विदुर । नुवाकोटकी ‘जीवित देवी’ का रूपमा पुजिँदै आएको कुमारी परिवर्तन भएको छ । नयाँ कुमारीमा घटस्थापनाका दिनदेखि प्रार्थी डङ्गोललाई भैरवीका पुजारी हरिमानसिंह डङ्गोलले नियुक्त गर्नुभएको हो । यसपटक कुमारीमा नियुक्त प्रार्थी भैरवी माविमा युकेजीमा अध्ययनरत हुनुहुन्छ । नारायणमान डङ्गोल र देवकी श्रेष्ठकी नातिनी तथा प्रवीणकिशोर डङ्गोल र रूपा डङ्गोलका दोस्रो सन्तान प्रार्थी विसं २०७६ भदौ २३ गते जन्मनुभएको हो । उहाँ सोमबार जन्मनुभएका उहाँ सोही बार नै नुवाकोटकी ‘जीवित देवी’ मा नियुक्त हुनुभएको छ ।
केन्द्रीय राजधानी काठमाडौँ तथा ललितपुर र भक्तपुरमा कुमारी नियुक्त भए जस्तै परम्परादेखि चल्दै आएको प्रथाका लागि विदुर-२ भुटोल सात वर्षीया प्रार्थीलाई सोमबार धामी हरिमानसिंहले नुवाकोटकी कुमारीमा नियुक्त गरेको स्थानीयवासी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघिकी कुमारी दिनिसा डङ्गोल रजस्वला भएपछि रिक्त स्थानमा प्रार्थीलाई राखिएको हो । स्थानीयवासी रामराजा श्रेष्ठका अनुसार विगतदेखि धामी परिवारबाटै कुमारी नियुक्त गरिँदै आएको छ । नेपाल सरकारको प्रचलित नियमानुसार तलबभत्ता खाने गरी उहाँलाई नियुक्त गरिएको पुजारी हरिमानसिंहले जानकारी बताउनुभयो । कुमारी पदमा रही कामकाजमा बाधाव्यवधान हुने भएमा सो तह हटाइने पनि जनाइएको छ ।
कुमारी नियुक्तिको बोधार्थ कौसी तोषाखाना काठमाडौँ, त्रिपुरेश्वर, गुठी संस्थान केन्द्रीय कार्यालय र यसभन्दा अघिल्ली कुमारी दिनिसालाई दिइएको छ । बडादसैँको घटस्थापनादेखि विजयादशमीसम्म र सिन्दुरेजात्राका लागि कुमारी आवश्यक हुने गरेको छ । भैरवी मन्दिरका पुजारी धामीधमिनीका अनुपस्थितिमा कुमारीले भैरवीको नित्य पूजापाठ गर्ने चलन छ ।
प्रतिक्रिया