+
Search

ताजा अपडेट +

पपुलर +

जेनजी आन्दोलनका जगमा सत्ता परिवर्तन, पूर्वप्रधानन्याधीश कार्की नेतृत्वमा चुनावी सरकार

पहिलो चरणमा तिन मन्त्री नियुक्त

जेनजी आन्दोलनका जगमा सत्ता परिवर्तन, पूर्वप्रधानन्याधीश कार्की नेतृत्वमा चुनावी सरकार
त्रिशूली प्रवाह
११ महिना अगाडी

विदुर । दुईदिने जेनजी आन्दोलनका जगमा पुरानो सत्ता ढलेको छ । गत भदौ २३ र २४ गते युवाहरूको आन्दोलनले ७२ घन्टा पनि पुरानो शासन टिक्न सकेन । आन्दोलनस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारका प्रधानमन्त्रीका रूपमा शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको थियो ।

Utsuk Books & Stationery

प्रमुख राजनीतिक दल र कानुनविद्हरूका परामर्शमा राष्ट्रपति पौडेलले नवपुस्ताको मागअनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्दै आगामी ६ महिनाभित्र (फागुन २१ गते) प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिनुभएको छ । कार्कीले आइतबार कार्यभार सम्हालेसँगै सोमबार तिन मन्त्रीलाई सपथ गराउनुभएको छ । सोअनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत र सिंचाइ र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ एवं गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ॐप्रकाश अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री कार्कीसहित तिन मन्त्रीको विगत :

सुशीला कार्की


कार्यकारी प्रमुखमा पहिलो महिला को होला भन्ने लामो समयदेखि धेरै नेपालीका मनमा उठेको सवालले उत्तर पाएको छ – सुशीला कार्की । गत भदौ २३ र २४ को जेनजी विद्रोहले भ्रष्टाचार, अनियमितता र मनोमानी शासनमा अभ्यस्त दलहरूको रजगज त ढल्यो नै, मुलुकको कार्यकारी प्रमुखका कुर्सीमा पहिलो पटक महिलालाई बसायो पनि । अति छिटो गरी भएको सत्ता उथलपुथलले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरू गरिदिएको छ । भदौ २४ मा केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि जेनजीको रोजाइमै कार्की प्रधानमन्त्री हुनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तिका लागि सैनिक मुख्यालय जङ्गीअड्डादेखि राष्ट्रपति कार्यालय, शीतल निवासमा भएका चरणबद्ध बहुपक्षीय छलफल निष्कर्षमा पुगेसँगै कार्कीका लागि सिंहदरबारको यात्रा सहज भएको हो । उहाँ भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको हो ।

त्रिहत्तर वर्षीया कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुनुहुन्छ । उहाँले २०७३ असारदेखि २०७४ जेठसम्म प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्नुभएको थियो । सर्वोच्च अदालतको नेतृत्वका रूपमा आफ्नो स्वभाव र शैली कायम राखेकै कारण उहाँविरूद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्तासमेत भएको थियो । कार्यकालको अन्तिमतिर २०७४ वैशाख १७ मा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को अधिकारमा हस्तक्षेप हुने गरी फैसला गरेको, सीमित न्यायाधीशलाई मात्रै राखेर इजलास गठन गर्ने गरेको र आफूले भनेजस्तो फैसला गर्न निर्देशन दिएको जस्ता कारण देखाउँदै महाभियोग प्रस्ताव दर्ता गरेका थिए । दुई सय ४९ सांसदले दर्ता गराएको प्रस्तावमा अदालतमा न्यायाधीशबीच गुटबन्दी गरेको, संविधान र कानुनको गम्भीर उल्लङ्घन हुने गरी इमानदारीपूर्वक कर्तव्यको पालना नगरेको, कार्यक्षमताको अभाव भएको लगायत आरोप पनि कार्कीमाथि लगाइएको थियो ।

संसद् सचिवालयमा प्रस्ताव दर्ता भएपछि कार्की निलम्बित हुनुभयो तर महाभियोगविरूद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै चोलेन्द्रशमशेर जबराको एकल इजलासले वैशाख २२ मै उक्त प्रस्ताव संविधानको मर्म र भावनानुकूल नभएको निर्णय गरेको थियो । महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र कार्कीलाई यथावत् रूपमा आफ्नो पदमा काम गर्न दिनू/दिलाउनू भनी अदालतले अन्तरिम आदेश दिएको थियो । त्यसपछि उनी वैशाख २४ मा अदालत फर्किनुभएको थियो । कार्कीले आफू सरकार चलाउनेको मतियार नहुनु र कानुनबमोजिम बाहेकका काम नगर्नुलाई महाभियोगको प्रस्ताव लगिनाको कारण मान्नुभएको थियो । यसलाई उहाँले आफ्नो आत्मकथा ‘न्याय’ मा उल्लेख गर्नुभएको छ । खासगरी सुडान घोटाला काण्डको फैसला आफ्नो पालामा रोक्ने उद्देश्य राखिएको उहाँको भनाइ थियो । त्यस्तै आफू प्रधानन्यायाधीश भएदेखि नै भ्रष्टाचारका मुद्दा एवं ठुला माफिया र दलालको चलखेल भएका मुद्दाको भटाभट फैसला भएकाले दुई नम्बरी धन्दा गर्नेहरूको होसहवास उडेको उहाँको विश्लेषण थियो ।

महाभियोग प्रस्तावमा ठोस रूपमै प्रहरी महानिरीक्षक नियुक्तिको विषय उल्लेख गरिएको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । तर कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेको झन्दै अर्का डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै कार्कीले योग्यताक्रमका आधारमा महानिरीक्षक नियुक्त गर्न परमादेश दिनुभएको थियो । यसलाई सत्ता पक्षले मन्त्रिपरिषद्को कार्यकारिणी अधिकारविपरीत भन्दै असन्तुष्टि जनाएको थियो । जेठ १५ मा महाभियोग प्रस्ताव फिर्ता लिइयो । यही महाभियोग प्रस्तावलाई लिएर तत्कालीन सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रका नेता शेरबहादुर देउवा र दाहालमाथि अझै आलोचना भइरहेको छ ।

विसं २०६५ माघ ३ मा न्यायाधीश भएर अदालत छिर्नुअघि संसदीय सुनुवाइमा कार्कीले भन्नुभएको थियो, ‘न्याय र कानुनले दिने सबै काम गर्छु तर घुस नखाएर देखाउँछु ।’ आठ वर्ष पाँच महिना १५ दिन न्यायाधीशका कुर्सीमा बस्दा आफूले त्यो वचन पूरा गरेको उहाँको जिकिर छ । ‘एक रूपैयाँ पनि घुस खाइन । मुलुकका निम्ति यत्तिको अडान लिन सकेंँ, त्यसैमा गर्व गर्छु’, ‘न्याय’ उल्लेख छ । निडर र आँटिली स्वभावका उहाँले गरेको अर्को महत्त्वपूर्ण फैसलामध्ये एक अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखमा लोकमानसिंह कार्कीलाई गरिएको नियुक्ति खारेज पनि थियो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई २०६९ चैत १ मा मन्त्रिपरिषद् अध्यक्षमा नियुक्त गरिएपछि उहाँलाई सघाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले लोकमानलाई अदुअआ प्रमुख बनाउन सिफारिस गरेको थियो । सोअनुसार लोकमान २०७० वैशाख २५ मा नियुक्त भए । सो नियुक्तिविरूद्ध वैशाख २९ मा दायर भएको रिट निवेदन असोज ८ मा खारेज भयो । तर पुनरवलोकनका लागि निवेदन परेपछि सुशीला नेतृत्वकै इजलासले २०७३ भदौ ३१ मा नियुक्ति कानुनसम्मत नभएको पाइएको र तत्काल आदेश गर्न उपयुक्त देखिएको हुनाले पुनरवलोकन गरी हेर्ने अनुमति प्रदान गर्ने आदेश दियो ।लोकमानको जगजगी चलेका समयमा सुशीला जोडिएको सो मुद्दाले न्यायालयमै सकस पैदा गरेको र आफूलाई पनि भारी नै परेको कार्कीको भनाइ छ । उक्त आदेशले मुलुकभर सनसनी उत्पन्न गरायो । तत्कालीन प्रधानमन्त्री दाहालसँग समेत लोकमान बाझेका थिए । दाहालले आफूलाई गरेको आग्रहलाई आत्मकथामा कार्कीले उल्लेख गर्नुभएको छ, ‘यो मुद्दा मेरो पालामा फैसला गर्नु भएन । मेरो कार्यकाल सात महिना बाँकी छ, जसरी पनि समय टारिदिनुपयो ।’

राजनीतिक र कर्मचारी वर्ग लोकमानसँग थरथर भइरहेका बेला सुशीला डटेर अघि बढ्नुभएको थियो । अन्ततः २०७३ पुस २४ मा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाका इजलासले लोकमानको नियुक्ति बदर गर्ने उत्प्रेषण जारी ग¥यो । सोसँगै लोकमान त्रासदीबाट सबैले मुक्ति पाए । विसं २०६८ फागुन १० मा बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने फैसला पनि कार्कीसहितको इजलासले गरेको थियो । तत्कालीन न्यायाधीशद्वय कार्की र तर्कराज भट्टको संयुक्त इजलासले विशेष अदालतको फैसला सच्याउँदै गुप्ताले जोडेको मध्ये रु ८४ लाख नौ हजार नौ सय २८ पैसा सात बराबरको चल–अचल सम्पत्तिको स्रोत पुष्टि नभएको निष्कर्ष निकालेको थियो । फैसलापछि गुप्ता सर्वोच्चबाटै कारागार चलान भएका थिए ।

गुप्ताका मुद्दामा फैसला गर्ने क्रममा पनि आफूमाथि दबाब बढाइएको कार्कीको भनाइ छ । मुद्दाको फैसला हुने दिनसम्म एउटा अनौठो फोन निरन्तर आइरह्यो । फोनमा ढोका खोलेको र बन्द गरेको आवाज आउँथ्यो । धेरै मानिसको सामूहिक बोली सुनिन्थ्यो । फोनमा परबाट धम्कीपूर्ण भाषामा मलाई थर्काउने काम हुन्थ्यो ।’ कार्की र विश्वम्भर श्रेष्ठको इजलासले सुडान घोटालाको पनि फैसला गरेको थियो । विसं २०७४ वैशाख १७ को फैसलाले पूर्वप्रहरी महानिरीक्षक ॐविक्रम राणा, हेमबहादुर गुरूङ र रमेशचन्द ठकुरीलाई कारागार सजाय तोकेको थियो ।

विसं २००९ जेठ २५ मा विराटनगरमा जन्मिनुभएका कार्कीका पिता डिल्लीबहादुर २००७ को क्रान्तिमा मुक्ति सेनाका तर्फबाट लड्नुभएको थियो । त्यसपश्चात् लामो समय कांग्रेसप्रति नै आस्था राखे पनि उहाँ जीवनको उत्तरार्धमा निष्क्रिय बन्दै जानुभएको थियो । तैपनि राजनीतिक परिवारमा सुशीलाको पनि हुर्काइबढाइ भयो । उहाँले पनि विद्यार्थी कालमा कांग्रेसनिकटकै नेविसंघको सदस्यता लिनुभएको थियो । कांग्रेसले क्रान्तिका लागि रकमको जोहो गर्ने उद्देश्यले २०३० जेठ २८ मा विराटनगरबाट उडेको विमान अपहरण गरेको थियो । त्यसमा संलग्न एक पात्र दुर्गा सुवेदीसँग २०४६ मा कार्कीको विवाह भएको हो । विसं २०३५ माघदेखि धरानमा वकालत जीवन सुरू गर्नुभएका कार्कीले २०३७ को जनमतसङ्ग्रहका बेला बहुदलका पक्षमा र २०४६ का जनान्दोलनमा बहुदलीय व्यवस्थाकै पक्षमा खुलेर लाग्नुभएको थियो ।

रामेश्वर खनाल


अर्थशास्त्रीसमेत रहनुभएका रामेश्वर खनाल पूर्वअर्थसचिव हुनुहुन्छ । करछली गर्नेलाई मन्त्रीले कारबाही गर्न नदिएपछि राजीनामा दिएर पदीय स्वच्छता प्रदर्शन गरेर उहाँले इमान जोगाउनुभएको थियो । कर्मचारीतन्त्रमा कुशल प्रशासकका रूपमा उहाँ अहिले पनि चर्चामै हुनुहुन्छ । विसं २०६३ साउनमा राजस्व सचिव बन्नुभएका उहाँले २०६५ भदौ १५ मा अर्थसचिवको जिम्मेवारी पाउनुभएको थियो । नक्कली भ्याट बिल छानबिन, पूरक बजेटलगायत विषयमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि उहाँले २०६७ चैत १४ मा राजीनामा दिनभएको थियो । यस विषयले त्यतिबेला राष्ट्रिय राजनीतिमै व्यापक चर्चा पाएको थियो । अर्थसचिवबाट राजीनामापछि पनि आर्थिक समृद्धिका लागि उहाँले विभिन्न समयमा बनेका सरकारलाई अर्थशास्त्रीका हैसियतमा सुझाव-सल्लाह दिँदै आउनुभएको थियो । डा बाबुराम भट्टराई प्रधानमन्त्री छँदा आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका उहाँले पछिल्लो पटक २०८१ मा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष भएर काम गर्नुभयो । अर्थतन्त्रमा गर्नुपर्ने सुधारका लागि विभिन्न सिफारिस २०८१ चैतमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाउनुभएको थियो जुन अहिले कार्यान्वयनका चरणमा छ । खनाल सार्वजनिक वित्त व्यवस्थापन, बजेट, कर नीति र वैदेशिक सहायतामा विज्ञ मानिनुहुन्छ ।

कुलमान घिसिङ


अठार घन्टासम्म विद्युत्भार कटौतीले आक्रान्त देशलाई उज्यालो बनाएको श्रेय कुलमान घिसिङलाई जान्छ । उहाँ नेपाल विद्युत् प्राधिकरणमा दुई कार्यकालसम्म कार्यकारी निर्देशक हुनुभयो । पछिल्लो कार्यकाल केही महिना मात्रै बाँकी छँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले चैत ११ मा उहाँलाई बर्खास्त गरेका थिए । विसं २०२७ मङ्सिर १० मा रामेछापमा जन्मिनुभएका घिसिङ पहिले नेविप्राकै कर्मचारी हुनुहुन्थ्यो । एघारौँ तहमा कार्यरत छँदा पहिलो पटक २०७३ भदौ २९ मा उहाँ नेविप्रा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । चार वर्ष कार्यकाल पूरा गरेर २०७७ भदौमा बिदा हुनुभएका उहाँ दोस्रोपटक २०७८ साउन २५ मा पुनः कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उहाँको कार्यकाल साउन २५ सम्म थियो । घिसिङले २०७३ कात्तिकमा घरायसी र २०७५ वैशाखमा औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य गर्नुभएको थियो । त्यस्तै उहाँले २०७३ असारमा विद्युत् पहुँचलाई ५८ बाट ९९ प्रतिशत जनसङ्ख्यामा पुयाउनुभएको थियो । लोडसेडिङ अन्त्य र विद्युत्को पहुँच विस्तार मात्रै होइन, घाटामा रहेको नेविप्रालाई नाफामा पु¥याउन सफल उहाँ कार्यकारी निर्देशक नियुक्त हुनुअघि २०७२/०७३ मा रू आठ अर्ब ८९ करोड नोक्सानीमा रहेको नेविप्राले २०७३/७४ मा रू एक अर्ब ५० करोड नाफा कमाएको थियो । त्यस्तै सञ्चित नोक्सानी रू ३४ अर्ब ६१ करोडबाट रु २८ अर्ब ४२ करोडमा सीमित भएको थियो । त्यसयता नेविप्रा निरन्तर नाफामा छ । विसं २०८१ असारसम्म नेविप्राको सञ्चित नाफा रू ४६ अर्ब ४७ करोड छ । घिसिङकै पालामा २०७८ कात्तिकदेखि भारत र ०८१ कात्तिकदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरू भएको थियो । उहाँले विद्युत् चुहावट नियन्त्रण, प्रसारणलाइन निर्माण र प्राधिकरणको संस्थागत विकासमा नमुनाको काम गर्नुभएको थियो । बर्खास्तीपछि पनि उहाँले आर्थिक समृद्धिका लागि ‘उज्यालो नेपाल अभियान’ चलाइरहनुभएको थियो ।

ॐप्रकाश अर्याल

जनसरोकारका तीन महत्त्वपूर्ण रिट निवेदनमा सफलता पाएसँगै चर्चामा आउनुभएका अर्यालले संवैधानिक कानुन र मानवधिकार विषयमा एलएलएम गर्नुभएको छ  । गुल्मीका उहाँ हाल संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष हुनुहुन्छ जो सार्वजनिक सरोकारका विषयमा रिट निवेदन हालेर सामाजिक न्यायका लागि लड्दै आउनुभएको छ । विद्यार्थीकालदेखि अनेरास्ववियु हुँदै एमालेको राजनीति गर्नुभएका अर्याल विवेकशील साझा पार्टी गठन भएपछि उज्ज्वल थापासँग जानुभएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिमा निष्क्रिय उहाँ त्यसपछि काठमाडौंँका नगरपिता बालेन्द्र शाहका कानुनी सल्लाहकार नियुक्त हुनुभएको थियो । अर्यालले दायर गरेका केही रिट निवेदनमा ऐतिहासिक फैसला भएका छन् । अदुअआका तत्कालीन प्रमुख आयुक्त कार्कीको नियुक्तिविरुद्ध अर्यालले दायर गरेको रिट निवेदन सदर भएको थियो । यसैगरी निवर्तमान प्रधानमन्त्री ओली जोडिएको गिरीबन्धु टी-इस्टेट सट्टापट्टाको निर्णयविरुद्धका एक निवेदक अर्याल हुनुहुन्थ्यो जसमा सर्वाेच्च अदालतले सट्टापट्टा र शोधभर्ना निर्णय उल्ट्याएको थियो । अर्यालले ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध पनि मुद्दा दायर गर्नुभएको थियो जुन मुद्दामा विघटन बदर भएको थियो । बाउन्न जनाको संवैधानिक नियुक्तिविरुद्ध पनि मुद्दा लड्नुभका  अर्याल दुई दशकदेखि वकालत पेसामा हुनुहुन्छ जसकी पत्नी अधिवक्ता हुनुहुन्छ र हाल सर्वाेच्च अदालत बार एसोसिएसनका पदाधिकारीमा रहनुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह