चाडपर्व : जनतालाई पिरलो, नेता-कर्मचारीलाई रमाइलो

चाडपर्व : जनतालाई पिरलो, नेता-कर्मचारीलाई रमाइलो
रुषा थापा
४ हप्ता अगाडी

नेपालीको प्रमुख चाड दसैँ आउँदै छ, तर निजी क्षेत्रका कामदारहरू तलब नपाएर पिरोलिएका छन् । कतिपयले तीन महिनादेखि वर्षदिनसम्म तलब पाएका छैनन् र पाएको तलब पनि न्यून – रु.५,००० देखि रु.१५ हजारसम्म मात्र हो । होटेल, पसल, कम्पनीहरूमा काम गर्ने धेरै नेपाली अहिले दसैँ मनाउने स्थितिमा छैनन् ।

सहकारी, लघुवित्त र फाइनान्समा आमजनताको खाइनखाई गरेर बचत गरेको पैसा ठगिएको छ । धेरै सहकारी सञ्चालक भागेका छन्, बाँकीले बचत फिर्ता गरेका छैनन् । बचतकर्ताहरू अदालत र कार्यालय धाएर थाकेका छन् । सुन, सेयर, गाडी, घरजग्गाजस्ता सम्पत्तिहरूको मूल्यमा भारी उतारचढाव आएको छ । सुन महँगो भए पनि बेच्दा कम मूल्य दिइन्छ, सेयर बजार ध्वस्त छ र घरजग्गा तथा गाडीहरू यथार्थ मूल्यमा न बिक्री हुन्छन् न भाडामा जान्छन् । जग्गा दलाली र भू-माफियाले बजार बिगारेका छन् । सरकारी, गुठी, ऐलानी जग्गाहरू कब्जा गरी टुक्य्राएर बिक्री गरियो । घरजग्गामा लगानी गरेकाहरू अहिले समस्यामा छन् – भाडा आउँदैन, बेच्न सकिँदैन, बैंकको ऋण दिनदिनै बढ्दो छ । यता, सरकार पनि आर्थिक रूपमा कमजोर बन्दै गइरहेको छ । राजस्व घटेको छ, खर्च बढेको छ । सरकारी ढुकुटी रित्तिँदै छ, तर सरकारी गाडी, स्रोत र सुविधा जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत उपयोगमा दुरुपयोग गरिरहेका छन् ।

देशको वैदेशिक ऋण २९ खर्ब नाघिसकेको छ र आगामी दुई वर्षभित्र यो दोब्बर हुने प्रक्षेपण छ । उखु किसान, निर्माण व्यवसायी, बिमापीडित, सहकारीपीडितजस्ता थुप्रै समूहको बक्यौता सरकारले तिर्न सकेको छैन । यद्यपि, विदेशी ऋण, कर र रेमिट्यान्स नेताहरूको भोगविलासमा खर्च भएको छ । भारत र चीनसँग जोडिएको सीमा क्षेत्रको नेपाली भूभागसमेत बिस्तारै हराउँदै गएको छ, तर सरकार मौन छ । नेताहरूले सरकारी सम्पत्ति, मठ-मन्दिर, गुठी र पोखरीजस्ता सार्वजनिक ठाउँहरू आफ्नो र कार्यकर्ताको नाममा दर्ता गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारण नागरिक चिन्तित छन् । उनीहरू दसैँ नै नआओस् भन्ने कामना गरिरहेका छन्, किनभने मिठो खान, नयाँ लगाउन सक्ने आर्थिक हैसियत उनीहरूसँग छैन । जनता रुवाबासीमा छन्, तर नेताहरू र कर्मचारीलाई त वर्षैभरि दसैँझैँ लाग्छ ।

भक्तपुर

प्रतिक्रिया

लेखकको बारेमा

रुषा थापा