नेपालको जलविद्युत्को विकासक्रमलाई हेर्दा आजभन्दा करिब एक सय १४ वर्ष अगाडि काठमाडौँको फर्पिङमा पाँच सय किलोवाट क्षमताकोे दक्षिण एसियाकै पहिलो जलविद्युत्गृह निर्माण भएको थियो । उक्त बिजुली काठमाडौँको टुँडिखेलस्थित सबस्टेसनमा जोडी तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट विसं १९६८ जेठ ९ गते उद्घाटन गरिएको थियो । यसलाई चन्द्रज्योति प्रकाश नाम दिइएको थियो ।
राणाशासक, भाइभारदारका घरमा नै बिजुली अपुग भएपछि जुद्धशमशेरका पालामा १९९१ मा काठमाडौँकै सुन्दरीजलमा ६ सय ४० किलोवाट क्षमताको दोस्रो जलविद्युत् केन्द्रको निर्माण सुरु गरी १९९४ मा सञ्चालनमा ल्याइएको थियो । नेपालमा यसरी सुरु भएको विद्युत् विकासको इतिहासका क्रममा विद्युत् उत्पादन, प्रसारण, वितरणलाई भरपर्दो र सर्वसुलभ गर्ने उद्देश्यले २०४२ भदौ १ मा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार गठित नेपाल विद्युत् प्राधिकरणले यो हप्ता ४०औँ वार्षिकोत्सव मनायो । नेविप्राले हालसम्ममा विद्युत् उत्पादन, प्रसारण र वितरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । अतीतमा देशको ठुलो भाग अन्धकारमा रहेका पृष्ठभूमिबाट गुज्रँदै आज हामी वर्षायाममा मात्रै भए पनि छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न सक्षम भएको अवस्था छ । यो विन्दुसम्मको यात्रा चुनौतीपूर्ण मात्र नभई प्रेरणादायीसमेत रहेको देखिन्छ । विद्युत् क्षेत्रले नागरिकको जीवनस्तर उकास्न, आर्थिक वृद्धिलाई सघाउन, औद्योगिक विकास र सामाजिक समावेशिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल सरकारद्वारा जारी ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार नेपालले सन् २०३५ (विसं २०९२ तिर) सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र उक्त मितिसम्ममा नेपालको सम्पूर्ण विद्युत् आवश्यकता पूरा गरी १५ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्रमा निर्यात गर्ने महत्त्वाकाङ्क्षी, तर हासिलयोग्य लक्ष्य राखेको छ । पछिल्ला चार दशकमा नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा स्थापित नेविप्राले लामो समयसम्म कायम विद्युत्भार कटौतीको अन्त्यपछि आफ्नो मुख्य ध्येय नै देशभर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गराउने एवम् ग्राहक सेवा सुदृढीकरण गर्नेतर्फ केन्द्रित रहँदै केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्नसमेत सफल भएको छ । सरकारले लिएको ऊर्जा विकासका लक्ष्य प्राप्त गर्न र समृद्ध नेपालको निर्माणमा सहयोग पुयाउने उद्देश्यले नेविप्राले निरन्तर काम गरिरहेको छ । यसका लागि रणनीतिक उच्च भोल्टेज प्रसारणलाइन तथा सबस्टेसन, ठुला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण, वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत् पुयाउने संरचनाको विकासमा नेविप्रा सक्रिय छ । निजी क्षेत्रको सहभागिता प्रर्वद्धन, आन्तरिक प्रक्रियामा पारदर्शिता, जवाफदेहिता एवम् दक्षता सुनिश्चित गर्न, संस्थालाई डिजिटलाइज गर्न तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नसमेत नेविप्रा हाल सक्रिय छ ।
आव २०८१/०८२ का अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा कुल जडित क्षमता तीन हजार पाँच सय ९१ मेगावाट पुगेको छ । आव २०८१/०८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो जसमा नेविप्रा तथा यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत र स्वतन्त्र विद्युत् उत्पादक (आइपिपी) को योगदान ५५ प्रतिशत थियो भने ११ प्रतिशत भारतबाट आयात गरिएको थियो । विसं २०८२ असार १८ गते नेविप्राको प्रणालीमा सर्वाधिक माग दुई हजार नौ सय एक मेगावाट अभिलेख गरिएको थियो जसमध्ये दुई हजार दुई सय १४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६ सय ८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । राष्ट्रिय ग्रिडमा पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत् खपत चार सय ६५ युनिट पुगेको छ । त्यस्तै, विद्युत् चुहावटमा अघिल्लो वर्षका तुलनामा ०.४७ प्रतिशतले कमी आई आव २०८१/०८२ मा १२.२६ प्रतिशत कायम भएको छ ।
आव २०८१/०८२ भित्र नेविप्राको प्रणालीमा कुल चार सय ३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ जसमा नेविप्राको सहायक कम्पनीको योगदान एक १५३.५ मेगावाट तथा निजी क्षेत्रको २८०.५ मेगावाट छ । आव २०८१/०८२ नेपालका लागि विद्युत् व्यापारमा ऐतिहासिक वर्षका रूपमा रह्यो । यस वर्ष नेपाल, भारत र बंगलादेशबिचको त्रिपक्षीय सहमतिअनुसार नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न आरम्भ भएको छ । नेपालले भारतसँग (पावर एक्सचेन्ज बजार (दिन-अगाडि/वास्तविक-समय बजार) मध्यम अवधि द्विपक्षीय सम्झौता तथा भारत-नेपाल विद्युत् आदानप्रदान संयन्त्रमार्फत निरन्तर ऊर्जा व्यापार गर्दै आएको छ । पछिल्लोपटक प्राप्त विद्युत् खरिद अनुमतिसहित भारत निर्यातका लागि ३० जलविद्युत् केन्द्रबाट उत्पादन हुने कुल एक हजार १० मेगावाट विद्युत् बिक्रीका लागि भारत सरकारबाट अनुमति प्राप्त भएको छ । भारततर्फ भएको विद्युत् निर्यातबाट रु. १७.४७ अर्ब आम्दानी भएको थियो भने आयातका लागि रु. १२.९ अर्ब खर्च भई आव २०८१/०८२ मा रु.चार अर्ब ५७ करोड खुद नाफा आर्जन भएको छ । यसले नेपालको व्यापार घाटा न्यूनीकरणमा योगदान गर्न सक्ने देखिन्छ ।
देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढेको छ । भान्सामा खाना पकाउन विद्युतीय चुलो बल्न थालेका छन् जसले गर्दा पेट्रोलियम पदार्थ खपत घटी कार्बन उत्सर्जन घटाउन योगदान पुगेको छ । विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न नेविप्रा आफैँले थुप्रै चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । नेविप्राबाट अनुमति भई निजी क्षेत्रबाट चार सयभन्दा बढी चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा छन् । नेविप्राको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आइएको छ । सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रूपमा कार्यान्वयमा ल्याई ‘डिजिटल एनइए’ अवधारणानुरूप नेविप्राका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्न सुरु गरिएको छ । अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । स्मार्ट मिटर, स्काडा, इआरपी प्रणालीलाई क्रमिक रूपमा अगाडि बढाउँदै आइएको छ । संस्थाभित्रको सुशासनलाई मजबुत बनाउँदै लगिएको देखिन्छ । उज्यालो नेपालको यात्रामा संस्थाको यात्रा अघि बढिरहेको छ । सरकारको घोषित योजनालाई साकार पार्नु नेविप्राजस्ता सार्वजनिक संस्थानको कर्तव्य पनि हो । यसले प्राप्त गरेका उपलब्धि संस्थानविशेषको उन्नतिको मात्र विषय होइन, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै देशमा समृद्धि हासिल गर्नसमेत यसको भूमिका अहम् रहनेछ ।
आगामी दिनमा नेविप्राले विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता, सुरक्षा र दिगोपना बढाउनमा केन्द्रित हुन आवश्यक छ । जनविश्वास आर्जन गर्न र विद्युत् घाटा कम गर्दै राष्ट्रको दीर्र्घकालीन विकासका लागि विश्वसनीय र मजबुत विद्युत् प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकका घरमा विद्युत् पहुँच, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठुला जलविद्युत् आयोजनाका तीव्र कार्यान्वयन, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाउनुपर्ने देखिन्छ । (लेखक नेविप्रा देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत हुनुहुन्छ ।)
प्रतिक्रिया