विदुर । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको क्रममा देशभरका कारागारबाट भागेका कैदीलाई लुकाउने, छिपाउने वा आश्रय दिए कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने भएको छ । गृह मन्त्रालयले भागेका कैदीबन्दीलाई सोमबारसम्म फर्किने अन्तिम म्याद दिएको थियो । सो अवधिमा नफर्किनेमाथि कारागार नियमावलीअनुसार थप सजाय हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत हप्ता सूचना प्रकाशित गरी देशका विभिन्न कारागारबाट ठुलो सङ्ख्यामा भागेका कैदीबन्दी नुवाकोटमा पनि आउन सक्ने भएकाले स्थानीयवासीलाई सूचना दिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जारी गर्नुभएको सूचनामा कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम फरार कैदीबन्दीलाई लुकाए कसुरदार ठानी कारबाही हुने उल्लेख गरिएको छ । सरकारले फरार कैदीबन्दीको खोजी तथा पक्राउ कार्यदल गठन गरी कार्य आरम्भ भएकोसमेत उहाँले जानकारी दिनुभयो । जेन-जी आन्दोलनको क्रममा छिमेकी जिल्ला रसुवा र धादिङमा कैदीबन्दीले कारागार तोडफोड गरी भागे पनि नुवाकोट कारागारमा भने उच्च सतर्कता अपनाइएकाले गैरकानुनी क्रियाकलापमा कैदीबन्दी संलग्न नभएकाले कारागार शान्त र सुरक्षित रहेको थियो ।
भदौ २४ मा करिब १३ हजार कैदीबन्दी कारागारबाट भागेका थिए । भागेकामध्ये आधा फर्किए पनि आधा अझै बाहिरै छन् । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सोमबारसम्म कारागार नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ अनुसार कारबाही हुनेछ । जसअनुसार कारागारबाट भागेको कसुरमा उनीहरूमाथि ५० प्रतिशतसम्म सजाय थप हुनेछ । कारागारबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ । समितिलाई खोजतलास र निगरानीलाई सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । फरार कैदीबन्दीलाई लुकाउनेलाई समेत कारबाही गरिने विभागले जनाएको छ । साथै कारागारबाट भागेका बन्दीहरू कतै देखेमा नजिकको प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया