बट्टार । नुवाकोट जिल्ला, विदुर-४ बट्टार, हावाघरस्थित नेपाल औषधि व्यवसायी सङ्घ नुवाकोटले औषधि बैंक खोल्ने तयारी गरेको छ । यही असोज १० गते सङ्घको स्थापना दिवस तथा विजयादशमी, दीपावली, नेपाल संवत् ११४६ एवम् छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा बैंक सञ्चालन गर्ने जानकारी दिइएको हो । सो अवसरमा सङ्घका अध्यक्ष टलकमान श्रेष्ठले हावाघरमा तीन आना जग्गामा रु.१० लाखमा तीनकोठे भवन बनाएको र भवनमा छिट्टै औषधि बैंक सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाबाट प्राप्त सो जग्गामा भवन बनाउन जिल्लाका औषधि व्यवसायीबाट रु.तीन लाख, विदुर नगरपालिकाबाट रु.दुई लाख, औषधि कम्पनीबाट रु.डेढ लाख र औषधि व्यवसायी विभिन्न जिल्ला सङ्घ र बागमती प्रदेश सङ्घबाट रु.एक लाख प्राप्त भएको र अझै तीन लाख नपुग भएकोसमेत जनाइएको छ ।
औषधि बैंकमा विभिन्न कम्पनीबाट प्राप्त हुने नमुना औषधि, बिरामी र बिरामीका परिवारले बढी भएका र खान छाडेका खेर जाने औषधि उपलब्ध गराउन सक्नेछन् । निःशुल्क औषधि दिने र निःशुल्क औषधि लिने सुविधा बैंकमा हुनेसमेत बताइएको छ । जिल्लामा सङ्घको सम्पर्क समिति विसं २०६० मा खुले पनि वैधानिक रूपमा २०७६ असोज १० गतेदेखि सङ्घको मान्यता पाएको थियो । सोही दिनलाई सङ्घले स्थापना दिवसको रूपमा कार्यक्रम गर्दै आएको छ । सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष रहेका मोहनबहादुर खड्काले सो कार्यक्रमलाई सम्बोधन गर्दै विगतदेखि हालसम्मको अवस्थाको जानकारी दिनुभएको थियो । सङ्घ वैधानिक भएपछि विसं २०७६ देखि हालसम्म टलकमानले नेतृत्व गरिरहनुभएको छ । सङ्घले विगत २०६२/०६३ मा त्रिशूली अस्पतालमा औषधि बैंक सञ्चालन गरे पनि अस्पतालले व्यवस्थापन गर्न नसकेका कारण डेढ वर्षमै बन्द भएको सो कार्यक्रममा सङ्घका उपाध्यक्ष प्रेमकुमार सापकोटाले स्मरण गर्नुभयो ।
विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले गमलामा बिरुवा सारेर र सिँचाइ गरेर कार्यक्रमको उद्घाटन गर्दै बैंक स्थापनाका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने र एक साझेदार बन्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका महासचिव भीमबहादुर रोक्काले सञ्चालन गर्नुभएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष एवम् सञ्चारकर्मी शरणउत्सुक, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेलगायतले कम्पनीले दिएको छुटमा गुणस्तरीय औषधि बिक्री-वितरण गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया