धुन्चे । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा रसुवाका १० उम्मेदवारले रू.७६ लाख खर्च गरेको विवरण सार्वजनिक भएको छ । निर्वाचनमा मनोनयन दर्ता गरेका १२ उम्मेदवारमध्ये १० ले मात्र निर्वाचनको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवामा उम्मेदवारले बुझाएको खर्च विवरणअनुसार यसपटक निर्वाचनमा रू.७५ लाख ८७ हजार तीन सय पाँच खर्च भएको छ । निर्वाचनमा सबैभन्दा बढी खर्च राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र सबैभन्दा कम खर्च प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गरेका छन् ।
उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङ र नेकपा माओवादी (विप्लव) का होमप्रसाद आचार्यले यो समाचार तयार पार्दासम्म निर्वाचन खर्चको विवरण बुझाउनुभएको छैन । निर्वाचनमा तामाङले एक हजार चार सय ५३ मत र आचार्यले ५० मत प्राप्त गर्नुभएको थियो । निर्वाचन कार्यालयका सूचना अधिकारी महेश आचार्यका अनुसार दश उम्मेदवारमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले रू.२१ लाख ३२ हजार सात सय १० र सबैभन्दा कम प्रगतिशील लोकतान्त्रिक पार्टीका दावासाङ्वो तामाङले रु.२३ हजार खर्च गर्नुभएको छ । निर्वाचनमा नेपाली काङ्ग्रेसका मोहन आर्चायको रू.१५ लाख ६८ हजार चार सय ३० खर्च हुँदा १० हजार ६ सय ५६ मत, प्राप्त गरी प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको छ । रास्वपाका भट्टले २१ लाख ३२ हजार सात सय १० हुँदा पाँच हजार पाँच सय ७१ मत प्राप्त गर्दै दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रेमबहादुर तामाङको रू.२० लाख ९९ हजार सात सय २५ खर्च हुँदा चार हजार ६ सय ८८ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।
त्यसैगरी, प्रलोपाका तामाङले १० मत पाएका थिए । त्यसैगरी, स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाको रू.तीन लाख खर्च हुँदा १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हरिप्रसाद घिमिरेले रू.६ लाख ९८ हजार नौ सय ४० खर्च हुँदा ६०, स्वतन्त्र उम्मेदवार सागर लामाको रू.३० हजार खर्च हुँदा ११, स्वतन्त्र उम्मेदवार दावा मिङमार तामाङको रू.२५ हजार खर्च हुँदा तीन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का माधवप्रसाद लामिछानेको रू.तीन लाख ८४ हजार पाँच सय खर्च हुँदा नौ सय ५३, मङ्गोल अर्गनाइजेसनका विनोद थिङको रूतीन लाख २५ हजार खर्च हुँदा चार सय ७४ र प्रगतिशील लोकतान्त्रिक पार्टीका दावासाङ्वो तामाङले रू.२३ हजार खर्च हुँदा १० मत पाएका छन् । निर्वाचन कार्यालय रसुवाले चैत २६ गतेसम्ममा सम्पूर्ण उम्मेदवारलाई आफूले निर्वाचन अवधिमा गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न अन्तिम भ्याद दिएको र बाँकी दुई दलले गरेको खर्च विवरण छिट्टै पेस गर्ने बताएको छ ।






प्रतिक्रिया