धादिङबेँसी । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण सुरक्षा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयमा फर्काइएका धादिङका ११ प्रहरीचौकी पुनःस्थापना सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय फर्काइएका प्रहरीचौकीका प्रहरीलाई पुनःचौकीमा पठाइएको हो ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै प्रहरीचौकी पुनस्र्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार तीमध्ये सदरमुकाम धादिङबेँसीको पुछार बजारमा रहेको चौकी, गल्छी चौकी र महादेवबेँसी चौकी पुनस्र्थापना भएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी प्रमुख र अनुसन्धान प्रमुखसहितको टोली स्वयम् चौकी पुगेर स्थानीयको सहयोगमा पुनस्र्थापना गरिएको हो । प्रहरी फर्किएपछि स्थानीय जनप्रतिनिधि र बासिन्दाले स्वागत गरेका छन् । सुरक्षाकर्मीको उपस्थितिलाई आफ्नो सुरक्षाका लागि अपरिहार्य भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेषराज रिजालले प्रहरी सदैव जनताको सुरक्षाका लागि खटिने भन्दै आगामी दिनमा प्रहरी सेवा अझ समुदायमैत्री बनाउन जोड दिने बताउनुभयो ।
प्रतिक्रिया