+
Search

ताजा अपडेट +

पपुलर +

आठमहिने प्रदेश सरकारको पूर्णता

आठमहिने प्रदेश सरकारको पूर्णता
त्रिशूली प्रवाह
४ महिना अगाडी

मकवानपुर । नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा काङ्ग्रेसको भागमा परेका मन्त्रालयमा गत शुक्रबार मन्त्रीको नियुक्ति र कार्यविभाजनसँगै मन्त्रिमण्डल विस्तारपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

यसअघि साउन २० गते पहिलो चरणमा एकजना विनाविभागीयसहित आठजना मन्त्री नियुक्त गरिएको थियो । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिमण्डल पुनर्गठन, विस्तार र कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री बानियाँको उपस्थितिमा नवनियुक्त मन्त्री उर्मिला नेपाल, कञ्चनचन्द्र वादे, प्रभात तामाङ, सुरेश श्रेष्ठ र बिनु रायमाझी पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीहरू नेपाललाई युवा तथा खेलकुद मन्त्रालय, वादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय र पौडेललाई सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि विनाविभागीय मन्त्रीमा नियुक्त शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन, विस्तार तथा कार्यविभाजन गर्नुभएको हो । साउन २० गते मुख्यमन्त्रीमा बानियाँ नियुक्त र शपथसँगै एकजना विनाविभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय रहेको छ । काङ्ग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित आठ मन्त्रालय र एमालेको भागमा ६ वटा मन्त्रालय परेकोमा एमालेको भागमा परेका मन्त्रालयमा साउन २० गते नै मन्त्री नियुक्त गरिएको थियो ।

यसैबिच पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा मन्त्री नियुक्त भएर प्रदेश प्रमुखले मन्त्री पदको शपथ नगराएकाहरू विस्तारित मन्त्रिमण्डलमा समेटिएका छैनन् । लामा पक्षका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ मन्त्रीमा नियुक्त भए पनि प्रदेश प्रमुख देवकोटा बिरामी भएको भन्दै काठमाडौँ लागेपछि शपथ रोकिएको थियो । प्रदेश सभामा रहेका दुई ठुला दलबिच प्रदेश सभाको बाँकी अवधि आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको थियो । यो सहमतिअनुसार काङ्ग्रेसबाट बहादुरसिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहिसक्नुभएको छ । सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म (आठ महिना) मुख्यमन्त्री रहनुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह