उषाकिरण तिम्सेना
एमाले केन्द्रीय सदस्य
- नेकपा विघटन, चुनावी गठबन्धनजस्ता गलत अभ्यासबाट हामीले बोक्ने आदर्श र जनताका विश्वास सबैको धज्जी उडाउने काम भयो ।
- हिजो हामीले जसरी एमालेलाई ओलीकरण गर्यौँ, त्यसबाट धेरै मूल्य चुकाएका छौँ ।
- जेन-जीले त भनेकै थिए नि, हामी प्रणालीविरुद्ध छैनौँ – भ्रष्टाचारविरुद्ध लाग्न चाहन्छौँ ।
- नेता र मन्त्रीले जनतालाई निकै हेपेका थिए ।
- हाम्रा नेताहरू समाजसँग ‘सम्बन्धित’ नै हुनुहुन्न ।
- आक्रोशको भिडले कानुन चिन्दैन ।
- जनताका बिचमा गएर उठबस गर्नुपर्नेछ ।
- अब पनि पार्टी सच्चिँदैन भने सक्किने नै हो ।
- चाउचेस्कु अघिल्लो दिनसम्म मै हुँ सारा भन्दै थिए, भोलिपल्ट अज्ञात ठाउँमा लगेर काटियो ।
- मलाई त कतिपयले पार्टीमा नबस् पनि भनेका छन् ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेपाली राजनीतिक समीकरण फेरिएको छ । पालैपालो सत्तामा राज गर्दै आएका नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सत्ताबाहिर पुगेका छन् । प्रतिनिधिसभा विघटन भएको छ । प्रथम महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । नेतृत्वमा यथास्थितिवाद र लचकता नदेखिँदा दलहरू सच्चिनेभन्दा पनि सक्किने बाटामा लागेका देखिन्छन् । त्यसो त पुराना दललाई रूपान्तरण गर्नुपर्छ भन्नेहरू पनि छन् । तर, नेतृत्व उनीहरूको बोली सुन्न चाहँदैन । पुस्तान्तरण र रूपान्तरणको आवाज उठाउनेमध्येकी एक नेतृ हुनुुन्छ एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेना । नुवाकोटको तारकेश्वर गाउँपालिका, दाङसिङमा जन्मनुभएकी तिम्सेना अनेरास्ववियुको राजनीतिबाट प्रतिस्पर्धा गर्दै केन्द्रीय सदस्यमा पुग्नुभएको हो । उहाँ यति वेला पार्टीको साख फर्काउने कसरतमा हुनुहुन्छ । पार्टीमा पुरानो पुस्ताले बिदा लिनुपर्ने अडान उहाँको छ । उनै तिम्सेनासँग पार्टी र समग्र राजनीतिक परिस्थितिका विषयमा गरिएको कुराकानी :
जेन-जी आन्दोलनले राजनीतिक परिवर्तन गर्यो । के यो पत्यारलाग्दो विषय थियो ?
मलाई जेन-जीको आन्दोलनले गौरव अनुभव भइरहेको छ । मलाई सधैँ लाग्थ्यो – नेपालमा भ्रष्टाचारविरुद्धको आन्दोलन भए हुन्थ्यो । भ्रष्टाचार हुने समाज कहिल्यै न्यायतिर फर्किँदैन । यहाँ हिजोको आज, आजको भोलि धनी हुने प्रवृत्ति छ । सीमित मानिसको धनी हुने लालचामा मुलुकको आर्थिक ब्यारोमिटर कमजोर बनाइएको छ । समग्रमा भ्रष्टाचारले देशको सर्वाङ्गीण विकासमा धेरै हानि पुर्याएको छ । समाजमा भ्रष्टाचार छ, यसका विरुद्ध लाग्नुपर्छ भन्ने किशोर बुझाइ अघि बढ्यो । यही कारण जेन-जी सडकमा गयो । यही एजेन्डालाई कतिपयले गलत प्रयोग पनि गरेका छन् ।
जेन-जी आन्दोलन जसरी उठेको थियो, त्यसको बैठान सही भएन जस्तो लाग्दैन तपाईंलाई ?
म विश्लेषक होइन, म राजनीतिक कार्यकर्ता हुँ । राजनीतिक हिसाबले भन्दा भ्रष्टाचारविरुद्ध बुझ्ने, समाधान निकाल्ने कुरा त दलमा लामो समय व्यतीत गरिसकेका मजस्ता कार्यकर्तालाई छर्लङ्ग छ नि । मभन्दा माथिका कमरेडले सरकारमा जाँदा के गरिरहेका छन् भन्ने त थाहा पाइएकै छ । भ्रष्टाचार नियन्त्रणको मुद्दा राजनीतिक दलको हुनुपथ्र्यो । जस्तो म भ्रष्टाचारविरोधी अभियानकर्मी हुँ । मजस्ता कार्यकर्तालाई सुशासनका पक्षमा लाग भन्नुपथ्र्यो नि । तर, राजनीतिक दल अहिले त्यस्ता छैनन् । हाम्रो त अखिलमा आएका कार्यकर्ता पनि दबाब समूह होइन, भजनमण्डलीमा रूपान्तरण भइरहेको छ । जेन-जीको प्रतिनिधित्व गर्ने विद्यार्थी सङ्गठन नेताकै जयजयकारमा अडिएको छ । जस्तो भिसी नियुक्ति गर्दा, त्रिविबारे अखिलको एजेन्डा मान्नुपर्छ भन्ने एमालेलाई लाग्नुपथ्र्यो नि । तर, जसले बढी जयजयकार गर्यो, पार्टीले त्यसैलाई अखिलको नेतृत्व दिएका छन् । दलहरूको अकर्मण्यता, गलत अभ्यास र गैरराजनीतीकरणले अहिलेको अवस्था आयो । गणतन्त्र स्थापनापछि दलहरू जसरी चले, त्यो गलत थियो नि त । सामान्य मानिसले नेतालाई काट्नुपर्छ, लखेट्नुपर्छ भनेको सुनिन्थ्यो चिया पसलमा । उनीहरूले वास्तविक भनेका रहेछन् । हामी त यसविरुद्ध थियौँ । हामी नागरिकस्तरबाट अघि बढ्नुपर्छ भन्थ्यौँ । आक्रोशको भिडले त कानुन नचिन्दो रहेछ ।
तपाईंमाथि पार्टी नेतृत्व किन अनुदार भइरहेको छ ? जिम्मेवार नेताहरूबाट साइबर बुलिङ र ह्यारेसमेन्ट भयो भन्नुभएको छ, यी कुरा खुलाउन मिल्छ ?
म नेताहरूले नचाहेको केन्द्रीय सदस्य हुँ । मैले यस पार्टीको सदस्यता लिएको २५ वर्ष भयो । केन्द्रीय सदस्य पद पार्टीका विषयमा बोल्न नमिल्ने ठाउँ रहेछ । अहिले त पार्टीमा यो भएन, त्यो भएन भन्दासमेत साइबर बुलिङ र ह्यारेसमेन्ट खेप्नुपरेको छ । कसले मलाई ह्यारेस्मेन्ट गरेको छ, अहिले भन्दिनँ । पछि उहाँहरूलाई कारबाही हुनुपर्छ । हाम्रा पार्टीहरू मृत बने । पार्टी सङ्गठन जनताका विषयमा बोल्ने र निष्कर्ष निकाल्ने ठाउँ नभई नेताहरूको अवैधानिक कामलाई वैधानिक बनाउने थलो बनेको छ । यस्तो प्रवृत्ति एमालेमा मात्र होइन, माओवादी र काङ्ग्रेसमा पनि छ । नेकपा विघटन, चुनावी गठबन्धनजस्ता गलत अभ्यासबाट हामीले बोक्ने आदर्श र जनताका विश्वास सबै कुराको धज्जी उडाउने काम भएको हो । जेन-जीले त भनेकै थिए नि, हामी प्रणालीविरुद्ध छैनौँ – भ्रष्टाचारविरुद्ध लाग्न चाहन्छौँ । नेताहरूको सम्पत्ति छानबिन गरौँ भन्ने नारा लिएर आएका थिए उनीहरू जुन एकदमै राम्रो छ । हामी जुन वेला अहिलेका जेन-जीजस्तै थियौँ, त्यस वेला हामी पनि गणतन्त्र फ्याल्ने, राजतन्त्र ल्याउने कदममा थियौँ । प्रत्येक युगको आफ्नै चेतना हुन्छ । हामीमा गणतन्त्र ल्याउने मात्र चेतना थियो भने अहिले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ भन्ने चेतना आयो ।
के जेन-जीले उठाएका एजेन्डा सही छन् त ?
जेन-जीले उठाएका एजेन्डा राम्रा छन्, तर देशभरका सबै कामकारबाहीमा ती मात्र थिएनन् । भदौ २३ कै कुरा गर्ने हो भने राम्रा एजेन्डा लिएर युवा सडकमा आए, तर कतिपयलाई सरकारले मारिदियो । प्रतिक्रियास्वरूप केही शक्तिले संरचनामा आगजनी गरे । यो त राजनीतिक दल र सरकारविरुद्धकोे आक्रोश हो । नेता र मन्त्रीले जनतालाई निकै हेपेका थिए । बहालवाला मन्त्रीले ‘को हो त्यो अख्तियार ?’ भन्नेसम्म अभिव्यक्ति दिन्थे । दलका जिम्मेवार नेताहरू नै ‘काङ्ग्रेस-एमालेले गरेको निर्णयमा कहाँ हुन्छ छानबिन ?’ भन्थे । काङ्ग्रेस-एमालेलाई मनपरी गर्ने अधिकार जनताले दिएका त थिएनन् नि । जनताको मतमाथि एकदमै खेलबाड भयो । अनि अब पनि यो कुरा सिकेनौँ वा परिवर्तन भएन भने अर्को परकम्प खेप्नुपर्छ । हामी धेरै सच्चिनुपर्छ, म त भन्छु – जनताका बिचमा गएर उठबस गर्नुपर्नेछ ।
एमालेमा त सुध्रिने सङ्केत देखिँदैन नि ?
अब पनि पार्टी सच्चिँदैन भने सक्किने नै हो । हिजो हामीले जसरी एमालेलाई ओलीकरण गयौँ, त्यसबाट धेरै मूल्य चुकाएका छौँ । अब पनि नसुध्रिँदा त हाम्रो पराजय निश्चित छ । हिजो म नवीन्द्रराज जोशीको एउटा भाषण सुन्दै थिएँ । उहाँले भन्नुभएको थियो, ‘चाउचेस्कु अघिल्लो दिनसम्म मै हुँ सारा भन्दै थियो, भोलिपल्ट अज्ञात ठाउँमा लगेर काटे ।’ हामीले गरेका कामकै कारण दुर्दिन र राम्रा दिन आउने हुन् । तपाईं राम्रा काम गर्दै जानुहुन्छ, परिणाम राम्रो आउँछ, नराम्रो गर्दै जानुहुन्छ, नराम्रै मिल्छ ।
एमालेमा सुधार गर्न के-कस्ता काम गर्न आवश्यक छ ?
एमालेलाई सुधार गरेर पुग्दैन, यसलाई परिवर्तन गर्नुपर्छ । एमालेलाई जनतामा पुयाउन ३६० डिग्रीको परिवर्तन आवश्यक छ । यसको विधान, प्रतिवेदन, कार्यपत्र, निष्कर्षचाहिँ ठिक छ, कार्यान्वयनमा परिवर्तन गर्नुपर्छ । विधानमा भएका कमजोरी हटाउनुपर्छ, नेतृत्व फेर्नुपर्छ, नत्र एमाले सुध्रिँदैन । एमालेले विधान महाधिवेशन ग¥यो, त्यहाँ त जेन-जीबारे गलत विश्लेषण गरियो नि । नेताहरू जेन-जी के हो भन्ने बुझ्दैनन् । मतलब अघिल्लो दिन जेन-जीलाई केही नठान्नेहरू भोलिपल्ट दिउँसै किन भाग्नुपर्ने भयो ? के हाम्रा नेताहरूमा यति पनि दूरदर्शिता छैन ? हाम्रा नेताहरू समाजसँग ‘सम्बन्धित’ नै हुनुहुन्न । सडकमा खाल्डा छन्, बाटामा साइकल चलाएर हिँड्दा के हुन्छ, हाम्रो नेतृत्वलाई थाहै छैन, किनभने ल्यान्डक्रुजरमा हिँड्नेलाई थाहा हुन्न नि ।
हाम्रो सार्वजनिक सेवा कस्तो छ भन्ने त थाहा भइहाल्यो नि । हाम्रो देशको एउटा राष्ट्रिय राजमार्ग छैन । सडकको समस्या २० वर्षदेखि एउटै भोगिरहेका छौँ । हाम्रो नेतृत्वलाई आफ्नै छोराछोरीले पनि पत्याउँदैनन् । जनतासँग जोडिँदा मात्र समाजबारे जानिने हो । नेतृत्व एकदमै जागरुक हुनुपर्छ, अहिलेको पुस्तादेखि विषयवस्तुसँग अद्यावधिक भइरहनुपर्छ । हाम्रामा त विश्वविद्यालयमा चरम राजनीति छ, राजनीतिशास्त्र, समाजशास्त्र पढ्ने विद्यार्थीसँग यी नेताको अन्तरक्रिया कहिल्यै हुँदैन । पासपोर्ट बनाउन लाइनमा बसेको, कन्सल्टेन्सी धाइरहेको, एमबिबिएस पढेर पिटिई पढिरहेका युवासँग हाम्रा नेताको संवाद हुँदैन ।
हाम्रा नेताहरू समाजभन्दा भिन्न अवस्थामा छन् भन्न खोज्नुभएको हो ?
भिन्न होइन, हाम्रा नेताहरू समाजभन्दा धेरै टाढा भइसके । उनीहरूलाई समाजसँग मतलब छैन । समाजसँग त व्यक्तिको परिवार हुन्छ, घर हुन्छ, महँगी हुन्छ, बेरोजगारी र हन्डरठक्कर हुन्छ । समाजमा अनेक समस्या हुन्छन् नि । समाजमा त राम्रो र नराम्रो दुवै छ । हाम्रा नेतालाई यस्ता कुरा थाहै छैन नि । यो भनेको उनीहरू समाजभन्दा टाढा भइसके । यही कारण हामीले दुर्घटना व्यहोरेका हौँ । म हिजो पनि यही कुरा भन्थेँ, आज पनि भन्छु, भोलि पनि भनिरहनेछु । अरू कुरा नसके पनि आफ्ना कुरा उठान गरिरहनुपर्छ । मलाई त कतिपयले पार्टीमा नबस् पनि भन्छन् । म कसैको चाहनाले एमाले कार्यकर्ता भएको होइन । म त एमाले राम्रो हुँदा मात्र समाज बन्छ भन्ने गर्छु । अहिले त मेरो पक्षधरता पनि बढेको छ । म आफ्नो काम गरिरहन्छु, यसैमा खुसी छु । म त काहीँ पुग्छु भनेर लागेको होइन, म त परिवर्तनका लागि लागेकी हुँ, लागिरहनेछु । (तिम्सेनाको फेसबुक पेजबाट साभार)
प्रतिक्रिया