नुवाकोटकी कुमारीलाई वस्त्र र आभूषण प्रदान

धान्य पूर्णिमामा सिंहासन चढाइने

नुवाकोटकी कुमारीलाई वस्त्र र आभूषण प्रदान
त्रिशूली प्रवाह
९ घण्टा अगाडी

विदुर । नुवाकोटकी कुमारीलाई यही असोज १३ गते पूजा तथा दर्शन गरी शुभसाइतमा विधिविधानपूर्वक वस्त्र तथा आभूषण चढाइएको छ । ललितपुरनिवासी मूर्तिकार तथा नेवारी संस्कृति अभियानकर्मी रवि शाक्यले ‘जीवित देवी’लाई वस्त्राभूषण चढाउनुभएको हो । यहाँ असोज ६ गतेदेखि कुमारी परिवर्तन हुनुभएको छ । नयाँ कुमारीमा विदुर-२, भूटोलकी सात वर्षीया प्रार्थी डङ्गोललाई भैरवीका पुजारी हरिमानसिंह डङ्गोलले विधिपूर्वक नियुक्त गर्नुभएको थियो । यसअघिकी कुमारी डिनिसा डङ्गोल रजस्वला भएकीले परम्पराअनुसार नयाँ कुमारी छनोट हुनुभएको हो । वि.सं. २०७० मा पाँच महिनाको उमेरदेखि कुमारीका रूपमा रहेकी डिनिसालाई सोही दिन बिदाइ गरिएको थियो ।

घटस्थापनाकै दिन नयाँ कुमारीलाई विनायक फाउन्डेसन कीर्तिपुर, पाँगाले नवनागजडित स्वर्ण मयुरयुक्त सिंहासन बनाएर चढाउने प्रतिबद्धता गरी किसली चढाई प्रतिज्ञा गरिएको सामाजिक तथा सांस्कृतिक अभियानकर्मी गौतममानसिंह डङ्गोलले जानकारी दिनुभयो । विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठलाई साक्षी राखी फाउन्डेसनका प्रतिनिधिले किसली चढाई प्रतिज्ञा गर्नुभएको थियो । चार सय तोला चाँदी, पाँच तोला सुन, विशेष कलात्मक सिंहासन आगामी मङ्सिर १८ गते पूर्णिमा व्रत/धान्य पूर्णिमा/यमरी पुन्हीको दिन चढाउने योजना छ । नुवाकोटमा लोपोन्मुख कुमारीको प्रतिष्ठा र कलासंस्कृतिको जगेर्नाका लागि शाक्य र फाउन्डेसनलाई धन्यवाद दिँदै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले पनि यसमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यहाँ कुमारीलाई भैरवी देवीको प्रतीकसमेत मानिएको छ ।

कुमारी छनोटको विधिअनुसार भैरवीका पुजारी हरिमानसिंहले धामी खलकमध्येबाट घटनास्थापनादेखि लागू हुने गरी नियुक्त गर्नुभएको हो । नवनियुक्त कुमारी नारायणमान डङ्गोल र देवकी श्रेष्ठकी नातिनी तथा प्रवीणकिशोर र रूपा डङ्गोलका दोस्रो सन्तान हुनुहुन्छ । विसं २०७६ भदौ २३ गते जन्मनुभएकी उहाँ भैरवी माविमा युकेजीमा अध्ययनरत हुनुहुन्छ । सोमबार जन्मनुभएकी उहाँ सोही बार नै नुवाकोटकी ‘जीवित देवी’ मा नियुक्त हुनुभयो । केन्द्रीय राजधानी काठमाडौँ तथा ललितपुर र भक्तपुरमा कुमारी नियुक्त भएजस्तै परम्परादेखि चल्दै आएको यहाँको प्रथालाई पनि निरन्तरता दिइएको विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले बताउनुभयो । उहाँका अनुसार विगतदेखि धामी परिवारबाटै कुमारी नियुक्त गरिँदै आएको छ । नेपाल सरकारको प्रचलित नियमअनुसार तलबभत्ता खाने गरी उहाँलाई नियुक्त गरिएको पुजारी हरिमानसिंहले जानकारी बताउनुभयो ।

कुमारी नियुक्तिको बोधार्थ कौसी तोषाखाना काठमाडौँ, त्रिपुरेश्वर, गुठी संस्थान केन्द्रीय कार्यालय र यसअघिकी कुमारी डिनिसालाई दिइएको छ । घटस्थापनादेखि विजयादशमीसम्म र सिन्दुरेजात्राका लागि कुमारी आवश्यक हुने गरेको छ । ‘मलाई आफ्नी छोरी कुमारीका रूपमा छनोट हुँदा एकदमै खुसी र गर्व लागेको छ, बुबाको भावनालाई अलग राखेर सोच्ने हो भने आफ्नी छोरी कुमारीका रूपमा छनोट हुनु सौभाग्यको कुरा हो ।  जोकोहीले यो अवसर पाउँदैनन्, भाग्यमा लेखेर ल्याउनुपर्छ,’ कुमारीका बुबा प्रवीणकिशोरले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । उहाँका अनुसार आफ्नी छोरी देवीको रूप कुमारीमा नियुक्त भएपछि उनको सम्मान र इज्जत बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह