हाम्रा संस्कृति, परम्परा र सामाजिक एकताका प्रतीक चाडपर्व समयसँगै नयाँ रङ र रूपमा बदलिँदै गएको आभास हुन थालेको छ । पहिलेको सादगीपूर्ण उत्सव आज आधुनिकताका प्रभावले फरक स्वरूपमा देखा पर्दै छन् । यद्यपि, यी परिवर्तनले हाम्रा चाडपर्वको रौनकलाई कति हदसम्म प्रभावित गरेको छ भन्ने प्रश्नले हामीलाई गहिरो चिन्तन गर्न बाध्य बनाउँछ ।
चाडपर्व केवल उत्सव मात्र होइनन्, ती सामाजिक सद्भाव, पारिवारिक एकता र धार्मिक आस्थाका आधार हुन् । दसैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार, होली, इद, क्रिसमसजस्ता चाडपर्वले हामीलाई आपसी भाइचारा र सहिष्णुताको सन्देश दिन्छन् । पहिले गाउँघरमा सामूहिक रूपमा मनाइने यी पर्वमा सादगी र आत्मीयता प्रमुख थियो । दसैँमा टीका लगाउने, पिङ खेल्ने, तिहारमा दियो बालेर लक्ष्मीपूजा गर्ने, होलीमा रङ खेलेर रमाइलो गर्ने चलनले समुदायलाई एकसूत्रमा बाँध्थ्यो । समयसँगै आएको परिवर्तन आधुनिकताको लहरले हाम्रो जीवनशैलीलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ । सहरीकरण, प्रविधिको विकास, विश्वव्यापीकरण र आर्थिक परिवर्तनले चाडपर्वको स्वरूपमा पनि प्रभाव पारेको छ । पहिले गाउँमा सामूहिक रूपमा बनाइने पिङ अब सहरमा व्यापारिक मेला र मनोरञ्जन पार्कमा सीमित भएको छ । दसैँमा घरघरमा बनाइने मिठाइ र परिकार अब बजारमा तयारी रूपमा उपलब्ध छन् । तिहारमा माटाको दियोको सट्टा बिजुलीबत्ती र कलर लाइटको प्रयोग बढ्दो छ । सामाजिक सञ्जाल र प्रविधिको प्रभावले चाडपर्वको उत्साहलाई विश्वव्यापी बनाएको छ । मानिसले आफ्ना उत्सवका तस्बिर र भिडियो फेसबुक, इन्स्टाग्राम र टिकटकमा सेयर गर्छन्, जसले चाडपर्वलाई नयाँ आयाम दिएको छ । तर, यसले परम्परागत आत्मीयता र सामूहिकतामा भने केही कमी आएको महसुस हुन्छ । पहिलेको जस्तो छिमेकी र आफन्तसँग बसेर लामो समय रमाइलो गर्ने चलन अब व्यस्त जीवनशैलीका कारण बिस्तारै कम हुँदै गएको छ । हाम्रा परम्परागत चाडपर्वमा बिस्तारै रौनकता हराउँदै जानुमा विशेषतः निम्न कारण प्रमुख देखिन्छ ।
क. बढ्दो वैदेशिक रोजगारीले पारेको प्रभाव : नेपालमा वैदेशिक रोजगारीले समाज, संस्कृति र जीवनशैलीमा गहिरो प्रभाव पारेको छ । लाखौँ नेपाली जीविकोपार्जनका लागि विदेशमा कार्यरत छन् र यसले हाम्रा चाडपर्वको रौनकमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । वैदेशिक रोजगारीले चाडपर्वको उत्साहलाई निम्न तरिकाले प्रभावित गरेको देखिन्छ ।
पारिवारिक एकतामा कमी : चाडपर्व परिवार र समुदायसँग जोडिएर मनाइने अवसर हुन् । तर, वैदेशिक रोजगारीका कारण धेरै परिवारका सदस्य विदेशमा हुन्छन्, जसले गर्दा दसैँ, तिहारजस्ता पर्वमा परिवारको जमघट कम हुन्छ । दसैँमा टीका लगाउने र आशीर्वाद लिने परम्परामा कमी आएको छ, किनभने धेरै युवा र अभिभावक विदेशमा हुन्छन् । यसले पारिवारिक आत्मीयता र रौनकमा कमी ल्याएको छ ।
सामुदायिक सहभागितामा ह्रास : पहिले गाउँघरमा चाडपर्व सामूहिक रूपमा मनाइन्थ्यो, जस्तै पिङ बनाउने, भजन-कीर्तन गर्ने र सामूहिक भोज आयोजना गर्ने । तर, वैदेशिक रोजगारीले गाउँका युवा जनशक्ति विदेश गएकाले यस्ता सामुदायिक गतिविधि कमजोर भएका छन् । गाउँहरू सुनसान हुँदा चाडपर्वको परम्परागत रौनक पनि हराउँदै गएको छ ।
सांस्कृतिक विचलन : विदेशमा लामो समय बिताउँदा नेपालीमा पश्चिमी संस्कृतिको प्रभाव पर्न थालेको छ । फलस्वरूप परम्परागत चाडपर्वप्रति नयाँ पुस्ताको रुचि कम हुँदै गएको छ । विदेशमा बसेर फर्कनेमा स्थानीय परम्परालाई भन्दा आधुनिक र बजारमुखी उत्सवलाई बढी प्राथमिकता दिने प्रवृत्ति देखिन्छ ।
ख. बढ्दो प्रविधिको उपयोगको प्रभाव : हाम्रा परम्परागत चाडपर्व नेपाली संस्कृति, सामाजिक एकता र धार्मिक आस्थाका आधारस्तम्भ हुन् । दसैँ, तिहार, होली, छठजस्ता पर्वले हामीलाई परिवार, समुदाय र परम्परासँग जोड्छन् । तर, आधुनिक युगमा प्रविधिको तीव्र विकासले यी चाडपर्वको रौनकमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । प्रविधिमा आएको आमूल परिवर्तनका कारण हाम्रा परम्परागत चाडपर्वको रौनक हराउनमा निम्नअनुसारको प्रभाव देखिन्छ ।
सामुदायिक सहभागितामा कमी : पहिले चाडपर्व सामूहिक रूपमा मनाइन्थे । जस्तै गाउँमा पिङ बनाउने, भजन-कीर्तन गर्ने वा सामूहिक भोजको आयोजना गर्ने । तर, स्मार्टफोन, सामाजिक सञ्जाल र इन्टरनेटको बढ्दो प्रयोगले मानिसको ध्यान व्यक्तिगत स्क्रिनतर्फ मोडिएको छ । तिहारमा दियो बाल्ने वा देउसीभैलो खेल्ने परम्पराको सट्टा मानिस सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गर्नमै व्यस्त हुन्छन्, जसले सामुदायिक रौनकमा कमी ल्याएको छ ।
परम्परागत आत्मीयताको ह्रास : प्रविधिले भौतिक उपस्थितिको महत्त्वलाई कम गरेको छ । पहिले दसैँमा आफन्तका घरमा गएर टीका लगाउने वा तिहारमा छिमेकमा देउसी खेल्ने चलन थियो । तर, अब भिडियो कल र म्यासेजमार्फत शुभकामना आदान-प्रदान गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो डिजिटल सम्पर्कले भावनात्मक आत्मीयता र रौनकलाई कमजोर बनाएको छ । प्रत्यक्ष भेटेर शुभकामना आदान-प्रदान गर्ने चलन प्रायः लोप नै भइसकेको छ ।
उपभोक्तावाद र बजारमुखी संस्कृति : प्रविधिका माध्यमबाट अनलाइन बजार र विज्ञापनले चाडपर्वलाई व्यापारीकरण गरेको छ । बिजुलीको झिलिमिली बत्ती र प्लास्टिकका सजावट सामग्रीको प्रयोग बढेको छ । यस्ता सामग्रीले परम्परागत सादगी र पर्यावरणमैत्री संस्कृतिलाई कमजोर बनाएको छ ।
सांस्कृतिक विचलन : सामाजिक सञ्जाल र इन्टरनेटले पश्चिमी संस्कृतिको प्रभावलाई बढावा दिएको छ । नयाँ पुस्तामा परम्परागत चाडपर्वभन्दा आयातीत उत्सवप्रति आकर्षित हुने प्रवृत्ति देखिन्छ । यसले हाम्रा चाडपर्वको मौलिक रौनकलाई कम गरेको छ ।
पहिलेको सादगीपूर्ण उत्सव अब आधुनिक सुविधा र प्रविधिसँग जोडिएको छ । दसैँमा टाढा रहेका आफन्तसँग भिडियो कलमार्फत टीका लगाउने चलन बढेको छ । तिहारमा रङ्गीन बत्ती र आतसबाजीले घरलाई झिलिमिली बनाउँछ । होलीमा रङसँगै साङ्गीतिक कार्यक्रमले नयाँ रौनक थप्छन् । तर, यी परिवर्तनसँगै केही चुनौती पनि छन् । बजारमुखी संस्कृति र उपभोक्तावादले चाडपर्वलाई महँगो बनाएको छ । पहिलेको सादगी अब देखावटी र खर्चिलो बन्दै गएको छ । साथै पर्यावरणीय प्रभाव पनि चिन्ताको विषय बनेको छ ।
हाम्रा चाडपर्वको रौनक जोगाउन केही कदम चाल्नु जरुरी छ । पहिलो, परम्परागत मूल्य र मान्यताको सम्मान गर्दै आधुनिकतासँग सन्तुलन कायम गर्नुपर्छ । दोस्रो, पर्यावरणमैत्री तरिकाले चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्छ, जस्तै माटाको दियो, प्राकृतिक रङ र कम प्रदूषण गर्ने सामग्रीको प्रयोग । तेस्रो, सामुदायिक सहभागिता र आत्मीयतालाई प्राथमिकता दिनुपर्छ । सामाजिक सञ्जालको प्रयोगलाई रचनात्मक बनाएर हाम्रा परम्परालाई विश्वसामु चिनाउन सकिन्छ ।
विदुर-१०, नुवाकोट
प्रतिक्रिया