बागेश्वरी । सूर्यगढी गाउँपालिका-१ लच्याङका तीनवटा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । यस क्षेत्रमा जिल्ला विपत् व्यवस्थापन समितिले पहिरो प्रभावितलाई वितरण गरेको पाल टाँग्ने अभ्यास श्रीनाथ गणका सैनिकले गराइरहेका छन् । सैनिकले विपत् सामग्री ढुवानीमा समेत सहयोग गरेको समितिले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार लच्याङमा १८ घरधुरी प्रत्यक्ष पहिरोको जोखिममा रहेका छन् भने एक सय २८ घर प्रभावित रहेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्रीधर घिमिरेको नेतृत्व टोलीले पहिरो जोखिम क्षेत्रको स्थलगत अध्ययन गरी अस्थायी बसोबासका लागि ३० थान त्रिपाल र २५ थान टेन्ट वितरण गरेको थियो । प्रभावित परिवारलाई अस्थायी आवास निर्माणको अभ्यास गराएर पाल र टेन्ट टाँग्न सहयोग गरेको श्रीनाथ गणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले बताउनुभयो । २०७२ सालको भूकम्पले सूर्यगढी-१ को फटपुर र काहुले क्षेत्रको जमिन क्रमिक रूपमा भासिँदै गइरहेकाले उक्त स्थानमा रहेका घरहरू चर्किँदै गएको पाइएको प्रजिअ घिमिरेले बताउनुभयो । वर्षायाममा तीन सय घर बस्ती पहिरोको उच्च जोखिममा रहेकाले सचेत रहन र सावधानीपूर्वक बस्न स्थानीयलाई आग्रह गरिएको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभयो । पालिका र जिल्ला विपत् व्यवस्थापन समितिले पहिरो आउनुअघि नै आवश्यक सामग्री वितरण गरेको छ । पहिरोको जोखिममा रहेकालाई निर्कुभुमे आधारभूत विद्यालयको चौरमा अस्थायी टेन्ट र त्रिपाल राखिएको छ ।
प्रतिक्रिया