+
Search

ताजा अपडेट +

पपुलर +

विश्वसनीय र मजबुत विद्युत् प्रणालीको आवश्यकता

विश्वसनीय र मजबुत विद्युत् प्रणालीको आवश्यकता
राजनप्रसाद प्याकुरेल
१० महिना अगाडी

नेपालको जलविद्युत्को विकासक्रमलाई हेर्दा आजभन्दा करिब एक सय १४ वर्ष अगाडि काठमाडौँको फर्पिङमा पाँच सय किलोवाट क्षमताकोे दक्षिण एसियाकै पहिलो जलविद्युत्गृह निर्माण भएको थियो । उक्त बिजुली काठमाडौँको टुँडिखेलस्थित सबस्टेसनमा जोडी तत्कालीन राजा पृथ्वीवीरविक्रम  शाहबाट विसं १९६८ जेठ ९ गते उद्घाटन गरिएको थियो । यसलाई चन्द्रज्योति प्रकाश नाम दिइएको थियो ।

Utsuk Books & Stationery

राणाशासक, भाइभारदारका घरमा नै बिजुली अपुग भएपछि जुद्धशमशेरका पालामा १९९१ मा काठमाडौँकै सुन्दरीजलमा ६ सय ४० किलोवाट क्षमताको दोस्रो जलविद्युत् केन्द्रको निर्माण सुरु गरी १९९४ मा सञ्चालनमा ल्याइएको थियो । नेपालमा यसरी सुरु भएको विद्युत् विकासको इतिहासका क्रममा विद्युत् उत्पादन, प्रसारण, वितरणलाई भरपर्दो र सर्वसुलभ गर्ने उद्देश्यले २०४२ भदौ १ मा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार गठित नेपाल विद्युत् प्राधिकरणले यो हप्ता ४०औँ वार्षिकोत्सव मनायो । नेविप्राले हालसम्ममा विद्युत् उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । अतीतमा देशको ठुलो भाग अन्धकारमा रहेका पृष्ठभूमिबाट गुज्रँदै आज हामी वर्षायाममा मात्रै भए पनि छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न सक्षम भएको अवस्था छ । यो विन्दुसम्मको यात्रा चुनौतीपूर्ण मात्र नभई प्रेरणादायीसमेत रहेको देखिन्छ । विद्युत् क्षेत्रले नागरिकको जीवनस्तर उकास्न, आर्थिक वृद्धिलाई सघाउन, औद्योगिक विकास र सामाजिक समावेशिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल सरकारद्वारा जारी ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार नेपालले सन् २०३५ (विसं २०९२ तिर) सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र उक्त मितिसम्ममा नेपालको सम्पूर्ण विद्युत् आवश्यकता पूरा गरी १५ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्रमा निर्यात गर्ने महत्त्वाकाङ्क्षी, तर हासिलयोग्य लक्ष्य राखेको छ । पछिल्ला चार दशकमा नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा स्थापित नेविप्राले लामो समयसम्म कायम विद्युत्भार कटौतीको अन्त्यपछि आफ्नो मुख्य ध्येय नै देशभर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गराउने एवम् ग्राहक सेवा सुदृढीकरण गर्नेतर्फ केन्द्रित रहँदै केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्नसमेत सफल भएको छ । सरकारले लिएको ऊर्जा विकासका लक्ष्य प्राप्त गर्न र समृद्ध नेपालको निर्माणमा सहयोग पुयाउने उद्देश्यले नेविप्राले निरन्तर काम गरिरहेको छ । यसका लागि रणनीतिक उच्च भोल्टेज प्रसारणलाइन तथा सबस्टेसन, ठुला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण, वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत् पुयाउने संरचनाको विकासमा नेविप्रा सक्रिय छ । निजी क्षेत्रको सहभागिता प्रर्वद्धन, आन्तरिक प्रक्रियामा पारदर्शिता, जवाफदेहिता एवम् दक्षता सुनिश्चित गर्न, संस्थालाई डिजिटलाइज गर्न तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नसमेत नेविप्रा हाल सक्रिय छ ।

आव २०८१/०८२ का अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा कुल जडित क्षमता तीन हजार पाँच सय ९१ मेगावाट पुगेको छ । आव २०८१/०८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो जसमा नेविप्रा तथा यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत् उत्पादक (आइपिपी) को योगदान ५५ प्रतिशत थियो भने ११ प्रतिशत भारतबाट आयात गरिएको थियो । विसं २०८२ असार १८ गते नेविप्राको प्रणालीमा सर्वाधिक माग दुई हजार नौ सय एक मेगावाट अभिलेख गरिएको थियो जसमध्ये दुई हजार दुई सय १४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६ सय ८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । राष्ट्रिय ग्रिडमा पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत् खपत चार सय ६५ युनिट पुगेको छ । त्यस्तै, विद्युत् चुहावटमा अघिल्लो वर्षका तुलनामा ०.४७ प्रतिशतले कमी आई आव २०८१/०८२ मा १२.२६ प्रतिशत कायम भएको छ ।

आव २०८१/०८२ भित्र नेविप्राको प्रणालीमा कुल चार सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ जसमा नेविप्राको सहायक कम्पनीको योगदान एक १५३.५ मेगावाट तथा निजी क्षेत्रको २८०.५ मेगावाट छ । आव २०८१/०८२ नेपालका लागि विद्युत् व्यापारमा ऐतिहासिक वर्षका रूपमा रह्यो । यस वर्ष नेपाल, भारत र बंगलादेशबिचको त्रिपक्षीय सहमतिअनुसार नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न आरम्भ भएको छ । नेपालले भारतसँग (पावर एक्सचेन्ज बजार (दिन-अगाडि/वास्तविक-समय बजार) मध्यम अवधि द्विपक्षीय सम्झौता तथा भारत-नेपाल विद्युत् आदानप्रदान संयन्त्रमार्फत निरन्तर ऊर्जा व्यापार गर्दै आएको छ । पछिल्लोपटक प्राप्त विद्युत् खरिद अनुमतिसहित भारत निर्यातका लागि ३० जलविद्युत् केन्द्रबाट उत्पादन हुने कुल एक हजार १० मेगावाट विद्युत् बिक्रीका लागि भारत सरकारबाट अनुमति प्राप्त भएको छ । भारततर्फ भएको विद्युत् निर्यातबाट रु.१७.४७ अर्ब आम्दानी भएको थियो भने आयातका लागि रु. १२.९ अर्ब खर्च भई आव २०८१/०८२ मा रु.चार अर्ब ५७ करोड खुद नाफा आर्जन भएको छ । यसले नेपालको व्यापार घाटा न्यूनीकरणमा योगदान गर्न सक्ने देखिन्छ ।

देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढेको छ । भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेका छन् जसले गर्दा पेट्रोलियम पदार्थ खपत घटी कार्बन उत्सर्जन घटाउन योगदान पुगेको छ । विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न नेविप्रा आफैँले थुप्रै चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । नेविप्राबाट अनुमति भई निजी क्षेत्रबाट चार सयभन्दा बढी चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा छन् । नेविप्राको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आइएको छ । सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रूपमा कार्यान्वयमा ल्याई ‘डिजिटल एनइए’ अवधारणानुरूप नेविप्राका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न सुरु गरिएको छ । अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । स्मार्ट मिटर, स्काडा, इआरपी प्रणालीलाई क्रमिक रूपमा अगाडि बढाउँदै आइएको छ । संस्थाभित्रको सुशासनलाई मजबुत बनाउँदै लगिएको देखिन्छ । उज्यालो नेपालको यात्रामा संस्थाको यात्रा अघि बढिरहेको छ । सरकारको घोषित योजनालाई साकार पार्नु नेविप्राजस्ता सार्वजनिक संस्थानको कर्तव्य पनि हो । यसले प्राप्त गरेका उपलब्धि संस्थानविशेषको उन्नतिको मात्र विषय होइन, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै देशमा समृद्धि हासिल गर्नसमेत यसको भूमिका अहम् रहनेछ ।

आगामी दिनमा नेविप्राले विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता, सुरक्षा र दिगोपना बढाउनमा केन्द्रित हुन आवश्यक छ । जनविश्वास आर्जन गर्न र विद्युत् घाटा कम गर्दै राष्ट्रको दीर्र्घकालीन विकासका लागि विश्वसनीय र मजबुत विद्युत् प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकका घरमा विद्युत् पहुँच, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठुला जलविद्युत् आयोजनाका तीव्र कार्यान्वयन, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाउनुपर्ने देखिन्छ । (लेखक नेविप्रा देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

राजनप्रसाद प्याकुरेल