विदुर । जिल्ला बजार अनुगमन समिति नुवाकोटले चाडपर्वलक्षित बजार अनुगमन तथा म्याद गुज्रेका वस्तुको अनुगमन र नियन्त्रण अभियान चलाएको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा दसैँअघि जिल्लाको विभिन्न भेगमा अनुगमन गरी सचेत गराइएको छ । बुधबार विदुर नगरपालिकाको बट्टार क्षेत्रमा अनुगमन भएको थियो ।
समितिले दसैँको मुखमै असोज ११ गते विदुर-४ बट्टारमा रहेको बिगमार्ट र साल्ट ट्रेडिङ कर्पोरेसनको अनुगमन गरी दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले पाउनुपर्ने छुट दिन र म्याद सकिएका तथा कमसल सामग्री बिक्री, वितरण नगर्न सचेत गराइएको समितिका सचिव तथा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सीताराम घिमिरेले बताउनुभयो । समितिले उपभोक्ता हितविपरीत हुने गतिविधिलाई कारबाहीको दायरामा ल्याउने पनि बताएको छ । चाडपर्व र अन्य समयमा पनि नियमित बजार अनुगमन कार्यलाई निरन्तर जारी राख्ने समितिले बताएको छ । चाडपर्वको मौका छोपी ग्राहक तथा उपभोक्तालाई महँगो मूल्य लिने, कमसल सामग्री भिडाउने, ग्राहकैपिच्छे फरकफरक मूल्य लिनेजस्ता कार्य नगर्न जिल्लाका सम्पूर्ण व्यवसायीलाई समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया