यस वर्षको बडादसैँ नेपाली जनताका लागि हर्षोल्लासमय बन्न सकेन । धार्मिक र सांस्कृतिक पर्व कामचलाउ रूपमा मात्र नेपालीले मनाए । असत्यमाथि सत्यको विजयोत्सवका रूपमा मनाइने बडादसैँ असत्यको मुख्य जड भ्रष्टाचार मौलाउँदा सीमित व्यक्तिको मात्र पर्व बन्न पुगेको छ । नवरात्रका मुखैमा जेन-जी आन्दोलनले पुरानो सत्ता संरचनालाई चुनौती दिँदै नयाँ पुस्तालाई राजनीति गर्न सकिने र सुशासनको विकल्प सम्भव छ भन्ने सन्देश दिए पनि गर्ने काम धेरै बाँकी रहँदा उल्लासमय बन्न सकेन । युवा आन्दोलनका माग भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, उत्तरदायित्व र सुशासन जनताको गहिरो अपेक्षासँग जोडिएका छन् । यसको सार्थक रूपमा सम्बोधन नहुँदासम्म यस्ता चाडपर्वको रौनक नेपालीको घरआँगनसम्म पुग्न सक्दैन ।
नेपालको अर्थतन्त्र विभिन्न चरणमा भएका राजनीतिक आन्दोलन, भूकम्प र कोभिडका कारण अझै लयमा फर्किसकेको छैन । गत भदौ २३ र २४ गते नवपुस्ताको आन्दोलनले अर्थतन्त्रलाई थप सङ्कट थपेको छ । अहिले देशमा रहेका उद्योग, कलकारखाना पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् भने व्यापार-व्यवसायको अवस्था पनि उस्तै छ । आन्तरिक उत्पादन न्यून हुँदा आयातबाट आवश्यकता परिपूर्ति भइरहेको छ । निर्यात निराशाजनक भएकाले आयात वृद्धिबाट देशको आयात-निर्यातमा सन्तुलन हुन सकेको छैन । देशको अवस्था कमजोर भए पनि सबै पीडा बिर्सेर नेपालीले ऋणधन गरी जसोतसो यस वर्षको दसैँ मनाए । केही वर्षदेखि गाउँघरमा युवाको सङ्ख्या घट्दै जाँदा दसैँको मौलिकपन हराउँदै गएको छ । आफ्नो संस्कृति र संस्कार भुल्दै जानु हाम्रो पहिचान मेटिँदै जानु हो । दुर्गापक्ष सुरु भएसँगै विगतदेखि नै सहर, बजार रित्तिने र गाउँघर भरिने गथ्र्यो । यस वर्ष त चाडका मुखैमा भएको नवपुस्ताको आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाए भने सयौँ घाइते भएकाले देश नै शोकमा डुब्यो । दसैँ वरपर सक्रिय मनसुनका कारण बाढीपहिराले देशभरका सडकमार्ग अवरुद्ध रह्यो । यस अवधिमा झन्डै ५० जनाको मृत्यु भएको खबर आएको छ । शोकमा डुबेका नागरिकलाई बेमौसमी वर्षाले गर्दा आवतजावतमा थप असहज बनायो । तन्नेरी बिदेसिएपछि खेतबारी बाँझै भयो र चाडका लागि आवश्यक खाद्य सामग्रीको जोहो सहरबाटै गर्नुपर्ने बाध्यताले पनि औपचारिकतामै मनाउने संस्कार स्थापित भइरहेको छ ।
‘जोत्ने कोही छैन, खेतबारी जोत्ने कोही छैन, चुलो-चम्को, मझेरी लौ पोत्ने कोही छैन’ भन्ने शिशिर योगीको गीतले गाउँघरको यथार्थ वर्णन गरेको छ । दसैँ आएसँगै गाउँका बाटाघाटा, धारा, पँधेरा, चौतारो, मठमन्दिर सफा गर्ने, सामुदायिक अभियान सुरु हुन्थ्यो । अहिले गाउँघरमा बुढाबुढी र भुराभुरी मात्र हुँदा पिङ हाल्ने, घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । गाउँघरमा खेतीपाती हुन छाडेपछि जङ्गलमा रूपान्तरण भइरहेको छ भने जङ्गली जनावरको बिगबिगी त्यत्तिकै बढेको छ । विदुर-७, तुप्चेका ८६ वर्षीय जगतबहादुर सापकोटा भन्दै हुनुहुन्थ्यो, ‘पहिला पिङ हाल्न घरघरमा बाबियो उठाउन आउँथे, सबै मिलेर लठारो बाट्थ्यौं, अब त आफ्नै छोराछोरी पाहुनाझैं आउँछन् । कसले हालोस् पिङ ?’ कहीँ-कहीँ देखिने पिङ पनि नाइलन र जुटको डोरीको हुने गरेको छ । बाबियो कसैले खोज्दैन अब, न घर रङ्ग्याउन रातो, कमेरो माटो र कालीमाटी खोज्न निस्कने समूह देखिन्छ । चिउरा कुट्न, तेल पेल्न, मसला पिस्न हिँड्ने लर्को पनि हरायो । चाड सुरु भएसँगै आफू हिँड्ने बाटो आफैं बनाउने चलन थियो । प्रत्येक घरका एक-एक सदस्य अनिवार्य उपस्थित हुनुपथ्र्यो । न पिङको चइहुईको आवाज, न त मासु र चिउराकै महत्त्व । फूलपाती, अष्टमी र नवमीमा गाउँघरका दाजुभाइ, दिदीबहिनी मिलेर गाइने गीत, स्थानीय नाटक आदि पनि एकादेशका कथा भएका छन् । रोटेपिङ, लठारेपिङ, जाँतेपिङ र लिङ्गेपिङको वरिपरि बसेर झ्याउरे गीत गाउने र लङ्गुरबुर्जा खेल्ने समूह पनि हराइसकेको छ । दसैँ सहर तथा गाउँबाहिर जानेहरू भेला हुने र गाउँको विकासबारे छलफल गर्ने अवसर पनि हुन्थ्यो, तर आज सामाजिक सञ्जालबाट सरकारले यो गरेन, नेताले त्यो गरेन भनी गाली मात्र गरिन्छ । अहिले बाटो, बिजुली छ, झन् नयाँपन छ । त्यसैले जोस, जाँगर हुनुपर्ने हो, तर छैन । विजयादशमीका दिन परिवारका ज्येष्ठ नागरिकसँग घरका सबैले टीका थाप्दै आशीर्वाद थाप्ने चलन पनि आधुनिकताले हराउँदै गएको छ ।
एक दशकअघिसम्म गाउँका बस्ती बाक्लो थियो । सबै घरमा मानिस टन्न हुन्थे, छुट्टै रौनक र उल्लासमय वातावरण हुने गथ्र्यो । साथीभाइको ठुलो जमघट हुने गथ्र्यो । कुनै यस्तो चाडपर्व थिएन, जहाँ महिनौँ दिनदेखि हर्षउमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् वा गाई, बाख्रा चराउन वनजङ्गलमा जाँदा चुत्रो, ऐँसेलु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् वा हिउँदमा, गाउँघरमा छुट्टै उल्लास हुने गथ्र्यो, तर आजभोलि ती सबै इतिहास बनिसकेछन् । सबैले गाउँ बिर्सिए । रमाइलो गरेर उत्साह भर्ने र पर्यटक बोलाउन सकिने संस्कृति र संस्कारको संरक्षण गर्न जेन-जी फेरि जाग्ने वला भएन र ?
प्रतिक्रिया