धादिङबेँसी । धादिङ जिल्ला, नीलकण्ठ नगरपालिकाले सुरू गरेको ‘जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई उपचारमा जोड दिने उद्देश्यसहित गत आवको चैत महिनादेखि कार्यक्रम सञ्चालनमा आएको हो ।
कार्यक्रम नगरपालिकाका सबै वडामा सञ्चालन भइरहेको छ । यसअन्तर्गत हरेक तीन महिनामा स्वास्थ्यकर्मीका टोली विभिन्न टोलमा पुगेर नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । हालसम्म करिब नौ हजारजनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणमा सहभागी भएकामध्ये करिब एक हजारजनामा उच्च रक्तचाप तथा करिब आठ सयजनामा मधुमेह समस्या पाइएको छ । ‘३० वर्षमाथिका नागरिकलाई लक्ष्य गरी सञ्चालन गरिएको यस अभियानले स्थानीयवासीलाई समयमै रोग पहिचान र सचेत बनाउन ठुलो सहयोग पुगेको छ,’ उहाँले भन्नुभयो । नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै सुरू गरिएको कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजाने हाम्रो लक्ष्य छ ।’
प्रतिक्रिया