+
Search

ताजा अपडेट +

पपुलर +

खेल क्षेत्रको विकास र लगानी वृद्धि योजना ल्याउने छु 

खेल क्षेत्रको विकास र लगानी वृद्धि योजना ल्याउने छु 
त्रिशूली प्रवाह
५ महिना अगाडी

डा. अचुत्तम लामिछाने
प्रतिनिधिसभा सदस्य
नुवाकोट-२
हालको ठेगाना : टोखा-८, काठमाडौँ
उमेर : ४८ वर्ष
पार्टी : रास्वपा
निर्वाचन क्षेत्र : नुवाकोट-२
शिक्षा : विद्यावारिधि
मत : ३२ हजार ५४

Satkar Machinery Center
Utsuk Books & Stationery

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ८२ स्थान जितेको छ । तीमध्ये नुवाकोट क्षेत्र नम्बर २ बाट ३२ हजार ५४ मत प्राप्त गरी डा. अचुत्तम लामिछाने विजयी हुनुभएको छ । उहाँ खेलविज्ञानमा विद्यावारिधि प्राप्त हुनुहुन्छ । उहाँ सङ्घीय संसद्को प्रतिनिधिसभामा सभामुखको अध्यक्षतामा रहने कार्यव्यवस्था समितिको सदस्यमा गत हप्ता मनोनीत हुनुभएको छ ।

खेलविज्ञानका प्रशिक्षक प्रशिक्षणमा रहँदै गर्दा उहाँले आफूले पढेको, बुझेको र काम गरेको क्षेत्रलगायत समस्या नीति निर्माण तहमा पुगेर समाधान गर्ने अठोट लिनुभएको थियो । उहाँको त्यो प्रतिज्ञा अहिले यथार्थमा परिणत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट-२ बाट निर्वाचित भएसँगै डा. लामिछाने अब कानुन बनाउने थलोमा पुग्नुभएको छ । आफूले जित हासिल गर्नाका कारणमा जनताले विषयविज्ञता र काम गर्न सक्ने उपयुक्त पात्र खोज्नु हो भन्ने मान्यता उहाँ राख्नुहुन्छ । ‘म यही क्षेत्रमा जन्मिएर हुर्केकाले यहाँको वातावरण र समस्या बुझ्न गाह्रो भएन । विषयविज्ञका नाताले केही गर्न सक्छ भनेर जनताले विश्वास गर्नुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘राजधानी काठमाडौँसँग सिमाना जोडिएको नुवाकोट बत्तीमुनिको अँध्यारोबाट अब उज्यालोतर्फ लैजाने अभियानमा भूमिका मेरो हुनेछ ।’

नुवाकोट जिल्ला, विदुर-७, तुप्चेस्थित चण्डेश्वरी माविबाट विद्यालय तहको अध्ययन पूरा गर्नुभएका उहाँले काठमाडौँस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । दक्षिण कोरियाको योङ विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएका उहाँले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तह र खेलविज्ञानमा विद्यावारिधि गर्नुभएको छ । स्काउट, युनेस्कोको खेल विभागलगायत राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका शिक्षा तथा खेलकुदका विभिन्न कार्यक्रममा आबद्ध डा.लामिछानेले भन्नुभयो, ‘मेरो भोगाइ, सिकाइ, पढाइ र बुझाइलाई नीति निर्माण तहमा लगेर लागू गर्ने योजना छ ।’ उहाँ भन्नुहुन्छ, ‘केही दशकअघिसम्म हाम्रोजस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया कसरी विकसित मुलुकमा परिणत भयो, मैले नजिकबाट देखेको छु ।’ नुवाकोटको भूमिलाई विकास र समृद्धिका बाटामा लैजान खाकासहित नयाँ दृष्टि र लक्ष्य लिइएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘जनताको आयस्तर वृद्धि गर्न नीतिगत योजना ल्याउने, १० वर्षभित्र मध्यमस्तरको आयस्रोतको सुनिश्चित गर्ने लक्ष्य लिएको छु ।’ उत्पादनलाई स्थानीय हुँदै अन्तर्राष्ट्रिय बजारसम्म लैजाने, श्रमको मूल्य पाउने वातावरण निर्माण गर्ने, सडक सञ्जाल नपुगेका स्थानमा पुर्याउने गरी नीतिगत योजना निर्माण गर्ने उहाँको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रसँगै प्राथमिकताका आधारमा देशभरिका बस्तीसम्म पुग्ने गरी सडक सञ्जाल निर्माण गर्न भूमिका खेल्ने उहाँको योजना छ ।

जिल्लाका पर्यटकीय स्थानको विकासका लागि सडक तथा भौतिक पूर्वाधार निर्माण गरेर विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिनुभएका उहाँले पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नुवाकोटले दिनेछ भन्नुभयो । कृषिलगायत अन्य क्षेत्रमा प्रविधिमैत्री विकास गर्दै आफ्नो कामलाई परिष्कृत गर्दै बजारमा लैजान र विश्वमा जानकारी गराउन सकिन्छ भन्ने अवस्था सिर्जना गर्ने गरी नीति निर्माण गर्ने पनि उहाँका प्राथमिकतामा छन् । खेलविज्ञानका प्रशिक्षक उहाँले खेल क्षेत्रलाई विकास गर्ने योजना राख्नुभएको छ । ‘खेलकुदले खेलाडी मात्र उत्पादन गर्दैन, विदेशमा नेपाललाई चिनाउनसमेत भूमिका खेल्छ,’ उहाँ भन्नुहुन्छ, ‘हामी खेल क्षेत्रमा विकास र लगानी वृद्धि गर्ने गरी योजना निर्माण गर्नेछौँ ।’ परम्परागत शैलीको किताबी ज्ञानभन्दा फरक तरिकाले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक एवम् मनोवैज्ञानिक विकास गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘विद्यालयमा व्यावहारिक, प्रयोगात्मक र रियल वल्र्ड च्यालेन्जमार्फत शिक्षण सिकाइको उदाहरणीय तरिका अवलम्बन गरिनुपर्छ ।’ नेपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसीलाई १६ हजार पाँच सय ५१ मतान्तरले पराजित गर्नुभएका डा.लामिछानेले ३२ हजार ५४ मत पाउनुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह