र निर्माण गर्ने गरिएको छ । कमजोर विद्यार्थीलाई लक्षित गरी रेमेडियल कक्षा सञ्चालन गरिएको छ जसबाट थप सिकाइ कार्य गर्न सहयोग पुगेको छ । एकाइ परीक्षा गर्ने गरिएको छ, उत्प्रेरणात्मक, सिर्जनात्मक तथा भर्चुअल कक्षा सरोकारवाला निकायको समन्वयमा गर्ने गरिएको छ । आन्तरिक मूल्याङ्कनलाई रचनात्मक, अनिवार्य र परियोजना हप्ताका रूपमा मासिक व्यवस्था गरिएको छ । विद्यालयले समुदायलाई कृषिमा आत्मनिर्भर बनाउन निरन्तर सघाउने गरेको छ ।

स्कुलको हालको शैक्षिक, भौतिक, जनशक्तिको अवस्था कस्तो छ ? विषय विशेषज्ञ शिक्षक कति छन् ?
विद्यालयमा २०५९ सालमा महिला शिक्षिका दरबन्दी एक कट्टा भई बाँकी तीन दरबन्दी रहेको र चण्डेश्वरी प्रावि समायोजन भई २०७१ सालमा थप एक हुँदै भण्डारनीदेवी प्राविबाट एक शिक्षक प्राप्त भई हाल पाँच स्थायी दरबन्दी रहेकामा गाउँपालिकाबाट दुई दरबन्दी मिलान भई जम्मा सात प्राशि दरबन्दी रहिआएको छ । कृषि प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्यापन हुँदै आएको विद्यालयमा स्थायी, अस्थायी (करार) सङ्घको मावि अनुदान, गापाबाट प्राप्त निमावि स्वयम्सेवक, दुई इसिडीको सका, कृषि प्राविधिक विषयअन्तर्गत ल्याब सहायकसहित जम्मा नौ, निमावि र माशि शून्य दरबन्दी अङ्ग्रेजी र विज्ञान शिक्षक, तेक्वान्दो प्रशिक्षक, विद्यालय नर्स, लेखापाल र कार्यालय सहयोगी दुई गरी कुल २९ शिक्षक-कर्मचारी छन् ।

विद्यार्थीको सङ्ख्या कस्तो छ ?
हाल शैक्षिक वर्ष विसं २०८२ मा कक्षा नर्सरीदेखि १२ सम्ममा करिब तीन सय ५० विद्यार्थी छन् । कक्षा ११ मा भर्ना हुने दर निरन्तर बढ्दै छ ।

विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिको अवस्था के छ ? यसले उत्कृष्टता हासिल गर्न नसक्नुका कारण के होला ?
विद्यालयले शिक्षा विकास निर्देशनालय हेटौंडा र पञ्चकन्या गाउँपालिकाका सहयोगमा नुवाकोट जिल्लाको सामुदायिक विद्यालयतर्फ नयाँ समर्पित कक्षाकोठा चलाएका छौँ जसमा कक्षा ७ देखि माथिका विषयगत कक्षाकोठा छन् जसको प्रभावकारिता बढ्दो छ । यो विसं २०७७ देखि स्थानीय तहले प्रवद्र्धन गरी माध्यमिक तह सञ्चालन गरिएको विद्यालय हो, प्राविधिक धारमा व्यावहारिक शिक्षा प्रदान गर्दै समुदायसँग निरन्तर जोडिएर छुट्टै पहिचान बनाइएको छ । विद्यार्थीको चापका कारण विद्यालय भवन तथा कक्षाकोठा साँघुरो हुँदै छन् । कक्षाकोठा, आवासीय भवन, ल्याब तथा अन्य भौतिक संरचना थप्नुपर्नेछ । गाउँपालिकाको सहयोगमा जनशक्तिको व्यवस्थापन राम्रो छ, स्थानीय तहको शिक्षासम्बन्धी अधिकारका काम हेर्न इन्द्रायणी मावि गए हुन्छ भन्ने भाष्य भएको छ । हाम्रो विद्यालय गाउँपालिका तथा जिल्लास्तरमै निरन्तर विकासतर्फ र नतिजामा उत्कृष्टतातर्फ अग्रसर छ । वडा र गाउँपालिका कार्यालय, व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घलगायत शिक्षक, शिक्षाप्रेमी, स्थानीय अभिभावकको सक्रियता, माया, प्राथमिकता र चासो विद्यालयले प्राप्त गरी निरन्तर प्रगतितर्फ उन्मुख छ । स्थानीय तहको अपनत्व र चासो, विद्यालयको स्पष्ट लक्ष्य, अभिभावकको खबरदारी र जिम्मेवारी, व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक सङ्घको अग्रसरता र अपनत्व, शिक्षकको कडा मिहिनेत र लगाव, प्रधानाध्यापकको हरेक परिस्थितिको बुद्धिमतापूर्ण निर्णय र सबै काम मिलाएर गर्न सक्ने क्षमता, विद्यार्थीको लक्ष्य र परिश्रम नै सफलताको सूचक हो ।

विद्यालयले प्राविधिक धारतर्फ कक्षा सञ्चालन गरिरहेको छ, यसबाट विद्यार्थी, अभिभावक, स्थानीयवासी कत्तिको लाभान्वित छन् ?
विद्यालयले विश्व परिवेशलाई सुहाउँदो र देशलाई आवश्यक पर्ने मध्यमस्तरीय जनशक्ति उत्पादन कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयमा कार्यरत कृषि प्रशिक्षक र प्राविधिक विद्यार्थीले स्थानीय कृषकलाई निरन्तर सहजीकरण तथा अर्गानिक दिगो कृषि उपज उत्पादनमा सघाउने कार्य गरिरहेको छ । गत वर्ष जिल्लालगायत राजधानीमा समेत खपत हुने गरी विद्यालयले प्रवद्र्धन गरेको तरबुजा खेती स्थानीयवासीले विद्यालयसँग आधारित भएर गरिरहेका छन् । वडा नं १ कार्यालयको अनुदान र गाउँपालिकाको समन्वयमा लगभग एक लाख ९० हजार बेर्नाबाट अन्दाजी रु.दुई करोड आम्दानी कृषकलाई भएको छ । विद्यालयका अगुवाइमा समुदायले आर्थिक उपार्जन गरिरहेको छ र यसलाई विद्यालयको उत्कृष्टताको नमुनाका रूपमा लिन सकिन्छ । प्राविधिक शिक्षाको आवश्यकताले यो गाउँपालिकाको एक मात्र प्राविधिक विद्यालयका रूपमा छ । आगामी दिनमा सबैको पहुँचमा पु¥याउन विद्यालय बस, आवासको व्यवस्था, नयाँ प्राविधिक विषय थप र अझै समुदायको आवश्यकता पूरा गर्ने योजना छ ।

एसइईमा केही वर्षदेखि नतिजा सुधार भएको देखियो, यसको कारण के हो ?
गाउँपालिका कार्यालय लाँकुरीभन्ज्याङ, वडा नं १ कार्यालय बानियाँटार, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घको उचित निरन्तर अनुगमन, व्यवस्थापन, मार्गनिर्देशन, उत्प्रेरणा, विद्यालय प्रशासनलाई सहयोग, शिक्षकको निरन्तर लगाव तथा अथक परिश्रम, विद्यार्थीको लगनशीलता, अभिभावक र समुदायको सबैको चासो तथा शुभेच्छाले नै सम्भव भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै गइरहेको छ नि त ?
यस विद्यालयको कुरा गर्नुपर्दा विद्यार्थी सङ्ख्या निरन्तर बढेको देखिन्छ । अन्य भागमा बसाइँसराइ, जनसङ्ख्या कम, सामुदायिक विद्यालयमा अङ्ग्रेजी कमजोर हुन्छ भन्ने विचार, विद्यालयमा अभिभावकको चासो कम, शिक्षक दरबन्दी कम, भौतिक पूर्वाधारजस्ता कारणले केही सङ्ख्या तलमाथि भएको हुन सक्छ । केही विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या बढिरहेको छ, नतिजा पनि सुधार छ । गुणस्तरमापनमा परीक्षालाई मात्र आधार मान्दा त्यस्तो पर्न गएको हो । स्थानीय तह, समुदायको निरन्तर चासो तथा अपनत्व भएको विद्यालयमा नतिजा पनि निरन्तर राम्रो भइरहेको छ । देशमा सङ्घीयतापश्चात् सामुदायिक विद्यालयको शैक्षिक नतिजा निरन्तर बढिरहेको देखिएको छ । विद्यालयले प्राप्त गरेको विश्वास र चासोको आधारमा ती कुरा निर्भर हुन्छन् । यस विद्यालयको इतिहासलाई हेर्दा निरन्तर राम्रो नतिजा र विद्यार्थी सङ्ख्या बढिरहेको छ ।

प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो कि, घट्दो ? प्राविधिक विषय पढ्न जिल्लाबाट बाहिरिने विद्यार्थीलाई रोक्न सकिँदैन ?
देश-विदेशमा प्राविधिक जनशक्तिको माग उच्च छ । हाम्रो विद्यालयमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको छ । अझै माटो सुहाउँदो शिक्षालाई वरपरका गाउँपालिकाभरि सबैको पहुँचमा पुर्याउने लक्ष्य छ । विद्यालयमा तादी, लिखु, सूर्यगढी र पञ्चकन्या गाउँपालिका तथा कर्णाली प्रदेशको मुगुका विद्यार्थी पनि अध्ययनरत छन् । प्राविधिक धारमा सर्वसुलभ रूपमा जिल्लास्थित सबै प्राविधिक विद्यालय अध्यापन गराउन सक्षम छन् । शिक्षकदेखि पूर्वाधार सबै उत्कृष्ट छ जसमा स्थानीय तहको अग्रसरता सराहनीय छ । विद्यार्थी स्वतन्त्र छन् र रोजाइको कुरा उनीहरूको स्वेच्छिक हो । राजधानी मोह, वैदेशिक रोजगारीको तयारी तथा विद्यार्थीको चाहनाजस्ता पक्षले विद्यार्थी रोक्न सकिएको छैन । तर, निरन्तर यतै बसेर अध्ययन गर्ने विद्यार्थी सङ्ख्या बढिरहेको छ । शैक्षिक उपलब्धि, पूर्वाधार, प्रचारप्रसार, अध्ययनपश्चात् रोजगारीको सिर्जना, विश्व परिवेशसुहाउँदो शिक्षा, शिक्षामा नवप्रवर्तनजस्ता क्रियाकलापले विद्यार्थीमा आकर्षण बढाउन सकिन्छ ।

इन्द्रायणी मावि र अरू विद्यालयमा के फरक छ जसका कारण विद्यार्थीले इन्द्रायणीलाई नै रोजून् ?
इन्द्रायणी माविको कुरा गर्नुपर्दा प्रविधिमैत्री कक्षाकोठा, अङ्ग्रेजी तथा नेपाली माध्यम दुवैबाट अध्यापन, खुला सिकाइ भएको डेडिकेटेड क्लासरुम, परियोजनामा आधारित मूल्याङ्कन प्रणाली, देशविदेशमा उच्च माग भएको प्राविधिक धार (बाली विज्ञान) अध्यापन र हरेक विधामा उत्कृष्ट हुँदै गएको विद्यालयमा पर्छ । यहाँ विद्यार्थीको मनोविज्ञानलाई ध्यान दिइन्छ । हरेक महिनाको अन्तिम हप्ता परियोजना कार्यका लागि छुट्याइएको छ । कक्षा ८, एसइई तथा कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त भएको छ । फिल्डमा आधारित सिकाइ छ । उत्पादन भएको मध्यमस्तरको जनशक्ति सबैले रोजगारी वा स्वरोजगारी वा वैदेशिक रोजगारी र स्वदेश र विदेशमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेकाले यो एक सफल विद्यालयका रूपमा रहेको छ । प्रधानाध्यापकदेखि शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घदेखि जनप्रतिनिधिले आफ्ना छोराछोरी स्वेच्छिक रूपमा आफ्नै विद्यालयमा अध्ययन गराएकाले विश्वासको वातावरण सिर्जना भएको छ । जिल्लास्थित विभिन्न विद्यालय तथा देशका नाम चलेका सेन्ट जेभियर्स, वृहस्पति विद्या सदनजस्ता विद्यालय यहाँ अवलोकन भ्रमणमा आएका छन् । डेनमार्क र फिनल्यान्डका राजदूत, विश्व खाद्य कार्यक्रम, जाइकालगायत नेपालमा कार्यरत दातृ निकाय तथा शिक्षा मन्त्रालय, शिक्षा निर्देशनालयबाट विद्यालयको असल अभ्यास अनुगमन भएको छ, सायद राम्रै भएर वा असल अभ्यास भएर नै हेर्न आउनुभएको होला । सबैबाट प्राप्त सुझावले हामी उत्साहित छाँै ।

यस वर्षको कक्षा १ देखि १० सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
समुदायको आवश्यकताका आधारमा नै अध्यापन हुने यस विद्यालयका हरेक कक्षामा शैक्षिक नतिजा हासिल गर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको छ र सोअनुसार नै उत्प्रेरणात्मक क्रियाकलाप गर्ने गरिएको छ । राम्रो नतिजा आएपछि सोभन्दा माथि जाने वा राम्रो नै कायम राख्ने नैतिक दबाब छ नै । हालसम्मको नतिजामा हामी सन्तुष्ट नै छौँ । गत वर्षको वार्षिक लक्ष्यअनुसार नतिजा राम्रो देखिएको छ र निरन्तर सुधार गर्ने कार्यमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, जनप्रतिनिधि प्रयत्नशील हुनुहुन्छ । विद्यालयको प्रतिस्पर्धा भनेको आफ्नै विगतको तथ्याङ्क र प्रगतिसँग हो, अरूसँग होइन । आगामी दिनमा अझै यस्तै निरन्तर नतिजा राम्रो बनाउने दृढ सङ्कल्प छ ।

विद्यालयको खास समस्या के हो ? यसप्रति अभिभावकको साथ र सहयोग कस्तो पाउनुभएको छ ?
हालको समस्या भनेको जिल्लाको मध्यपूर्वमा प्राविधिक धार (बाली विज्ञान) पढाइ हुने एक मात्र विद्यालय भए पनि भौगोलिक कारणले सबैको पहुँच पु¥याउन सकिएको छैन । भौतिक पूर्वाधार सबै पर्याप्त छैन, थप गर्न निरन्तर प्रयत्नशील छौँ । कक्षाकोठा पर्याप्त छैनन्, थप गर्न निरन्तर प्रयत्नशील छौँ । बाली विज्ञानबाहेकका अरू प्राविधिक विषय समेट्न सकिएको छैन, थप गर्ने लक्ष्य र छ । विद्यालयमा अभिभावकको चासो र चिन्तन सराहनीय छ । यसको प्रगतिमा अभिभावकको एकदमै ठुलो साथ र सहयोग छ । समुदाय र विद्यालय मिलेर कार्य भइरहेको छ । समुदायको सक्रियताको अनुपम उदाहरण यो विद्यालय हो । यसको विकासलाई अघि बढाउन सबैले हातेमालो गर्नुपर्छ ।

यहाँहरूको आगामी लक्ष्य के छ ?
हाम्रो आगामी लक्ष्य भौतिक पूर्वाधार थप गर्ने, विश्वमै चर्चित कोडिङ र रोबोटिक्स शिक्षाको सुरुवात गर्ने, समुदायलाई कृषिमा आत्मनिर्भर हुन सघाउने, सबैको पहुँचमा पु¥याउने, आवास व्यवस्थापन गर्ने, प्राविधिक शिक्षामा थप विषय अध्यापन गराउने, गुरुयोजना तयार पारी विद्यालयलाई जिल्लाका, देशका र विदेशका विद्यार्थीको आकर्षण केन्द्र बनाउने लक्ष्य राखेका छौँ । हामीले सर्वसुलभ, गुणस्तरीय तथा प्राविधिक, व्यावसायिक शिक्षा प्रदान गर्ने एवम् प्राविधिक ज्ञान र प्रविधि दुवैको संयोजन गरी मध्यमस्तरको व्यावसायिक जनशक्ति तयार गर्ने उद्देश्य राखेका छौँ । त्यसैले ग्रामीण भेगमा चलेको यस विद्यालय ढुक्क भएर रोज्न सबैमा आग्रह गर्दछु ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह