धुन्चे । रसुवा अस्पतालमा गोसाइँकुण्ड-२, टिमुरेकी ३७ वर्षीया गर्भवतीको जटिल शल्यक्रिया सोमबार सम्पन्न भएको छ । महिला आइतबार दिउँसो पेट दुखेको र रक्तस्राव धेरै हुन थालेपछि जाँच गराउन अस्पतालमा आउनुभएको थियो । उहाँको पाठेघरभन्दा बाहिर भ्रुण रहेको र चार महिनाको भ्रुण फुटेको अवस्थामा रहेकाले शल्यक्रिया गर्न ढिला भएको भए महिलाको ज्यान जान सक्ने स्थिति रहेको अवस्थामा अस्पतालले सफलतापूर्वक शल्यक्रिया गरेर ज्यान बचाएको छ ।
अस्पतालले जोखिम मोलेर भए पनि शल्यक्रिया गरेको डाक्टर सुनीलकुमार दासले बताउनुभयो । यस्तो किसिमको बिरामीको शल्यक्रिया गर्नका लागि अस्पतालमा भेन्टिलेटर, प्रशस्त रगत तथा सम्बन्धित विज्ञ डाक्टर आवश्यक भए तापनि सोको बाबजुद सफल शल्यक्रिया जिल्लामा नै गर्न पाउँदा गौरवान्वित भएको उहाँले बताउनुभयो । शल्यक्रिया गर्नको लागि डाक्टर दासको नेतृत्वमा डा.उत्सव तिमिल्सिना, डाक्टर निरञ्जन अधिकारी, नर्सद्वय अनिता स्याङ्तान र कविता देवकोटाको टोली संलग्न रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो ।






प्रतिक्रिया