+
Search

ताजा अपडेट +

पपुलर +

डेढ अर्बको लागतमा ‘फ्रेन्च फ्राइ’ उद्योग

भौतिक निर्माणपछि मेशिन जडान सुरू

डेढ अर्बको लागतमा ‘फ्रेन्च फ्राइ’ उद्योग
त्रिशूली प्रवाह
४ दिन अगाडी

धादिङबेँसी । धादिङ जिल्लामा कला एग्रो बेस इण्डष्ट्रिज प्रा.लि.ले रू.एक अर्ब ५० करोडको लागतमा ‘फ्रेन्च फ्राइ’ उद्योगको संरचना निर्माण सुरू गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका–८ ससाह कमेरे नजिक स्थापना भएको उद्योगको भौतिक संरचनाको निर्माण सम्पन्न भएर मेशिन उपकरण जडान कार्य भइरहेको छ । यसै वर्षभित्र उद्योगले ‘फ्रेन्च फ्राइ’ उत्पादन गर्ने जनाइएको छ ।

सञ्चालनको तयारीमा रहेको उद्योगको अघिल्लो शनिबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले स्थलगत अवलोकन गर्दै प्रगति र भावी योजनाबारे जानकारी लिनुभएको थियो । धादिङ ज्वालामुखी गाउँपालिका मैदीका स्थायी वासिन्दा एवं काठमाडौँ–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख अर्यालले अवलोकनपश्चात् युवाको सक्रियतामा सञ्चालित यस्ता उद्योगले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । निजी क्षेत्रको लगानीलाई सुरक्षित र मर्यादित बनाउन राज्यले थप लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यस्ता उद्यमलाई नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग, सहजीकरण र प्रोत्साहन उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । अवलोकनको क्रममा धादिङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद बोधनारायण श्रेष्ठले पनि युवा व्यवसायीको आँट र लगानीको प्रशंसा गर्नुभयो । उहाँले यस्ता उद्योगको स्थापनाले स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै उत्पादन वृद्धि र आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उद्योगका सञ्चालक रमेश भाई अधिकारीले निर्माणाधीन आयोजनाको वर्तमान अवस्था र आगामी लक्ष्यबारे जानकारी गराउनुभएको थियो । नेपालमा लगानीकर्ताले भोगीरहेका विभिन्न नीतिगत र व्यवहारिक चुनौतीका बारेमा अधिकारीले सरकारको ध्यान आकृष्ट गराउनुभयो । उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषिजन्य कच्चा पदार्थको खपत बढ्ने र जिल्लाको आर्थिक गतिविधिमासुधार आउने अपेक्षा गरिएको छ । कला एग्रो बेस इण्डष्ट्रिज प्रा.लि.द्वारा नीलकण्ठ–८ मा सञ्चालित उद्योगलाई जिल्लाको महत्त्वपूर्ण औद्योगिक पहलका रूपमा लिइएको छ । उद्योगले शित भण्डारणको समेत संरचना निर्माण गरिरहेको छ । नीलकण्ठको सिफारिस भएमा कृषकलाई आलु भण्डारणमा २५ प्रतिशतसम्मको छुट गरिने उद्योगका सञ्चालकले जानकारी दिएका छन् ।

सभामुख निर्वाचित भएपछि गृह जिल्ला धादिङ आउनुभएका अर्यालले सोही दिन नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आपूm पूर्ण रूपमा निष्पक्ष, इमान्दार, जिम्मेवार र तटस्थ रहँदै देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान जारी भएको लामो समय बितिसक्दा पनि धेरै महत्त्वपूर्ण कानुन अझै बन्न बाँकी रहेको उल्लेख गर्दै सभामुख अर्यालले बनेका कानुनमा समेत समयानुकूल संशोधन आवश्यक रहेको बताउनुभयो । सभामुख अर्यालले नयाँ कानुन निर्माण गर्नुका साथै विगतदेखि अधुरा रहेका कानुनी कार्यलाई पूर्णता दिने विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो । देशकै बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सम्बन्धमा बोल्दै सभामुख अर्यालले आयोजनाको काम अब धेरै समय ढिला नहुने बताउनुभयो । आयोजनालाई गति दिन सरकारलाई निरन्तर खवरदारी गर्ने र आवश्यक दबाब सिर्जना गर्ने अर्यालको भनाई छ । अर्यालले राज्यका हरेक संयन्त्रले नागरिकलाई ‘सरकार छ’ भन्ने अनुभूति गराउनुपर्नेमा जोड दिँदै विकास र सुशासनका क्षेत्रमा देखिने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह