+
Search

ताजा अपडेट +

पपुलर +

सचिव तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित

सचिव तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित
त्रिशूली प्रवाह
५३ मिनेट अगाडी

काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वाध्यक्ष एवम् नेपाल सरकारका सचिवमा हालै बढुवा हुनुभएका रुद्रसिंह तामाङलाई आइतबार सम्मान गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन हुनुभएका तामाङलाई समाजका अध्यक्ष डा. उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा.केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गर्नुभएको थियो । सचिव तामाङले सरकारले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने सङ्कल्प गर्नुभयो । समाजका अध्यक्ष एवम् रक्षा मन्त्रालयका सहसचिव रानामगरले नुवाकोटमा औद्योगिक पार्क बन्न सक्ने भएकाले त्यसका लागि उद्योग मन्त्रालयबाट पहल गर्न आग्रह गर्नुभयो । नुवाकोटमा हुने विकास निर्माणका लागि आफूहरूले जहाँ रहेर पनि समन्वय र सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

Suzuki New Bike & Scooter

कार्यक्रममा संस्थापक अध्यक्ष डा.केसी, सचिवद्वय सिटौला र थपलिया, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डा. मनोज केसी, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराज केसी, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले नजिकिँदै गएको दसैँसहित विभिन्न चाडपर्वको शुभकामना दिँदै सचिव तामाङलाई कार्यकाल सफलताको कामना गर्नुभयो । समाजका सचिव राजु प्याकुरेलले गत भदौ १० गतेको भोटेकोशी बाढीमा दिवङ्गत नुवाकोटनिवासी २० राष्ट्रसेवकका परिवारलाई समाजका तर्फबाट हालै प्रतिपरिवार रु. २५ हजार राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । समाजका कोषाध्यक्ष कृष्ण खतिवडाले नुवाकोटमा जन्म र बसोबास भई निजामती, सुरक्षा सङ्गठनसहित लोकसेवा आयोगबाट पदपूर्ति हुने सङ्गठित संस्थाका कर्मचारीलाई समाजले सामाजिक रूपमा जोड्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह