नुवाकोट नेपालकै रणनीतिक भूगोलमा अवस्थित जिल्ला हो । पूर्व-पश्चिम तथा पृथ्वी राजमार्ग निर्माणअगाडि पश्चिम नेपालबाट काठमाडौँ उपत्यका आउन पहाडी पैदलमार्ग हुँदै आउने गरिन्थ्यो । सो पैदलमार्ग नुवाकोट, धादिङ, गोरखा, पोखरा हुँदै पश्चिम नेपालसम्म निर्माण भएको थियो जसलाई सडकमार्गमा बदल्न सकेको भए नेपालको जनसङ्ख्या मध्यभागमा केन्द्रित हुने थियो । केही वर्ष अघिदेखि मात्र निर्माण सुरु भएको मध्यपहाडी राजमार्ग नेपालको राष्ट्रिय राजमार्गका रूपमा विकास हुने थियो । महेन्द्र राजमार्गको निर्माण गर्नुअघि पुष्पलाल राजमार्ग निर्माण गर्ने सोच जन्मेको भए नेपालको जनसङ्ख्या मधेशमा नभई मध्यपहाडमा केन्द्रित हुने थियो ।
पृथ्वी राजमार्ग निर्माण गर्ने वेलामा काठमाडौँ उपत्यकाबाट पश्चिम नेपाल छिर्ने पुरानो पैदलमार्गलाई सडकमार्गका रूपमा विकास नगरी धादिङको नौबिसे-गजुरी-मुग्लिन हुँदै निर्माण गरियो । पृथ्वी राजमार्ग निर्माण गर्दा नुवाकोट नछुनु रणनीतिक योजनाभित्रकै सकस थियो । यो रणनीतिक सकसभित्र पृथ्वी राजमार्ग र त्रिशूली जलविद्युत् परियोजनाको निर्माण जोडिएको देखिन्छ । यदि पृथ्वी राजमार्ग टोखा-छहरे-विदुरहुँदै सामरी भन्ज्याङ छिचोलेर पृथ्वीनारायण शाहको एकीकरण मार्ग हुँदै निर्माण गर्न सकेको भए आज नुवाकोटको आर्थिक अवस्था अर्कै हुने थियो ।
इतिहासमा शासकहरूबाट गम्भीर त्रुटि हुने गर्छ । लोकतान्त्रिक व्यवस्थाका शासकलाई देश निर्माणमा त्रुटि गर्ने छुट हुँदैन । एकतन्त्रीय वा निरङ्कुश शासकको गम्भीर त्रुटि देखेर वा भोगेर नै संसारभरि बहुदलीय लोकतान्त्रिक व्यवस्था उदाएको हो । लोकतान्त्रिक व्यवस्थामा एउटा व्यक्तिको मात्र चिन्तनभन्दा समाजकै चिन्तनका जगमा शासन सञ्चालन गरिन्छ । दार्शनिक चिन्तक शासकलाई पथप्रदर्शन गर्ने व्यक्ति हुन् । पश्चिमी समाजमा सबैजसो शासकलाई दार्शनिक वा चिन्तकले बाटो देखाएको पाइन्छ । नेपालका हकमा शासकहरू दार्शनिक वा चिन्तकले देखाएको बाटो नहिँड्ने परिपाटी आजसम्म चलिरहेको छ ।
ढिलै भए पनि मध्यपहाडी राजमार्ग नुवाकोट हुँदै निर्माण हुने चरणमा छ । यो राजमार्ग पुरानो नेपाल जोड्ने पहाडी पैदलमार्गलाई पछ्याई निर्माण हुँदै छ । यो राजमार्ग टोखा-छहरे-ढिकुरे-सेरा-गँगटे र विदुर नगरपालिकाको मध्यभाग हुँदै सामरी भन्ज्याङ छिचोलेर अगाडि बढ्नेछ । अर्कातिर संविधान निर्माणताका भारतको नाकाबन्दीको उपहारका रूपमा हामीसँग गल्छी-देवीघाट-गँगटे-विदुर हुँदै बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी छिचोलेर रसुवागढी नाकाबाट केरुङ पुग्ने गल्छी-केरुङ राजमार्ग निर्माणाधीन अवस्थामा छ । अब नुवाकोट सडक राजमार्गबाट अलग्याइएको कर्णालीजस्तो भूगोल होइन । दुई राजमार्गको सङ्गम र आर्थिक विकासको अपार सम्भावना बोकेर विदुर नगरपालिका उभिएको छ । विदुरका लागि अर्को अवसर आउने सम्भावना पनि छ । गोसाइँकुण्ड-२ रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने बहस सुरु भएको छ । भौगोलिक अवस्था र समथर सुरक्षित जमिन अभावका कारण सुरुदेखि नै बन्दरगाह रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीआसपासमा निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको थियो । प्राविधिकको उक्त प्रस्तावलाई सरोकार निकायले ध्यान नदिँदा करोडौँ रुपैयाँ खर्च भइसकेको निर्माणाधीन बन्दरगाह उक्त क्षेत्रमा बन्न नसक्ने अवस्था आएको छ ।
गत असार २४ र साउन १४ मा आएको बाढीले चीनको सहयोगमा निर्माणाधीन बन्दरगाहमा रु.एक अर्बभन्दा बढीको भौतिक क्षति भएपछि उक्त स्थान उपयुक्त नभएको बताइएको छ । बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले क्षतिग्रस्त बन्दरगाहको गत महिना अवलोकनपछि भएको छलफलमा अहिले निर्माण क्षेत्रमा बन्दरगाह बनाउन उपयुक्त नभएको जानकारी सम्बन्धित निकायलाई गराइएको छ । छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजरले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनोट गर्नुपर्ने सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक गजुरेलले नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरी समितिलाई प्राप्त निर्देशनबमोजिम जानकारी गराउने बताउनुभएको छ । उक्त स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्नु भनेको फेरि पनि मानवीय र भौतिक क्षति पर्खनु मात्र हुने उहाँको तर्क छ ।
आज विदुरले सुक्खा बन्दरगाह बनाउनका लागि स्थान उपलब्ध गराएर आफूलाई दुई राजमार्गको संगमको फाइदा उठाउने अवसर प्राप्त गरेको छ । विदुर एउटा आधुनिक व्यापारिक सहरका रूपमा उदाउँदै गरेको छ । मध्यपहाडी राजमार्ग, गल्छी-केरुङ त्रिदेशीयमार्ग र टोखा-छहरे सुरुङमार्गसँगै यो नेपालकै आर्थिक राजधानी सहर बन्ने निश्चित छ । आगामी दिनमा विदुरसँग नेपालको आर्थिक राजधानीका रूपमा विकसित हुने प्रतिस्पर्धी क्षमता अन्य कुनै भूगोलसँग छैन । आज नेपालको आर्थिक राजधानी मानिएको वीरगन्ज हो भने भोलिका लागि विदुर नै हो । विदुरसँग अब नेपालका पूर्व र पश्चिम नेपाल जोड्ने वीरगन्जसँग भन्दा अनुकूल पूर्वाधारको निर्माण हुँदै छ । चिनियाँ वस्तु सोझै पूर्व र पश्चिममा पुग्ने बराबरका दूरीमा विदुरको भूगोल सबैभन्दा प्रतिस्पर्धी क्षमता हुनेछ । त्यसैगरी टोखा-छहरे सुरुङमार्गले अहिले बन्दै गरेको काठमाडौँ-तराई जोड्ने द्रुतमार्गको जस्तै काठमाडौँ-चीन जोड्ने सुपर द्रुतमार्गको काम गर्नेछ । नेपालका पूर्व र पश्चिमको पहाडी भूगोलमा उत्पादन हुने वस्तुको चीन र भारत निर्यातको मध्यविन्दुको सहर विदुर नै हुनेछ ।
हिजोको पुरानो नेपाल पहाडी भूगोल जनसङ्ख्याले भरिभराउ भएको र त्यहाँ उत्पादन हुने मालवस्तुले आत्मनिर्भर थियो । भोलिको नेपाल तराई र पहाडी समथर उब्जाउयोग्य भूगोलमा सहर निर्माण गर्नुभन्दा पहाडी भूगोलको विदुरजस्तो रणनीतिक भूगोललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने चिन्तन आवश्यक छ । देवीघाटदेखि बेत्रावतीसम्मको भूगोलमा एउटा व्यवस्थित सहर निर्माणको योजना बनाउन ढिला भइसकेको छ । भोलिको २५ लाखसम्मको जनसङ्ख्यालाई सम्पूर्ण पूर्वाधारसहितको सहरको निर्माणको योजना नबनाउने हो भने भविष्यमा विदुर बस्न अयोग्य, प्रदूषित र काठमाडौँजस्तै भद्रगोल सहरमा रूपान्तरण हुनेछ । विदुरले देवीघाटदेखि बेत्रावतीसम्म व्यवस्थित सहरको निर्माणको खाका निर्माण नगर्ने हो भने छहरेदेखि ढिकुरेसम्मको उब्जाउयोग्य भूगोलमा यसकै प्रतिस्पर्धी सहर निर्माण हुनेछ । त्यसका लागि विदुरका जनप्रतिनिधिमा जोस र जाँगरको खाँचो छ ।
पचास वर्षअघिको काठमाडौँ आजको विदुरजस्तै फाट्टफुट्ट रूपमा गाडी, मोटरसाइकल र साइकल गुड्ने सामान्य सहर थियो । बागमती र विष्णुमतीमा आज हामीले तादी र त्रिशूलीमा पौडी खेलेझैँ पौडी खेल्ने सफा पानी थियो । हेर्दा हेर्दै बागमती र विष्णुमती मानव ढलमतीमा बदलिए । संसारका सबै सहर समुद्र वा साना-ठुला नदीका किनारमा बसेका छन् । मानिसलाई जीवन निर्वाहका लागि अत्यावश्यक पानीको प्रचुरता भएको भूगोल नदी किनार नै हो । नदी किनारको उठेको भूगोल (टार) सहरीकरणका लागि उपयुक्त भूगोल हो । पर्यावरणीय जटिलताका कारण नदी किनारसँगै टाँसिएको भूगोलभन्दा टारी भूगोल सहरीकरणका लागि उपयुक्त र बाढीपहिरो तथा नदी कटानबाट सुरक्षित हुन्छ । विदुरको देवीघाटदेखि पीपलटार, गँगटे, बट्टार, ढुङ्गे, त्रिशूली हुँदै बेत्रावतीसम्मकै लामो आकारको भूगोलमा नयाँ सहरको योजनाबद्ध खाका बनाउन जरुरी भइसकेको छ ।
काठमाडौँमा समयमै बागमती र विष्णुमती खोलाको केही उठेको भूगोलमा व्यवस्थित सहरीकरणको खाका नबन्दा आज प्रत्येक वर्ष ती खोला बस्तीभित्र छिरेर धनजनको नोक्सान भइरहेको छ । त्रिशूली र तादीको नदी फैलावटको भूगोल छाडेर सहरीकरणको खाका निर्माण जरुरी छ । गत दुई वर्षअघिको भोटेकोशी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको आर्थिक क्षतिलाई ध्यानमा राख्दै विदुर नगरपालिकाको नेतृत्वले व्यवस्थित, सुरक्षित र पूर्वाधारसहितको सहरीकरणको योजना निर्माण गर्न ढिला भइसकेको छ । आजको नगरपालिकाको नेतृत्वले भोलिको पुस्तालाई समेत ख्याल गरेर व्यवस्थित सहरीकरणको योजना निर्माणमा जानु नै बुद्धिमानी हुन्छ । व्यवस्थित सहरीकरणको योजना निर्माण गर्न नगरपालिकालाई घचघच्याइरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । नगरले योजनाबद्ध ढङ्गले बस्ती, व्यवसायी र उद्योग क्षेत्र छुट्याउन ढिला गरेकोले नगर कुरूप हुने गरी पुनर्निर्माण हुँदा पनि नगरको ध्यान जान सकेको छैन । सोहीअनुसार विदुरले आफूलाई नयाँ आर्थिक राजधानीका रूपमा विकास गर्ने हो भने तुरुन्तै विदुर नगर विकास प्राधिकरण गठन गर्दै देवीघाटदेखि बेत्रावतीसम्मको भूगोल समेटेर २५ लाख जनसङ्ख्यालाई व्यवस्थित रूपले बस्नयोग्य सहर निर्माणमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यस क्षेत्रमा अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । सडकका दायाँबायाँ सिमाना २५-२५ मिटर कायम गरेर घरटहरा भत्काउन सरकारले मुआब्जा दिइसकेको छ । नगरको ध्यान नपुग्दा अन्तर्राष्ट्रिय मार्गका रूपमा बनिरहेको बाटाका दायाँबायाँ नगरलाई नै कुरूप बनाउने गरी घरटहरा निर्माण भइरहेको छ । नगरले उक्त क्षेत्रमा एकै प्रकारका, एकै रङका घर बनाउन नगरवासीसँग छलफल गरेर सहयोगको कार्यक्रम ल्याउनु जरी छ ।
प्रतिक्रिया