धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड गाउँपालिका-२, टिमुरेमा शनिबार दिउँसो १ बजेर १५ मिनेटको समयमा रसुवागढी जलविद्युत् आयोजनाको स्काभेटर चालक काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृतक चालकका आफन्त र परिवारले क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने माग गर्दै आइतबार सडक बन्द गर्ने घोषणा गरेपनि सम्बन्धित निकायसँगको छलफलबाट बन्द फिर्ता लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार करेन्ट लागेर मृत्यु भएका कालिका-३ का ५० वर्षिय शिव पौडेलका आफन्त परिवार र स्थानीयले जिल्ला बन्द गरेका थिए । उक्त घटनालाई लिएर कालिका गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, सरकारी निकाय, रसुवागढी जलविद्युत् आयोजनाका प्रतिनिधि र मृतकका परिवार र आफन्तबिच भएको आइतबार छलफलपछि बन्द फिर्ता लिने सहमति भएको थियो । मृतकका परिवारलाई रू.२५ लाख र परिवारको एक जनालाई रोजगारी दिने सहमति भएको छलफलमा सहभागी एक जनप्रतिनिधिले जानकारी दिनुभयो ।






प्रतिक्रिया