दुप्चेश्वर : सबै धर्मावलम्बीका लागि खुला

दुप्चेश्वर : सबै धर्मावलम्बीका लागि खुला
तारा सुनाखरी
१३ घण्टा अगाडी

मङ्सिरे चिसो, न्यानो ओछ्यान अनि मस्त निद्रा । दुईतिर घडीमा अलार्म बजेपछि झसङ्ग ब्युँझिएँ । म दङ्ग परेँ । नानुले भनिन्, ‘मामु हजुरले बिर्सिनुहुन्छ भनेर मैले पनि अलार्म राखेकी थिएँ ।’ ‘ओहो, कति जिम्मेवार हुँदा रहेछन् केटाकेटी, अब त मेरा अभिभावक पो भएछन् भन्ने भान भयो’ मलाई । मैले बिहानीको नित्यकर्मपछि न्यानो ऊनी कुर्ता लगाएँ, स्वीटर लगाएँ । घुँडासम्म आउने ज्याकेट लगाएँ अनि ऊनी न्यानो टोपी लगाएँ, ऊनी पछ्यौराले आफूलाई न्यानो हुने गरी बेरेँ ।

२०८१ मङ्सिर २१ गते, बिहानै ६ः३० मा काठमाडौंको कागेश्वरी मनोहरा-८ तेजविनायक चोकबाट हाम्रो यात्रा सुरु भयो । मेरा सहयात्री सिन्धुभ्याली क्याम्पस, मेलम्चीको क्याम्पस प्रमुख ठाकुरराम चौलागाईं सर हुनुहुन्थ्यो । हामी चाबहिल, धूम्रबाराही हुँदै टोखाबाट उकालो लाग्यौँ । झोरको उकालोमा पुगेर मैले फर्केर काठमाडौँ हेरेँ । भर्खरै सूर्य उदाउँदै थियो । समय बिहानीको ७ः१० भएको थियो । बादलले ढाकेको धुम्म आकाश, सूर्य मधुरो किरणले काठमाडौँलाई चियाउन खोज्दै थियो । म खुसी यति थिएँ कि, नुवाकोट काठमाडौंनजिकैको जिल्ला भए पनि खासै सबै पालिका पुगेकी थिइनँ । परारको साल ककनी गाउँपालिकाचाहिँ पुगेकी थिएँ । तर, त्यहाँ र यहाँको बाटो एकदम भिन्न थियो । यसपालि धार्मिक स्थलका नाममा प्रचलित दुप्चेश्वर महादेव र त्यही महादेवका नाममा राखिएको दुप्चेश्वर गाउँपालिकाको निमन्त्रणा स्वीकार गर्दै हामी आएका थियौँ । एक पन्थ, दो काज भनेजस्तै मचाहिँ धेरै खुसी थिएँ । चौलागाईं सर यहाँभन्दा अघिल्लो वर्ष पनि आइसक्नुभएको थियो । तर, मेरा लागि सबै नयाँ । त्यो बाटो, उकाली, ओराली अनि मौसम र त्यहाँको हरेक चिजले मलाई तान्दै थियो । मेरो साथमा हुनुहुन्थ्यो, क्याम्पस प्रमुख, उहाँलाई ज्ञान छ कि तारा म्याम प्रकृतिको सामीप्यता रुचाउने व्यक्ति हो । उहाँले सुनाउनुभयो, ‘पहराको बिचमा दुप्चेश्वर महादेवको मन्दिर छ, हजुर त्यहाँ पुगेपछि आभाष गर्नुहुन्छ ‘एक अलौकिक शक्ति जो अहिलेसम्म देख्नुभएको छैन होला, म अरू केही भन्न सक्दिनँ हजुर पुगेपछि आफैँ देख्नुहुनेछ ।’

आँखावरिपरि चित्र घुम्न थाले । कतै केदारनाथ वा बद्रीनाथजस्तै भनेर मनमनै सोचेँ । प्रकृतिको काखमा भिर, पहाराको बिचमा अवस्थित छ, कस्तो होला ? देख्न आतुर थिएँ । साहै्र कुतूहल भयो, कतिवेला पुगेर मेरा यी आँखाले देख्न पाउँछु भनेर । मनमनै गद्गद् थिएँ । सहयात्री सर भने चुपचाप हुनुहुन्छ । म सुनाउनु अरू भन्छु, ‘हजुर आफैँले देख्नुहुन्छ । अब हामी १० बजे पुग्छौँ’ भन्नुभयो । त्यसपछि नागबेली जस्तै घुमाउरो र फराकिला घुम्ती छिचोल्दै थियौँ । चिसो हावाले छोएको महसुस हुन थाल्यो । मीठो, चिसो सिरेटो, कतिवटा हिमाल पार गर्दै आएको चिसो हिउँसँगै आएजस्तै आभाष भयो । गुर्जे भञ्ज्याङस्थित भगवती दल गणलाई पार गरिरहँदा आँखा एक्कासि रोकियो, राउचुली हिमाल नुवाकोट र गणेश हिमाल रसुवा हिमशृङ्खलामा । मलाई एकनास हेरिरहेको र आफ्नो आलिंगनमा बेर्न खोजेको अनुभूति भयो ।

मैले सरलाई भने, ‘सर, फर्किँदा एकैछिन मलाई यहाँ बस्न दिनुहोस् है । हिमशृङ्खलालाई म यहीँबाट नियाल्न चाहन्छु ।’ सरले भन्नुभयो, ‘अवश्य ।’ हामी त्यहाँबाट ओरालो लाग्यौँ । फेरि सुरू भयो, घुम्ती पारि देखिने नागबेली सडक । सरले देखाउँदै भन्नुभयो, ‘त्यो पारीको सडक सबै पार गर्नुपर्छ हामीले ।’ सुन्दर पहेँलो प्याउलीको फूलको सुन्दरताले पाखा ओर्लेर यी फूलहरूसँगै मुस्काउँजस्तै भयो मलाई । एकछिन गुनगुनाएँ पनि ‘डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ’ । त्यसपछि नागबेलीझैँ गुरुङ गाउँको माझमा पुग्यौँ र सेतो रहरलाग्दा मूला र रायोको लोकल साग काँचै खाउँजस्तै हरियो, लहलह परेका पात देखेर मन लोभियो । सरलाई भनेँ, ‘आहा साग लानुपर्छ है सर । ‘हस हुन्छ म्याम’ उहाँले भन्नुभयो । सिस्नुचाहिँ पाइन्छ कि पाइन्न होला है सर ? पाए लानुपर्छ है भनेँ । सरले ‘सिस्नुको सम्भावनाचाहिँ छैन होला, मिलेसम्म बरु समुद्र फिनी नामको चामल पाइन्छ, त्योचाहिँ दुप्चेश्वरको शिखर फाँटमा मात्रै उत्पादन हुने चामल हो । त्योचाहिँ ल्याउनपर्छ’ भन्नुभयो । हामी थाना भञ्ज्याङनजिकै थियौँ । शीतका थोपा अझै फूलको पत्रदलमा स्नेहपूर्ण बेरिएका थिए । बाटो अग्ला-अग्ला पहाडले छेलिएको थियो । घाम त उदाएको थियो, तर त्यहाँ आइपुग्न समय लाग्ने रहेछ ।

थापागाउँ, छहरे बजार हुँदै ढिकुरे पुगेपछि एकछिन आराम गर्ने कुरा भयो । हामीले चिया खाने निधो ग¥यौँ  र, मैले कहाँ खाने चिया भनेर सरलाई सोधेँ । उहाँले ‘यहाँ छ नि पसल’ भनेपछि एउटा चिया पसलअगाडि हामी रोकियौँ, जहाँ एक महिला चिया पकाउँदै हुनुहुँदोरहेछ । सायद, उमेरकै हिसाबले मभन्दा कान्छी, हँसिली, मिठो बोली, नम्र स्वभाव मेरो आँखामै बसिन् । चियापछि फेरि निरन्तर यात्रा थियो । लिखु खोलाको पुल तर्दै हामी चौघराको फाँटतिर प्रस्थान गर्दै आफ्नो यात्रा तय गर्दै थियौँ । देखिन थाल्यो रहरलाग्दा बेँसीका फाँट, जसले मन्त्रमुग्ध बनायो मलाई । ओर्लिएर बालापनजस्तै उफ्रिँदै खेतका गरा-गरामा पुगौँ लाग्यो । अनि, परालको कुन्युले त्यो फाँट अझै शृङ्गारिएको थियो, जसले मलाई भन्दै थियो कि ‘यहाँ परिश्रमी मानिसको वासस्थान हो ।’ एक वर्षमा तीन बाली हुने रहेछ यहाँ । गहुँ, आलु अनि धान विशेष खेतीमा पर्ने रहेछ । यही ओर्लेर केही समय प्रकृतिकै काखमै हराउन मन भयो । सारा पीडा, दुःख, पिर काठमाडौँमै बिर्सेझैँ लाग्यो, एकछिन नतमस्तक भएँ । मानवीय प्रकृति सोच पनि कति रमाउन खोज्ने यो हावाजस्तै अनि चरीजस्तै स्वतन्त्र उड्न खोज्ने यो मन आखिर प्रकृतिमै रमाउने रहेछ ।

नुवाकोट पहाड नै हो । तर, यो फाँट हेर्दा चितवनतिर पुगेझैँ लाग्यो । कुनै घरअगाडि अंगुरको लहरा थियो भने कतै लालुपाते फुलेर सुन्दर सजिएका थिए । हामी पञ्चकन्याको सिमरा पार गर्दै गर्दा मेरो आँखा ड्रागन फ्रुटको व्यवसायी खेतीतिर गयो । आहा ! रहरलाग्दा उर्वरभूमि, मनमनै खुसीको सीमा थिएन । मेरा आँखा यति आनन्दित थिए, आखिर उपज हुँदै सुन्दर देखिने धरती, शृङ्गारिएको झैँ हगी ! सोच्दै मन गद्गद् थियो । यो फाँटसँग बसेको माया अब कहिले साट्ने होला ?सोच्दै आफ्नै गन्तव्यमा पुग्न आतुर थियौँ । फराकिला बाटा पार गर्दै अघि बढ्दै गर्दा वर-पिपलको पुराना बोटले झनै तान्यो मलाई । मैले सरलाई भनेँ, ‘म कतै अहिलेभन्दा अघिको जन्ममा मानिस नै थिएँ कि यो वर-पिपल, वन, जङ्गल, खोला, नाला, पहाड, हिमाल सबैको माया मान्छेको जस्तै लाग्छ ।’ सरले भन्नुभयो ‘अब मर्नु न अनि थाह हुन्छ कि हामीलाई कति सम्झिनु हुँदोरहेछ ।’ ‘के भन्नुभएको सर, म मरेँ भने कसरी सम्झिन्छु ?’ भन्दै हामी अघि बढ्यौँ । हामी सूर्यमती खोलाको पुल तर्दै बाहुनबेँसीमा प्रवेश गरिसकेका थियौँ । चारैतिर केराघारी अनि घरघरमा माहुरीपालन । कति रमाइलो लाग्यो, यहाँ त अर्गानिक र शुद्ध फलफूल अनि मह खान पाइने रहेछ । यति भए यहाँको मानिसको जीवनस्तरसाथै स्वास्थ्य धेरै स्वस्थ हुनुपर्छ । जब दोर्खुखोला पार ग¥यौँ । अनि, खरानीटार हुँदै घट्टेखोलाको पुल तरेपछि सातबिसे आयो । सँगसँगै नौबिसे आयो, जहाँ भुतखोलाको गेट छ । तादी गाउँपालिकाको सिमाना पर्ने त्यहाँबाट हामी दाहिने लाग्यौँ, जसले दुप्चेश्वर महादेव जाने बाटो दर्शाएको थियो ।

गाउँपालिका पुगेपछि एउटा होटेलमा आ-आफ्नो कोठामा ब्याग बिसायौँ । त्यसपछि दुप्चेश्वर होटेलमा सामान राखेर हतार–हतार समुन्द्रटार बजारकै काकी (श्रेष्ठ खाजा घर) कामा खाना खान पुग्यौँ । खानापश्चात् गाउँपालिका कार्यालयको हल (जहाँ हामीले आजको कार्यक्रम सञ्चालन गर्नुपर्ने थियो) पुग्यौँ । मचाहिँ पानी तताउँदै थिएँ, खबर आयो कि, पालिका उपाध्यक्षज्यू र अध्यक्षज्यूको निजी सचिव भूपेन्द्र केसी हामीलाई भेट्न आउनुभयो । हामी तल रेस्टुरेन्टमा आयौँ र उहाँहरूसँग समसामयिक कार्यक्रम, देशका समसामयिक घटना, राष्ट्रिय मुद्दाका कुरा, राजनीतिक पार्टीको स्खलन हुने कारण इत्यादि विषयमा कुरा भयो । चौलागाईं सरले भन्नुभयो, ‘८४ को मिसनमा तारा म्यामको अवश्य पालो आउँछ । हजुरजत्तिको मान्छे समुदाय, समाज बुझेको महिला, शिक्षित हजुर ८४ मा हुनैपर्छ है ।’ मैले भनेँ, ‘म कहिले जनप्रतिनिधि हुँदिनँ ।’ उपाध्यक्षलाई सोधेँ, ‘हजुरलाई जनप्रतिनिधिको नाममा तनाव, प्रेसरको पोका जिम्मा लगाएकोजस्तो भएको छैन ?’ उहाँ हाँस्नुभयो र मैले थपेँ, ‘त्यही भएर म कहिले जनप्रतिनिधि हुन्न भनेको, फेरि मलाई अहिलेको राजनीतिक माहोल, राजनीति शिक्षण, सिकाइप्रति मेरो चित्त बुझेको छैन । के छ नयाँ पिँढीलाई दिन योग्य ? उत्पादनमूलक काम के भएका छन्, र दिगो सोचको योजना के छ ? शब्द र व्यवहार एक दिशामा बग्नुपर्छ । के सम्भव होला ? त्यही भएर म जनप्रतिनिधि बन्ने सोचबाट टाढा छु ।’ उहाँहरूले मेरा कुरामा समर्थन जनाउनुभयो र भोलिपल्ट बिहानै दुप्चेश्वर महादेवको मन्दिर जाने कुरा उपाध्यक्ष भूपेन्द्रलाई जिम्मा दिनुभयो । बिहान ६ः३० बज्यो । पालिकाको गाडी होटेलबाहिर आइसकेको रहेछ । हाम्रो त्यहाँबाट लगभग ७ बजे प्रस्थान भयो । समुन्द्रटारबाट तीन किलोमिटरको दूरीमा अवस्थित दुप्चेश्वर महादेवको मन्दिर जाँदै गर्दा ‘इतिहास कसरी रहन गयो दुप्चेश्वर महादेव’ भन्ने प्रसङ्ग उठ्यो ।

यस विषयमा केसी सरले सुनाउनुभयो । ‘आजभन्दा चार सय वर्ष अर्थात् चार शताब्दीअघि बासे तामाङको कैली भन्ने गाई चरनबाटै हराउने गर्दथ्यो । बासे तामाङलगायत साथी सूर्यमती खोलामा पौडी खेल्ने गरेका रहेछन् । त्यही क्रममा मध्याह्नमा कैलीगाई जहिले हराउने ग¥यो । कैली गाईको बाछी भने गोठालोको नजिक आएर आमालाई खोजेझैँ ग्वाँ-ग्वाँ गर्दथ्यो । त्यसपछि कैलीगाई कहाँ जाने गरेको रहेछ भनेर पछ्याउँदै पहरामा पुगेर एक शिलालाई दुग्ध अभिषेक गर्दै गरेको भेटियो । त्यसपछि हेर्दाहेर्दै कैलीगाई एकैचोटी सूर्यमतीको बगरमा आइपुग्यो । त्यहीँबाट दुग्धेश्वर महादेवको रूपमा पूजा गर्न थालियो । दुग्धेश्वर महादेव नै अपभ्रंश भई दुप्चेश्वर महादेवको रूपमा कहलिन पुग्यो । तामाङ भाषामा ‘डुप्चे’ भनेको ‘चट्टान’ फुटेर पानीको मूल निस्किनु भनिन्छ र मन्दिरमुनि पानीको मूल पनि बगेको छ । यहाँ सन्तान प्राप्ति र पशु अथवा गाईवस्तुका लागि विशेष मानिने र अहिलेसम्म इच्छाएको पुगेको भनिन्छ । साथै, ‘दुप्चेश्वर महादेवको मन्दिर हुँदै घ्याङफेदी सूर्यकुण्डहुँदै गोसाइँकुण्ड जोडिने सबैभन्दा छोटो बाटो यही हो,’ उहाँले भन्नुभयो । हामी रामती बजार आइपुग्यौँ । चारैतिर दर्शनार्थीको भिड थियो । बस, सुमो र इलेट्रिक भ्यान पनि थियो । हामी सूर्यमती खोला तरेर पारि गयौँ । गाडीबाट ओर्लेर कति बेला पुगौँ जस्तै भएको थियो । त्यो पहरा देख्दा कति बेला पुगिन्छ जस्तै लाग्यो । तर, हिँडेपछि छिनमै आएको जस्तो लाग्यो । त्यहाँको व्यवस्थापन हेर्दा म खुसी भएँ । दर्शनार्थीलाई मध्यनजर गर्दै बनाएको धारा, शौचालय, रेलिङ र माथि छानो ओढाएको सिँढीहरू बर्खाको पानीमा पनि दर्शन गर्न सहज वातावरण पाएँ । केसी सरले सहजीकरण गर्दै हुनुहुन्थ्यो । म अनि ठाकुर सर थियौँ साथमा दर्शनार्थी लाममा हुनुहुन्थ्यो ।

 

बल्ल दुप्चेश्वर महादेवको दर्शन पाइयो । पहरामा एकै शिलामा अवस्थित शिवलिङ्ग रहेछ । गोमन नागजस्तै आकार रहेछ । मन्दिरमा ब्राह्मण पुजारी अनि साथमा बौद्ध धर्मावलम्बीको गुरु लामा पनि पाएँ । यो पनि नौलो थियो मेरा लागि । मलाई लाग्यो, ‘सबै धर्मावलम्बीका लागि खुला हुनु नै मन्दिर हो ।’ मेरो जीवनमा यो मेरो पहिलो उदाहरण थियो । एकछिन बसेर नियाल्न मन थियो । तर, ८ बजे समुन्द्रटारस्थित तालिम हल आइपुग्नु थियो । हामी यति माथि कति छिटो पुग्यौँ भन्दै नियालेँ । दर्शन गरेर फर्किने क्रममा ओहो माथि पो छ त, यो ऊर्जा र जोस कसरी आयो ? म फेरि धेरै समयदेखि आराममा थिएँ । तर, मलाई सहजै भयो । फर्किँदै गर्दा हेरेँ, सिसीक्यामेरा जडान गरिएको रहेछ । फ्ल्याक्स प्रिन्टमा बिक्री गरिने सामानको दर लेख्नैपर्ने रहेछ । मेला नजिकै थियो, तयारी जोरतोरले हुँदै रहेछ । मङ्सिरको शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला । त्यही मेलाको तयारी चल्दै थियो । दिनभरिको भेटी बेलुकी दुप्चेश्वर क्षेत्र विकास कोषको खातामा जम्मा गरिने रहेछ । धेरै व्यवस्थित पाएँ जसले स्थानीय सरकारको अनुभूति गरायो । त्यहाँबाट हामी आफ्नो-आफ्नो गाडीतिर लाग्यौँ । पाँच फिट अग्लो दुप्चेश्वर महादेवमा सुनौलो, सुन्दर र स्वर्णिम अक्षरमा लेखिएको थियो । हामी सेल्फी लिँदै झर्यौं। बाटामा केसी र चौलागाईं सरले जेरी खानुभयो र हामीलाई लिन गाडी पनि आयो । हामी समुन्द्रटारस्थित पालिकाको कार्यालय आइपुग्यौँ । पालिकाको गाडीमा काठमाडौँसम्मको यात्रा तय भयो । साथमा प्रशासकीय अधिकृत कृष्ण देवकोटा पनि हुनुहुन्थ्यो । उहाँसँग स्थानीय बाली, तरकारी, फलफूल, व्यवसायबारे छलफल गर्दै आइपुग्यौँ गन्तव्यमा । त्यहाँको सम्मान, सद्भाव र न्यानो मायाका लागि गाउँपालिका र अन्य सम्पूर्ण मान्यजनप्रति हार्दिक आभार ।

प्रतिक्रिया

लेखकको बारेमा

तारा सुनाखरी