महेन्द्र ढकाल
समुन्द्रा माध्यमिक विद्यालय
शिवपुरी-६ समुन्द्रादेवी, नुवाकोट
समुन्द्रा माध्यमिक विद्यालय बाल कक्षादेखि कक्षा १२ सम्म सञ्चालन भएको छ र प्रस्तावित सामुदायिक विद्यालयका रूपमा रहेकाले स्थायी मावि दरबन्दी पाएको छैन । पाँच रोपनी जग्गामा फैलिएको विद्यालयमा तीनवटा पक्की र दुईवटा कच्ची भवनमा २४ कक्षा कोठासहित पुस्तकालय र सुविधाजन्य शौचालय छन् । कालीगण्डकी-६, गुल्मीका बासिन्दा महेन्द्र ढकाल विसं २०८० जेठ २८ देखि हालसम्म यस विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । बिएस्सी, बिएड र एमए शैक्षिक योग्यता भएका उहाँको विद्यालयमा नियुक्ति २०७९ माघ २३ गते भएको हो । प्रधानाध्यापक ढकालसँग विद्यालयले पाएको उत्कृष्टताका कारण, भावी योजनालगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
समुन्द्रा माविको विगत कस्तो छ ?
नुवाकोट जिल्ला, शिवपुरी-६ मा अवस्थित काठमाडौँ चक्रपथबाट करिब २० किलोमिटरको दूरीमा पवित्र धार्मिकस्थल समुन्द्रादेवी मन्दिरका काखमा अवस्थित यो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको छातीमा लोभलाग्दो गुणस्तरीय शिक्षाका लागि गन्तव्यमुखी भएर अगाडि बढिरहेको विद्यालय हो । यो समाजसेवी, शिक्षाप्रेमी महानुभावबाट विसं २०१४ मा स्थापित भई २०५६ देखि प्रवेशिका परीक्षा सुरुआत तथा २०६८ देखि कक्षा ११/१२ सञ्चालन अनुमति प्राप्त भई अब्बल बन्दै गएको प्रस्तावित सामुदायिक माध्यमिक विद्यालय हो ।
विद्यालयको हालको शैक्षिक, भौतिक जनशक्तिको अवस्था कस्तो छ ?
विगतमा विभिन्न सहयोगी निकायबाट भूकम्पपछिको पुनर्निर्माण, सोलार प्यानल, शौचालय, वाल कम्पाउन्डिङ, प्रयोगशालालगायत भौतिक सुधारका साथसाथै नवीन सोच र सिर्जनात्मक क्रियाकलापले समुन्द्रा माविले गति लिँदै आएको छ । हाल बाल विकास र कक्षा एकका बिचमा थप एक केजी कक्षा छ जसले पूर्वप्राथमिक र प्राथमिक तहबिच पुलको काम गर्दै थप सुधारमा सहयोगी बनेको छ । विद्यालयमा समुन्द्रा सामुदायिक सिकाइ केन्द्र, समुन्द्रादेवी पुस्तकालय पनि सञ्चालनमा छन् । हाल विद्यालयमा दुई सय ३१ विद्यार्थी छन् । विद्यालय रहेको भूगोलका कारण बसाइँसराइ, रोजगारीलगायतले समुदायको जनसङ्ख्या कम भई विद्यार्थी सङ्ख्या समग्र पालिकामै कम भएको पाइन्छ ।
विषयगत शिक्षक दरबन्दीको अवस्था कस्तो छ ?
समुदायमा हस्तान्तरित र प्रस्तावित मावि भएकाले मावि तहमा स्थायी दरबन्दी नभएको अवस्था छ । हाल २१ शिक्षक, कर्मचारी रहेकामा साबिक उमावि अनुदान दुई, माध्यमिक राहत र निमावि स्थायी तीन-तीन, प्रावि स्थायी दरबन्दी सात तथा विद्यालय नर्स, लेखापाल, बाल विकास सहजकर्ता, सिकाइ सहजकर्ता, कार्यालय सहयोगी र दिवाखाजा सहयोगी कार्यरत हुनुहुन्छ ।
विद्यालयले यस वर्ष उत्कृष्ट नतिजा ल्याउनुको रहस्य के हो ?
विद्यालय प्रशासन तथा नेतृत्वकर्ताका रूपमा जब मैले प्रधानाध्यापकको जिम्मेवारी बहन गरेँ, तब विद्यालयलाई एउटा सिस्टममा प्रक्रियागत, योजनागत रूपमा लैजानुपर्छ भनी सुधारका लागि २५ बुँदे योजना तयार गरेँ, उक्त योजना कार्यान्वयनमा म र मेरो नेतृत्वको टिम निरन्तर लागिरह्यौँ । हामीले कक्षा ८, १० र १२ का लागि विशेष योजना/प्याकेज बनायौँ जसमा डे बोर्डर्स, विद्यार्थीको आवश्यकताअनुसार समूह विभाजन गरी विषयगत शिक्षकको व्यवस्थापनका साथै उत्कृष्ट र कमजोर विद्यार्थीलाई विशेष निगरानी गरियो । नतिजा सुधारका लागि निरन्तर चासो, चिन्तन र इमानदारीका साथ जिम्मेवारी पूरा गर्दै सबै टिम लाग्यो । यस वर्ष एसइईमा उत्कृष्ट नतिजा हासिल गर्न पहिले त विद्यार्थी आफैँ सक्रिय, जिज्ञासु र मिहिनेती भए । साथै तिनका परिवारले घरमा वातावरण तयार गरिदिए । विषयगत शिक्षकले शनिबार तथा बिदाका दिनमा समेत बिहान, बेलुका सिकाइ सहजीकरण गरिदिनुभयो र यस वर्ष हामी शिवपुरी गापाका एसइई सम्मिलित ११ विद्यालयमध्ये उत्कृष्ट विद्यालय बन्यौँ । पालिकाबाट दुई सय १६ जना सम्मिलित विद्यार्थीमा ३.६ जिपिएमाथि हासिल गर्ने जम्मा तीन विद्यार्थीमा दुई विद्यार्थी हाम्रै भए जसमा उच्चतम ३.७४ जिपिए प्राप्त भयो जुन यस विद्यालयको इतिहासमै पहिलो रेकर्ड हो । त्यस्तै, ३.२ जिपिएमाथि ६ जनासहित विद्यालयबाट सहभागी २४ जनामध्ये २० जना ग्रेडेड भई ८३.३३ प्रतिशतसहित पालिकामा उत्कृष्ट भयौँ र विद्यालयको इतिहासमा नै उत्कृष्ट नतिजा प्राप्त भयो ।
तपाईंले पढाउने विज्ञान विषयमा यसपटकको नतिजा कस्तो छ ?
यस वर्ष मैले कक्षा ८ र १० मा विज्ञान र कक्षा १२ मा सामाजिक विषय अध्यापन गरेको थिएँ । प्रशासनिक कार्यव्यस्तताका बाबजुद गत वर्ष एसइईमा विज्ञानमा २४ जनामा २२ जना उत्कृष्ट जिपिएसहित ग्रेडेड भए । विज्ञान विषयको नतिजा समग्र देशको कमजोर हुँदै गर्दा हाम्रो विद्यालयको भने विगत वर्षदेखि नै झन्डै शतप्रतिशत छ । त्यस्तै, कक्षा ८ को पालिकास्तरीय परीक्षामा पनि विज्ञानको नतिजा पालिकाभर नै उत्कृष्ट छ भने कक्षा १२ मा सातजना सहभागीमा ६ जना ग्रेडेड हुँदै गर्दा सामाजिकमा सातजना नै ग्रेडेड छन् ।
पालिकामा उत्कृष्ट बन्न के-के गर्नुभयो ?
विद्यालयलाई सिस्टममा लैजान निरन्तर प्रयास गरियो र पछिल्लो दुई वर्षयता हामीले गरेको प्रयास सार्थक बन्यो किनकि हामीले विद्यालयभित्र जे-जति असल अभ्यास, रचनात्मक गतिविधि गयौँ, ती सबैको देखिने परिणाम नतिजा रहेछ । गत वर्ष विशेषगरी उत्कृष्ट नतिजा ल्याउन वडा कार्यालयसँग शैक्षिक सुधार शीर्षकमा बजेट माग गरी प्रस्ताव पेस गयौँ र रु. दुई लाख बजेट विनियोजन भयो जसबाट शैक्षिक सुधारअन्तर्गत साप्ताहिक परीक्षा, अतिरिक्त समय सिकाइ सहजीकरण गरियो । हाम्रो सपना, योजना पूरा गर्न वडा कार्यालय मियो बनेर उभियो । साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै नेपालकै ठुलो नमुना मावि कालिका मानवज्ञान मावि बुटवलका पिटी प्रशिक्षण तथा मोटिभेटर हरिश वलीको उत्प्रेरणा कार्यक्रम नुवाकोट जिल्लामै पहिले हामीले अनुशरण ग¥यौँ जुन विद्यार्थी, शिक्षक र अभिभावकमा अत्यन्तै फलदायी बन्यो । साथै प्रायः अन्य विद्यालयमा नभएको असल अभ्यास जस्तै विव्यस, वडा जनप्रतिनिधि र सक्रिय अगुवा अभिभावकबाट एउटा समूह बनाई समय तालिकाअनुसार नियमित अनुगमन र पृष्ठपोषण भयो जसले गर्दा सामुदायिक विद्यालयप्रति अभिभावकको सकारात्मक सोचाइ विकास भयो । विद्यालयलाई सबैभन्दा धेरै समय वडाध्यक्ष आफैँले दिएर ससानो बैठक, छलफल तथा कुनै समस्या परेमा उपस्थित भई विद्यालयसँगसँगै हातेमालो गर्नुभयो । त्यस्तै, म आपूm र मेरो नेतृत्व सार्वजनिक बिदाका दिनमा समेत विद्यालय कसरी राम्रो बनाउने भनी चिन्तन गर्दै, योजना बुन्दै कार्यान्वयनमा लागेकाले हामी पालिकामा उत्कृष्ट बन्यौँ ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दो छ । समुन्द्रामा अभिभावक र विद्यार्थीको आकर्षण कस्तो छ ?
सामुदायिक विद्यालयले उत्कृष्टता त्यहाँ पाउँछ, जहाँ अभिभावक र समुदायको सक्रियता हुन्छ । हाम्रो विद्यालयमा पनि हामी तहअनुसार नियमित अभिभावक बैठक गर्छाैँ, नियमित कक्षा शिक्षक र आवश्यकताअनुसार म हरेक अभिभावकलाई फोन सम्पर्क गर्छौँ । शैक्षिक सत्रको सुरुमा घरदैलो कार्यक्रम गरी विद्यार्थीको पारिवारिक, आर्थिक र घरायसी शैक्षिक वातावरण बुझ्छौँ । यसका लागि समूह बनाई सर्वेक्षण फाराम प्रयोग गरिन्छ । यसबाट विद्यार्थीलाई पढाइ तथा हामीलाई छात्रवृत्ति सिफारिसमा सहजता भएको छ । हाम्रो विद्यालयमा नियमित अनुगमन हुन्छ । काठमाडौँमा बालबच्चा पढाउन कोठा खोजी बस्ने अभिभावकले पनि पछिल्ला वर्षमा गाउँ नै फर्की यही विद्यालयमा छोराछोरी भर्ना गराएका छन्, जुन पछिल्लो भर्ना तथ्याङ्कले देखाउँछ ।
समुन्द्रा माविले अभिभावक र विद्यार्थीलाई आकर्षण गर्न के-के गर्यो ?
अहिले अभिभावकको चाहना आफू अशिक्षित भए पनि आफ्ना सन्तानलाई उत्कृष्ट शिक्षा दिनेछ । तसर्थ हामी सामुदायिक विद्यालयले पनि उहाँहरूको चाहनाअनुसार निजी विद्यालयले गरेका असल अभ्यास हामी अनुशरण गर्छाैँ । हामीले होमवर्क डायरी प्रयोग गयौँ जसले गर्दा अभिभावकले होमवर्क दिए/नदिएको र विद्यार्थीले गरे/नगरेको हेर्न पाउनुभयो, यसबाट त्यससम्बन्धी गुनासो कम भएको पाइन्छ । यस्तै, उचित युनिफर्म, सदनअनुसारको आइडी कार्ड, बिहानी प्रार्थनामा स्पिच र उत्कृष्टलाई मासिक पुरस्कार व्यवस्था गरियो, जसले गर्दा विद्यार्थीमा बोल्न सक्ने बानी विकास भएको छ । यस्तै नियमित सदनात्मक अतिरिक्त क्रियाकलाप र पुरस्कार वितरण, अभिभावक बैठक र परामर्शले गर्दा सन्तुष्टि दिन सकिएको छ । हामीले विद्यार्थीमा अनुशासन कायम गर्नका लागि स्काउट सञ्चालन गयौँ । हाल कक्षा ६ देखि १० सम्म एक सयजनाजति विद्यार्थी स्काउटमा सक्रिय भई विभिन्न सामाजिक काममा समेत आबद्ध छन् । गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्काउट सुरुआत भई पालिकाभरमा जम्मा स्काउट सञ्चालन भएका तीन विद्यालयमध्ये हाम्रो पनि एक विद्यालय हो । त्यस्तै, कक्षा ४ देखि ७ सम्मका लागि खेलकुदमार्फत शारीरिक र मानसिक विकासका साथै अनुशासन कायम गर्न हामीले कराँते खेल सञ्चालन गरेका छौँ, जसमा झन्डैै ४० विद्यार्थी दीक्षित भई विभिन्न प्रतियोगितामा सहभागी भएर उत्कृष्ट बनेका छन् । यसले पनि विद्यार्थीलाई आकर्षण गरेको छ । त्यस्तै, हाम्रामा यदि कुनै विद्यार्थी बिदा बस्नुपरे वा विद्यालयबाट बिचसमयमा घर जानुपरेमा अभिभावकले कक्षा शिक्षकलाई वा प्रशासनलाई फोनमार्फत अनिवार्य पूर्वजानकारी गराउनुपर्छ ।
समुन्द्रा मावि र अरू विद्यालयमा के फरक छ जसका कारण पालिकाभरिका विद्यार्थीले यसलाई नै रोजून् ?
उत्कृष्ट नतिजा र उदाहरणीय असल अभ्यासका साथै विव्यस र अभिभावकको सक्रियता, विषयगत शिक्षकको पर्याप्तता, शिक्षक-विद्यार्थीमैत्री शिक्षणले गर्दा शिक्षक र विद्यार्थीबिच खाडल छैन । त्यस्तै प्रशासकका रूपमा म आफूले पनि शिक्षक र विद्यार्थीलाई साथीसरहको व्यवहार गर्दा सिकाइ वातावरण सहज छ । साथै नियमित अतिरिक्त क्रियाकलाप, खेलकुद, सजावटयुक्त कक्षाकोठा, स्मार्टबोर्ड र स्मार्ट टिभीबाट कक्षा सञ्चालन, बालसाहित्य भित्तेपत्रिका प्रकाशन, नियमित अतिरिक्त कक्षा, आइसिटी-विज्ञा-गणित प्रयोगशाला, पुस्तकालय, बाल कक्षामा खेलकुद सामग्री, सक्रिय बाल क्लब हाम्रा केही विशेषता हुन् । पछिल्लो समय विद्यालयले सुधारको गति लिएसँगै विभिन्न सहयोगी व्यक्तित्व र सङ्घसंस्थाले हातेमालो गरेका छन् । टीकाकमला थापा स्मृति संस्थाले झन्डै रु. पाँच लाखबराबरको प्रतिविद्यार्थी करिब रु.दुई हजारबराबरको स्टेसनरी सामग्री वितरण गयो । समाजसेवी राम खड्काबाट एक सय १४ सेट ट्रयाक सुट, राजु आचार्यबाट एक सय २५ सेट टिफिन बक्स, स्काउट प्रशिक्षक दामोदर बस्नेतबाट एक सय सेट स्काउट ड्रेस र पाँच सय शैक्षिक क्यालेन्डर छपाइ, किवानिज क्लब अफ नुवाकोटबाट नयाँ भर्ना हुने विद्यार्थीका लागि निःशुल्क पोसाक, सिर्जना ज्ञानसागर स्कुल तारकेश्वर काठमाडौँबाट सिसी क्यामेरा, भ्वाइस अफ वुमन मिडियाबाट विद्यालय छापामैत्री पेन्टिङ आदि सहयोगले गर्दा विद्यार्थी, अभिभावक र स्कुल लाभान्वित भएका छन् ।
यस वर्षको कक्षा १ देखि १२ सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
यस वर्षको नतिजा विगतमा भन्दा समग्रमा सन्तुष्ट हुने अवस्था छ । शिवपुरी गाउँपालिकाका कक्षा आठ सञ्चालित १७ विद्यालयमा हाम्रो विद्यालय उत्कृष्ट जिपिएसहित दोस्रो स्थानमा परेको छ भने कक्षा १२ को नतिजामा पनि सात सहभागी विद्यार्थीमध्ये ६ जना ग्रेडेड भए जसमा तीन जिपिएमाथि हासिल गर्ने चारजना थिए । यसरी समग्र नतिजाबाट हामी सन्तुष्ट हुने अवस्था छ ।
विद्यालयको समस्या के हो ? विद्यालयप्रति अभिभावकको साथ र सहयोग कस्तो पाउनुभएको छ ?
केही कक्षाकोठामा अस्थायी जस्ताको छाना भएकाले वर्षायाममा पानी चुहिने र कक्षा सञ्चालनमा समस्या हुने अवस्था छ । पर्याप्त कक्षाकोठा नपुग्नु, पक्की संरचना पूर्ण नहुनु तथा खेलमैदान सुदृढीकरण नहुनु मुख्य समस्या हो । व्यवस्थित पुस्तकालय र पर्याप्त आइसिटी ल्याबको अभाव छ । साथै शैक्षिक तथा सचेतनात्मक रूपमा विद्यालय रहेको समुदायमा कतिपय अभिभावक र समुदाय विद्यालयप्रति सकारात्मक हुन नसक्नु, शिक्षक-कर्मचारीलाई अनावश्यक दोष मात्र थोपरिनु र विद्यालयप्रति आफ्नो भूमिकाविना नै अनावश्यक टीकाटिप्पणी गर्नु समस्याका रूपमा देखिन्छ ।
स्थानीय तहको साथ र सहयोग कस्तो छ ?
शिवपुरी गाउँपालिकाको समग्र शैक्षिक अवस्था हेर्दा अन्यका तुलनामा उत्कृष्ट नै छ, जुन राष्ट्रियस्तरका परीक्षाको नतिजाले पनि देखाउँछ । यसमा गाउँपालिका कार्यपालिका टिम, प्रशासन प्रमुख तथा शिक्षा शाखा सम्पूर्ण सरोकारवालाबाट स्थानीय पाठ्यक्रम निर्माण, गाउँ शिक्षा योजना निर्माणदेखि लिएर कक्षा एकदेखि तीनसम्म एकीकृत मूल्याङ्कन पुस्तिका, स्थानीय पाठ्यपुस्तक, भाषा पुस्तक लागू, शिक्षकले कक्षामा बिताएको समय टिएसटी बुकको पालना, मासिक-दैनिक एकाइगत पाठ योजना डायरी प्रयोग, स्थानीय पाठ्यक्रममा आधारित थुप्रै रचनात्मक पुस्तक प्रयोग र योजना कार्यान्वयनले थप शैक्षिक सुधार भएको पाइन्छ । त्यस्तै, गाउँपालिकाले दुई वर्षअगाडि प्रत्येक प्रधानाध्यापकसँग ४५ बुँदे कार्यसम्पादन करार सम्झौता गर्नाले पनि नीतिगत र योजनागत सहयोगका साथै प्रधानाध्यापकलाई विद्यालयमा गएर समूहमा काम गर्न सहज भएको थियो । यसैगरी आगामी दिनमा पनि गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई केही अनुदान रकम बजेट उपलब्ध गराइदिएमा उत्कृष्ट असल अभ्यास गर्ने विद्यालयलाई थप हौसला उत्साह वृद्धि हुनेमा दुईमत छैन ।
पूर्वप्राथमिक र प्राथमिक तहलाई सुधार्न के-कस्ता प्रयास भइरहेको छ ?
विद्यालयमा पूर्वप्राथमिक तह असल आचरणको निर्माण र विद्यालय प्रवेश गर्ने तयारीको अवस्था छ । तसर्थ यस तहमा पढाउने, सिकाउने मात्रभन्दा पनि सिकाइका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रयास गर्ने समय हो । यसमा हामीले स्मार्ट टिभीबाट कक्षा, खेल सामग्रीका माध्यमबाट सिकाइ गरी घरायसी वातावरण निर्माणसहित सहजीकरण गरेका छौँ । त्यस्तै, पूर्वप्राथमिक र प्राथमिक तहबिचमा पुलका रूपमा एउटा केजी कक्षा थप गरिएको छ जसले गर्दा सिकाइमा ग्याप हुन नदिई प्राथमिक तहमा प्रवेश गर्दा उसले सिक्नुपर्ने आधारभूत कुरा सिकेर गएको देखिन्छ ।
विद्यालयको भावी योजना के छ ?
शिक्षाको प्राण भनेको गुणस्तर सुधार हो । विद्यालयलाई नमुना अथवा अझै अब्बल बनाउनुपर्ने खाँचो देखिन्छ । आगामी दिनमा यसले हाल अवलम्बन गर्दै आएका असल अभ्यास र योजनालाई निरन्तरता दिने नै छ । त्यस्तै, शिक्षक-विद्यार्थीका लागि आवास बनाउने, विद्यालय बसका लागि पहल गर्ने, खेलमैदान व्यवस्थित बनाउने र सिकाइलाई प्रविधि र पेसासँग जोड्ने भावी लक्ष्य छ । यसका अतिरिक्त सरोकारवाला भेला, सहकार्य, नवीन सोच र सिर्जनात्मक क्रियाकलापले समुन्द्रा माविलाई साँच्चिकै समुद्रजस्तै अटल र विशाल बनाउन सकिनेछ । हामी एक बृहत् प्रक्रियागत योजनामा छौँ । पूर्वशिक्षक, पूर्वयोगदानकर्ता र पूर्वविद्यार्थीलाई एकत्रित गरेर अझ थप उत्कृष्ट बनाउनुपर्ने आवश्यकता देखिन्छ । कुनै पनि कार्यक्रम सफल पार्नका लागि पहिलो सपना देखिन्छ । अनि दोस्रोमा योजना बनाइन्छ र तेस्रोमा कार्यान्वयन गरिन्छ । तसर्थ योजना संस्था सञ्चालनको आत्मा पनि हो । उक्त आत्मा सञ्चालन कार्यान्वयनमा भर पर्छ । जसरी हामीले सास फेर्दा फोक्सो चलेजस्तै संस्था सञ्चालनमा योजनाले काम गर्छ । तसर्थ योजनाको मर्म र कार्यान्वयनको धर्मलाई आत्मसात् गर्दै अघि बढ्ने प्रण गर्दछौँ ।
प्रतिक्रिया