विदुर । नुवाकोट सुनचाँदी व्यवसायी सङ्घको १२औँ, १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिवमा पुरानै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा भीमराज बज्राचार्य, उपाध्यक्षमा प्रदीप शाक्य, सचिवमा सविन अमात्य र कोषाध्यक्षमा भने अघिल्लो कार्यसमितिका सदस्य ईश्वरबहादुर सुनार चयन भएका छन् । सङ्घको विधानअनुसार कार्यसमितिको महिला सदस्यमा नानु गुरुङ, सदस्यमा राजकुमार सुनार, सुजनरत्न बज्राचार्य र शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । समितिको पहिलो बैठकले विधानअनुसार सन्तोष सुनार र ईश्वर सुनारलाई कार्यसमितिको सदस्यमा मनोनीत गरेको सचिव सविन अमात्यले बताउनुभयो ।

साधारणसभाको उद्घाटन विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले गर्नुहुँदै सुनचाँदी व्यवसायीले खरिद-बिक्री गर्दा बिल-विजक अनिवार्य लिने र जारी गर्न सुझाव दिनुभयो । सुनचाँदी कारोबार पारदर्शी, गुणस्तरीय नहुँदा व्यवसायीलाई प्रहरी-प्रशासन र उपभोक्ताले सधैँ शङ्का गरेकाले सर्तक र सचेत भएर व्यवसाय गर्न जोड दिनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घ बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ललितपुर सुनचाँदीका अध्यक्ष सुविन बज्राचार्य, भक्तपुरका अध्यक्ष विजेन (विजय) शाक्य, काठमाडौँका अध्यक्ष रोहिणीदेवी शाक्यले सुनचाँदीको मूल्यवृद्धिले व्यवसाय घटेको, सुनचाँदी हाम्रो धार्मिक संस्कार अपरिहार्य वस्तु भएकाले विलासितामा राख्न नहुने धारणा राख्नुभएको थियो । कार्यक्रममा भर्खरै निर्वाचित बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्य, भक्तपुरका अध्यक्ष विजेन (विजय) शाक्य र ललितपुरका अध्यक्ष सुविन बज्राचार्यलाई सम्मान गरिएको थियो ।

सो अवसरमा गत वर्षको एसइईमा उत्तीर्ण व्यवसायीका छोराछोरीलाई नगद, पुरस्कारसहित सम्मान गरिएको थियो । सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी सङ्घ केन्द्रीय कार्यालय काठमाडौँले सुनको गुणस्तर परीक्षण, क्यारेट जाँच, तौल तथा मूल्याङ्कनसम्बन्धी तालिम निःशुल्क दिइरहेको जानकारी गराइएको थियो । सङ्घद्वारा सञ्चालित नेगोसिडा परीक्षण केन्द्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त संस्था हो । केन्द्रमा गरगहना बनाउने र बुट्टा काट्ने तालिम ६ महिने, सुन जाँचकी तालिम १५ दिने, पत्थर सेटिङ, सुन शुद्धीकरण गर्ने तालिम, गरगहना पोलिस गर्ने एकमहिने, सिक्री बनाउने र गरगहना डिजाइन गर्ने तीनमहिने तालिम निःशुल्क सञ्चालन गरिरहेको बताइएको छ । तालिममा सहभागीलाई भत्ताको समेत व्यवस्था गरी तालिमपश्चात् सिप परीक्षण र प्रमाणीकरण गराइदिने व्यवस्था र रोजगारीका लागि पहल गरिदिनेसमेत जानकारी गराइएको छ ।






प्रतिक्रिया