+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड मेलामा साढे आठ हजार तीर्थयात्री

दुई लाख २० हजार भेटी सङ्कलन

गोसाइँकुण्ड मेलामा साढे आठ हजार तीर्थयात्री
सरस्वती न्यौपाने
१ दिन अगाडी

रसुवा । यस वर्षको जनैपूर्णिमा मेलामा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा श्रद्धालु भक्तजनले चढाएको रु. दुई लाख २० हजार एक सय ८० भेटी सङ्कलन भएको छ ।

भेटी रकम मंगलबार जिल्ला प्रहरी कार्यालयमा गणना गरी बैंक खातामा जम्मा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार साउन १४ देखि २४ गतेसम्म विशेष मेलामा १० दिनसम्म भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन गरिएको थियो । भेटी नेपाल प्रहरीको सुरक्षासहित धुन्चे पु¥याएर गणना गरिएको थियो । समुद्र सतहदेखि करिब चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहराका अवसरमा वर्षमा दुईपटक ठुलो मेला लाग्ने परम्परा छ । तीर्थ स्नान, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा, पर्वतारोहण, जैविक विविधता तथा भूगर्भशास्त्र अध्ययनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मेलाको अवसरमा गोसाइँकुण्ड मेला भर्न आठ हजार चार सय ४७ जना तीर्थयात्री आइपुगेको लाङटाङ राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जको तथ्याङ्कअनुसार यसपटक जनैपूर्णिमा मेला भर्न देशका विभिन्न ठाउँबाट साउन १४ देखि २४ गतेसम्म आठ हजार चार सय ४७ स्वदेश तथा विदेशी तीर्थयात्री गोसाइँकुण्ड पुगेका हुन् । समितिका अध्यक्ष डिएम भन्नुहुन्छ, ‘निकुञ्जको तथ्याङ्कमा आठ हजार चार सय ४७ भए तापनि काठमाडौँको सुन्दरीजल, नुवाकोट, सिन्धुपाल्चोक र यार्साको बाटो हुँदै तीर्थालु गोसाइँकुण्ड पुग्ने हुँदा उक्त सङ्ख्या बढी छ ।’ समितिले १० हजारभन्दा बढी तीर्थालु आएको अनुमान गरेको छ । गत वर्ष १५ हजार तीर्थालु आएका थिए भने यस वर्ष बाढीको प्रभावले पनि कम भएको हुन सक्ने अनुमान गरिएको छ । विगत १० वर्षयता १२ महिना नै दैनिक एक सयको हाराहारीमा कुण्डमा तीर्थयात्री आउने गरेको स्थानीय होटेल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।

गोसाइँकुण्ड कोही घुम्नका लागि जान्छन् र कोही जीवनभर जानेर वा नजानेर गरेका पाप नाश हुन्छ, पितृ तर्छन् र आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर जान्छन् । त्यहाँ अमरसिंह गुफा, अमरसिंहको चिहान, सिङगुम्बा, फुलुम गुम्बा, यतीको चिहान, लौरीविना, बौद्धस्तुप र गणेशगौँडा रहेका छन् । कुण्डवरपर, भैरवकुण्ड, आमाकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड रहेका छन् । धार्मिक स्थल गोसाइँकुण्ड जानका लागि धुन्चेदेखि गोसाइँकुण्ड, ठाँडेपाटीदेखि गोसाइँकुण्ड, यार्सादेखि गोसाइँकुण्ड, सागरकुण्डदेखि गोसाइँकुण्ड गरी चारवटा पदमार्ग रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने