+
Search

ताजा अपडेट +

पपुलर +

फरार ९७ कैदीमध्ये ९१ पक्राउ

नुवाकोटका दुई र रसुवाका चारको खोजी जारी

फरार ९७ कैदीमध्ये ९१ पक्राउ
सरस्वती न्यौपाने
१ साल अगाडी

धुन्चे । जेनजी आन्दोलनका क्रममा रसुवा कारागारबाट फरार भएका अधिकांश कैदीबन्दी कारागार फर्किएका छन् । पुरूष ९१ र महिला ६ गरी ९७ कैदीबन्दी कारागारको घेराबार तोडी अघिल्लो बुधबार भागेको कारागार प्रशासनले जनाएको छ । गत भदौ २४ गते कारागारबाट फरार भएका कैदीमध्ये पटक पटक गरी असोज १ गतेसम्म ९१ जना पक्राउ भइसकेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कारागार प्रशासनले सार्वजनिक सूचना प्रकाशन गरेर फरार कैदीबन्दीलाई फर्कन आह्वान गरेको थियो । यसैगरी प्रहरीले पनि फरार कैदीबन्दीको सूची तयार पारेर खोजी सुरू गरेको कारागार प्रशासनले जनाएको छ । ग्राङ, मूलखर्क, कालिकास्थान क्षेत्रबाट सेनाले केही कैदीलाई भदौ २४ गते बेलुका नै पक्राउ  गरेर कारागार बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार फरार हुनेमा नुवाकोटका दुई र रसुवाका पाँच छन् । फरार अभियुक्त छ जनामध्ये क्रमशः जबरजस्ती करणीका कालिका-३ रसुवा निवासी रूपेश नेपाली र उत्तरगया-३ रसुवाका छिरिङ भनिने सुमन तामाङ प्रहरीले लगाएको हतकडी तोडी भागेकामा पक्राउ परेका छन् । त्यसैगरी गोसाईँकुण्ड-१ रसुवा निवासी सुन तस्करका अभियुक्त निमादोर्जे तामाङ, गोसाइँकुण्ड-३ रसुवाका सुन तस्करीका अभियुक्त कर्मासोनाम तामाङ, कर्तव्य ज्यानका अभियुक्त किस्पाङ–१ नुवाकोटका वीरमान तामाङ र अप्राकृतिक मैथुनका अभियुक्त किस्पाङ-५ नुवाकोटका निर्मल तामाङ छन् ।

Suzuki New Bike & Scooter

कारागार तोडेर भागेका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरैमा गएर समाती ल्याएका थिए भने कुनै कैदी अन्जानमा भागेको भनी आत्मसर्मपण गर्दै स्वतःस्फुर्त रूपले प्रहरीमार्फत कारागार आएका थिए । अदालतको आदेशले कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नख्खु कारागारबाट छुटेको भन्ने सामाजिक सञ्जालमा खबर बाहिरिएलगत्तै रसुवाका बन्दीले आफूहरूलाई छाड्न कारागार प्रशासनलाई आग्रह गर्दा नमानेपछि ढोका फोडेर भागेका थिए । नेपाली सेनाका सहयोगमा कैदीबन्दी समातिन थालेलगत्तै कारागार प्रशासनले सामान्य रूपमा टुटफुट भएका भौतिक संरचना तत्काल मर्मत गरी फर्केका कैदीलाई सोही भवनमा राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने