धुुन्चे । रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिका-३ गत्लाङमा रहेको एक सय आठ कुण्डमध्येको गोसाइँकुण्डपछिको ठुलो धार्मिक तथा पर्यटकीयस्थल पार्वतीकुण्डमा जनैपूर्णिमाको अवसरमा चार हजार तीर्थयात्री पुगेका छन् ।
गाउँपालिकाको उपप्रमुख चण्डिका तामाङका अनुसार यस वर्ष साउन २४ गते परेको जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँदेखि भक्तजन आएका थिए । एकादशीदेखि जनैपूर्णिमासम्म लोक, मौलिक गीत, तामाङ सेलो, सेसेले बोम्बो, मेन्दोमाया र फापरे गीतको धुनमा नाचगान हुने परम्परा रहेको छ ।
हिमाली जिल्ला रसुवाको उत्तरी भेगस्थित पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमा मेलाका लागि सम्पूर्ण तयारी पूरा गरी मेला भव्य र सभ्य तरिकाले सम्पन्न भएको आमाछोदिङ्मो-३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताउनुभयो । समुद्री सतहबाट करिव दुई हजार पाँच सय ५० मिटर उचाइमा रहेको पार्वतीकुण्ड रसुवाको कालो गाउँको उच्च स्थानमा अवस्थित छ, जसलाई धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ । सडक सञ्जाल राम्रो भएकाले साना-ठुला सवारीसाधनमार्फत जुनसुकै समयमा कुण्डसम्म पुग्न सकिन्छ । भक्तजन कुण्डमा ताजा फलफूल र दुध चढाउने गर्छन् ।
पार्वतीकुण्डमा विशेषगरी भगवानलाई प्रत्येक वर्ष पाठपूजा गरेमा सुख-शान्ति र सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । गोसाइँकुण्ड दर्शनपछि पार्वती कुण्डको दर्शन नगरेसम्म मनोकामना पूरा नहुने मान्यता रहेको छ । स्थानीय होटेल र होमस्टेमा बस्ने सुविधा उपलब्ध छ, जसले यात्रुलाई खानपान र आवासमा समस्या नपर्ने अध्यक्ष लामाले बताउनुभयो । मेलाको अवसरमा पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिएको थियो । मेलाको सरसफाइ र व्यवस्थापनमा स्थानीय युवा सक्रिय रहेका थिए ।
प्रतिक्रिया