नेपालमा फेरि एउटा ऐतिहासिक परिवर्तन भएको छ । दशकौँ लामो राजनीतिक सङ्क्रमण, जनताको राज्यप्रति निराशा र भ्रष्टाचारले थकित जनतामा विशेषगरी नवपुस्ताले उठेर परिवर्तन ल्याएको छ । मानिसमा नयाँ चेतना पनि आएको छ र अहिले विश्व नै चकित पनि भएको छ ।
अघिल्लो सोमबार र मंगलबारको दुईदिने आन्दोलन एकाएक नियन्त्रणबाहिर गयो । हिंसा, आगजनी, तोडफोड र लुटपाटले मुलुक अस्तव्यस्त भयो । अकल्पनीय जनधनको क्षति भयो । मुलुकवासी सबै स्तब्ध भए । मुलुक अब लयमा फर्किँदैन कि भन्ने चिन्ता सबैमा भयो । जेन-जीले त सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने र भ्रष्टाचार रोकिनुपर्ने मागसहित शान्तिपूर्ण आन्दोलन सुरु गरे पनि आन्दोलनमा घुसपैठ हुँदा जनधनको अकल्पनीय क्षति भयो । गृह प्रशासन पनि परिस्थितिको आकलन गर्न चुक्यो । सोमबार एकै दिन होनहार १९ युवकको ज्यान जानुका साथै सयौँ घाइते भए । यस घटनाले चरम जनआक्रोश र चिन्ता बढाउनु स्वाभाविक थियो । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा त्यसै दिन राजीनामा दिनुभयो । तथापि, परिस्थिति साम्य भएन । मंगलबार जनआक्रोशलाई कसैले रोक्न सकेन । मुलुक नियन्त्रणबाहिर गयो ।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रपति कार्यालय, राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवासलगायतमा आगजनी भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति नियन्त्रणबाहिर गएपछि राजीनामा दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको राजीनामा तत्कालै स्वीकृत गरेर प्रधानसेनापति अशोकराज सिग्देलमार्फत आन्दोलनकारीलाई संवादका लागि आह्वान गर्नुभयो । सोही दिन राति १० बजेपछि सुरक्षाको सम्पूर्ण नेतृत्व नेपाली सेनाले लियो । अघिल्लो बुधबार बिहानैदेखि परिस्थिति भिन्न देखियो । जेन-जीको आन्दोलन रोकियो । युवापुस्ताका अगुवाको मागअनुसार प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ । ‘जेन-जेड आन्दोलन’ले मुलुकभर राजनीतिक चेतना र जनदबाबको नयाँ तरङ्ग ल्यायो । युवापुस्ताको आक्रोश सडकमा उम्लियो, तिनको माग समयमै सम्बोधन नहुँदा झन्डै पाँच दर्जनको बलिदान भयो । अन्तरिम सरकार अस्थायी हुन्छ, तर यसले भावी राजनीतिक संस्कृतिको दिशा निर्धारण गर्छ । यो आफैँमा स्थायी विकल्प होइन, निर्वाचनतर्फको पुल हो । ठुलो कार्यक्रम होइन, तर तुरुन्त लागू गर्न सकिने व्यावहारिक सुधारका न्यूनतम साझा कार्यक्रम यस सरकारले ल्याउनुपर्छ । यस्ता कार्यक्रमले अस्थिरता घटाउँछ, विश्वास बढाउँछ र नयाँ नेपालको सम्भावना खोल्छ ।
नेपालको लोकतन्त्रले दशकौँयता सङ्घर्ष भोगेको छ । मतदान त हुन्छ, तर जनविश्वास न्यून हुँदै गएको छ । योग्यताभन्दा नातावाद हाबी हुने प्रवृत्ति अन्त्य गर्नु जरुरी छ । यी सुधारविना लोकतन्त्र केवल औपचारिक अभ्यासमै सीमित रहन्छ । नेपालमा विधिको शासनसहितको शान्ति होस् भन्ने सबैको चाहना छ । त्यसका लागि भ्रष्टाचारमुक्त कानुनी शासन, स्वतन्त्रता र न्यायसहितको समावेशी व्यवस्था आवश्यक छ । नवयुवाको आन्दोलन देश बिगार्नका लागि होइन, बनाउनका लागि हो । प्राप्त स्वतन्त्रता नखोसिने गरी भ्रष्टाचारमुक्त देश बनाउने उनीहरूको सपना र चाहनालाई अब सबै मिलेर मूर्तरूप दिनुपर्छ । त्यसका लागि सबै पक्ष सकारात्मक सोचका साथ मुलुकलाई छिटोभन्दा छिटो निकास दिन एकजुट हुनुपर्छ । जेन-जीको समृद्ध देश बनाउने सपना, सकारात्मक भावना र चाहनालाई सबैले आत्मसात् गर्नुपर्छ । अहिले यस पुस्ताका नाममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सबै सचेत हुनु आवश्यक छ । धैर्य र संयमता नगुमाई जेन-जीलाई विधिसम्मत ढङ्गले राजनीतिको मूलधारमा समाहित गर्नुपर्छ । दलहरूले अन्तरिम सरकारलाई सहयोग गरेर घोषित मितिमै निर्वाचन हुने वातावरण बनाउन सहयोग गर्नुपर्छ । अन्तरिम सरकार असफल भए देशमा अर्को अनिष्ट हुने सम्भावना छ ।
नेपालको राजनीतिमा अहिलेसम्मकै ठुलो समस्या भनेको राजनीतिको पुस्तान्तरण हुन नसक्नु हो । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत अधिकांश दलमा शीर्ष नेतृत्व पुरानो पुस्ताको छ । यस पुस्ताले नेतृत्व हातमा लिएपछि आर्यघाट जानुअगावै हस्तान्तरण गर्नुपर्छ भन्ने सोचसम्म बनाउन सकेको छैन । हरेक दलमा युवापुस्तालाई दासत्व स्वीकार गर्न बाध्य पारिएको छ । पुरानो पुस्ताले अब खुरुक्क युवापुस्तामा नेतृत्व हस्तान्तरण गरी आफू अभिभावकीय भूमिकामा रहनुपर्छ । जेरोन्टोक्यासीबाट मुलुक बनाउन सकिँदैन । पुरानो पुस्ता सम्मानित हुने तथा नयाँ पुस्ताले मुलुक र दल चलाउने अवस्था आउने हो भने अहिलेसम्म देखिएका सबैखाले विकृति, विसङ्गति र निरङ्कुशता अन्त्य हुनेछ । युवापुस्ताको हातमा दल र सरकारको बागडोर आएपछि निश्चय नै यो मुुलुक सुन्दर, शान्त र समृद्ध बन्नेछ ।
प्रतिक्रिया